शान्ति वार्ता पुनः सुरु गर्न तयार रहेको रुसले बताएको केही घण्टापछि किएभमाथि हमला

तस्बिर स्रोत, Reuters
- Author, यारोस्लाभ लुकिभ
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिका संलग्न त्रिपक्षीय वार्ताको नयाँ चरणमा सहमति भएको भनिए पनि रुस र युक्रेनबीच सङ्घर्ष जारी छ।
रुसले युक्रेनको राजधानी किएभमा फेरि बलिस्टिक क्षेप्यास्त्रसहित बमबारी गरेको छ।
रुसले शान्ति वार्ता पुनः सुरु गर्न "सैद्धान्तिक रूपमा तयार" रहेको बताएको र अमेरिकी राष्ट्रपतिले युद्धरत पक्षहरू युद्ध अन्त्य गर्न "सबैभन्दा नजिक" पुगेको बताएको केही घण्टापछि युक्रेनको राजधानीमा अर्को क्षेप्यास्त्र आक्रमण भएको हो।
किएभका मेअरले हमलामा १५ जना घाइते भएको बताएका छन्। अधिकारीहरूका अनुसार घरहरू, एउटा ग्यास स्टेशन, एउटा चिकित्सा केन्द्र र यातायात पूर्वाधारमा क्षति पुगेको छ।
'हालसम्मकै नजिक'
अर्कोतर्फ मस्कोका मेअरले भने सो क्षेत्रलाई ६०० भन्दा बढी युक्रेनी ड्रोनहरूले निशाना बनाएको र कम्तीमा दुई जना घाइते भएको बताएका छन्।
यसको बावजुद अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धरत पक्षहरू युद्ध अन्त्य गर्ने सन्दर्भमा नजिक पुगेको हुन सक्ने सङ्केत गरेका छन्।
आलोचकहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युद्ध अन्त्य गर्न मस्कोको सट्टा किएभलाई दबाव दिएको ट्रम्पलाई आरोप लगाउने गरेका छन्।
किएभको तुलनामा मस्कोका लागि युद्ध अन्त्यका शर्तहरू बढी अनुकूल रहेको उनीहरूको तर्क छ।
ट्रम्पका दूतहरू स्टिभ विट्कफ र जारेड कुशनरको नेतृत्वमा नयाँ कूटनीतिक प्रयासहरू भइरहेका बेला पछिल्लो आक्रमण भएको छ।
युक्रेनी नेतासँग भेटवार्ता गरेको एक दिनपछि बुधवार विट्कफले सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए।
गत फेब्रुअरी महिनामा त्रिपक्षीय वार्ता रोकिएपछि युक्रेनमा क्षेप्यास्त्रहरू रोक्न पश्चिमा देशहरूले उपलब्ध गराएका इन्टरसेप्टरहरू सकिएपश्चात् रुसले आक्रमणहरू तीव्र बनाएको बताइन्छ।
"अर्को दिन म भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्नेबारे कुरा गरिरहेको थिएँ, मलाई लाग्छ हामी नजिक पुग्दै छौँ। शायद हामी अहिलेसम्मकै सबैभन्दा नजिक पुगेका छौँ," ट्रम्पले बुधवार भने।

तस्बिर स्रोत, Reuters
नर्वे र रुसमा वार्ता
अमेरिकी राष्ट्रपतिले रुस-युक्रेन युद्ध अन्त्य गर्न सक्षम हुने बारम्बार दाबी गर्दै आए पनि अहिलेसम्म त्यसो गर्न उनी सफल हुन सकेका छैनन्।
ट्रम्पका विशेषदूत विट्कफले नर्वेको राजधानी ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका साथै नर्वे र फिनल्यान्डका नेताहरूसँग भेटवार्ता गरेपछि सेन्ट पिटर्सबर्ग गएका थिए।
विट्कफले पुटिनसमक्ष के कस्ता विशेष प्रस्ताव पेस गरे भन्ने कुरा स्पष्ट भएको छैन। तर जेलेन्स्कीले वार्तापछि युक्रेनका लागि "बलियो" सुरक्षा ग्यारेन्टी र ऊर्जासम्बन्धी युद्धविराम प्रस्तावहरूमाथि छलफल भएको बताए। पुटिनका सहयोगी युरी उशाकोभले उनका विचारहरू धेरै "उपयोगी" नभएको बताए।
रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाका शीर्ष अधिकारीहरूले युद्ध अन्त्य गर्ने उद्देश्यका साथ विभिन्न चरणका वार्ताहरू गरिसकेका छन्।
मङ्गलवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुससँग युक्रेन एउटा सम्झौतामा पुग्नुपर्ने बताएका थिए। रुससँग सम्झौता नगरेमा किएभको अवस्था झन् खराब हुने उनको तर्क थियो।
सन् २०२२ देखि पूर्णस्तरमा अतिक्रमण थालेको रुसले हाल युक्रेनको करिब २० प्रतिशत भूभागमाथि नियन्त्रण गरिसकेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























