इजरेलले कसरी टुङ्ग्याउला निर्वाचनको गतिरोध, यस्ता छन् सम्भावित चार परिदृश्य

तस्बिर स्रोत, AFP via Getty Images
- Author, टम बेनेट
- Role, तेल अभिभ
- Published
- पढ्ने समय: ६ मिनेट
इजरेल यतिबेला राजनीतिक गतिरोधमा फसेको देखिएको छ।
मङ्गलवार सम्पन्न निर्वाचनको अन्तिम नतिजा आइसक्दा पनि वर्तमान प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको गठबन्धन र उनका प्रमुख प्रतिद्वन्द्वी गादी आइजनकोट नेतृत्वको समूहमध्ये कसैले पनि बहुमत हासिल गर्ने अवस्था देखिएन।
सरकार गठनका लागि प्रमुख राजनीतिक दलहरूमध्ये कुनै एकले निर्वाचन अभियानका क्रममा मतदातासमक्ष गरेका प्रतिबद्धताबाट पछि हट्नुपर्ने देखिन्छ।
यस्तो अवस्थामा राजनीतिक सहमति जुट्न नसके पुनः निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ।
इजरेलमा यतिबेला देखिएको राजनीतिक गतिरोध अन्त्य हुन सक्ने चार सम्भावित परिदृश्यबारे यहाँ चर्चा गरिएको छ।
नेतन्याहुको नेतृत्वमा राष्ट्रिय एकताको सरकार

तस्बिर स्रोत, EPA
के नेतन्याहुले गादी आइजनकोटलाई राष्ट्रिय एकताको सरकारमा सहभागी हुनका निम्ति मनाउन सक्लान्?
त्यसो गर्दा आइजनकोटले आफ्नो चुनावी अभियानको प्रमुख एजेन्डा नै त्याग्नुपर्ने हुन्छ।
उनले आफूलाई नेतन्याहुको एकमात्र विकल्पका रूपमा प्रस्तुत गर्दै उनलाई सत्ताबाट हटाउने नाराका साथ चुनावी अभियान चलाएका थिए।
निर्वाचनको अघिल्लो रात आफ्नो चुनावी मुख्यालयमा आयोजित कार्यक्रममा उनले नेतन्याहुलाई लक्षित गर्दै भनेका थिए: "आजै राजनीतिक जीवनबाट सन्यास लिने घोषणा गर्नुहोस्।"
उनले इजरेली जनता नेतन्याहुको 'झुटको संस्कृति', 'विभाजन र उत्तेजनाको राजनीतिबाट' दिक्क भइसकेको पनि बताएका थिए।
तर त्यो मुख्य 'एक्जिट पोल'मध्येको एउटामा हेरफेर देखिनुअघिको कुरा थियो।
सुरुमा उक्त 'पोल'ले आइजनकोटको गठबन्धन अगाडि रहेको देखाएको थियो तर पछि त्यसमा परिवर्तन देखियो र नेतन्याहु अघि आए।
यस्तो अवस्थामा नेतन्याहुले हालको गठबन्धनमा रहेका अति दक्षिणपन्थी तथा 'अल्ट्रा-अर्थोडक्स' दलहरूलाई बाहिर राखेर आइजनकोटको याशर पार्टीसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने प्रस्ताव गर्न सक्छन्।
तर निर्वाचनको अघिल्लो रात लिकुड पार्टीको मुख्यालयमा नेतन्याहुले आफ्ना 'वफादार साझेदारहरू'लाई धन्यवाद दिँदै 'बलियो दक्षिणपन्थी सरकार' गठनको आह्वान गरेका थिए।
उनको उक्त अभिव्यक्तिलाई कतिपयले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने सङ्केतका रूपमा अर्थ्याएका छन्।
राष्ट्रिय एकताको सरकार गठनको सम्भावनालाई प्रभावित पार्न सक्ने अर्को महत्त्वपूर्ण पक्ष इरानसँग पुनः चर्किन सक्ने द्वन्द्व हो।
यसले राजनीतिक मतभेदलाई थाती राख्दै राष्ट्रिय हितका विषयमा सहकार्य गर्न प्रमुख दलका नेताहरूमाथि दबाब बढाउन सक्छ।
निर्वाचनअघिका केही दिनमा इजरेली र अमेरिकी सञ्चारमाध्यमहरूले नेतन्याहुले इरानमाथि पुनः आक्रमण गर्न दबाब दिइरहेका र त्यसमा अमेरिकाको साथका लागि राष्ट्रपति डोनल्ड ट्रम्पलाई स्वीकृति दिन आग्रह समेत गरिएका विवरण प्रकाशित गरेका थिए।
यद्यपि नेतन्याहुका आलोचकहरूले अर्को सम्भावित क्षेत्रीय द्वन्द्वलाई उनको राजनीतिक अस्तित्व जोगाउने प्रयासका रूपमा अर्थ्याउन सक्छन्।
अरब पार्टीसहितको आइजनकोट नेतृत्वको गठबन्धन सरकार

तस्बिर स्रोत, Reuters
त्यसो भएमा यो इजरेली राजनीतिका निम्ति उथलपुथलपूर्ण परिवर्तन हुन सक्छ।
सन् २०२१ मा पहिलोपटक एउटा स्वतन्त्र अरब पार्टी औपचारिक रूपमा गठबन्धनमा सहभागी भएको थियो, भलै त्यो लामो समय टिक्न सकेन।
आइजनकोट र उनको गठबन्धनमा रहेका यहुदी पार्टीहरूमध्ये एउटाबाहेक सबैले अरब पार्टीहरूसँग मिलेर सरकार गठन गर्ने सम्भावनालाई अस्वीकार गरिसकेका छन्।
तर अहिले विपक्षी गठबन्धनका लागि संसदीय बहुमत हासिल गर्ने यो नै एकमात्र विकल्प देखिएको छ।
अनुमानभन्दा राम्रो मत पाएका अरब पार्टीहरूले कीर्तिमानी १९ सिटसम्म जित्न सक्ने ठानिएको छ।
इजरेलका अरब समुदायबाट भएको अभूतपूर्व मतदानले पनि उनीहरूको स्थितिमा बल पुर्याएको हो।
अरब समुदायले इजरेलको कुल जनसङ्ख्याको करिब पाँचौँ हिस्सा ओगटेको छ। उक्त समुदायका सदस्यहरूले आफूलाई प्रायः इजरेलका प्यालेस्टिनी नागरिकका रूपमा चिनाउँछन्।
वर्षौँदेखि उनीहरूमध्ये धेरैले इजरेली निर्वाचन बहिष्कार गर्दै आएका थिए।
मतदानमा सहभागी हुनु भनेको आफूहरूलाई दोस्रो दर्जाका नागरिकका रूपमा व्यवहार गर्ने व्यवस्थालाई वैधता दिनु हो भन्ने उनीहरूको तर्क थियो।
तर यसपटक उनीहरूको उल्लेख्य सहभागिताको मुख्य प्रेरणा इजरेली इतिहासकै सबैभन्दा दक्षिणपन्थी सरकारलाई सत्ताबाट हटाउने चाहना देखिएको छ।
हाल आठ सिट जित्ने अनुमान गरिएको युनाइटेड अरब लिस्टले विपक्षी गठबन्धनको सरकारमा सहभागी हुन तयार रहेको जनाएको छ।
त्यस्तै, ११ सिट जित्ने अनुमान गरिएको जोइन्ट लिस्टले भने सरकारमा प्रत्यक्ष सहभागी नभई बाहिरबाट समर्थन गर्ने सङ्केत दिएको छ।
यद्यपि, यस्तो सहकार्यको पक्षमा खुलेर बोल्ने यहुदी नेता अहिलेसम्म डेमोक्र्याट्स पार्टीका याइर गोलान मात्र हुन्।
गाजा र अधिनस्थ वेस्ट ब्याङ्कसम्बन्धी नीतिलगायतका मुद्दामा गम्भीर मतभेद रहेकाले यस्तो गठबन्धन निकै कमजोर र अस्थिर हुन सक्नेछ।
अरब पार्टीहरूको सहभागितामा सरकार गठन गर्ने प्रस्तावप्रति अधिकांश यहुदी पार्टीहरूको विरोधले इजरेली समाज र राजनीतिमा विद्यमान गहिरो विभाजनलाई समेत उजागर गरेको छ।
विपक्षका दक्षिणपन्थीसहित नेतन्याहुको नेतृत्वमा बहुमतको सरकार
के नेतन्याहूले आइजनकोटको गठबन्धनमा रहेका दक्षिणपन्थी पार्टीहरूलाई फुटाएर आफ्नो गठबन्धनमा सामेल गराउन सक्लान्?
यस सन्दर्भमा नाफ्ताली बेनेट र एभिग्दोर लिबरम्यानको नाम विशेष रूपमा चर्चामा छ।
बेनेट बेयाखाद राजनीतिक गठबन्धनका नेता हुन् भने लिबरम्यान यिसरेल बेतेनु पार्टीका नेता हुन्। दुवै दक्षिणपन्थी नेता हुन् र सुरक्षा मामिलामा कडा अडान राख्छन्।
साथै, केही राजनीतिक मुद्दामा उनीहरूका धारणा नेतन्याहुसँग पनि मिल्छ।
तर यी दुवैले नेतन्याहुलाई सत्ताबाट हटाउने र 'अल्ट्रा-अर्थोडक्स' यहुदी समुदायलाई समेत अनिवार्य सैन्य सेवामा सहभागी गराउने मुद्दालाई प्रमुख चुनावी एजेन्डा बनाएका थिए।
यसले उनीहरूलाई नेतन्याहुको गठबन्धनमा रहेका दुई 'अल्ट्रा-अर्थोडक्स' पार्टीसँग प्रत्यक्ष रूपमा विपरीत ध्रुवमा उभ्याउँछ।
साथै, यसले उनीहरूबीच गठबन्धन बन्न सक्ने सम्भावनाको कल्पना गर्न कठिन समेत बनाउँछ।
केहीले बेनेट र लिबरम्यानका पार्टीहरूले अल्ट्रा-अर्थोडक्स पार्टीहरूको स्थान लिन सक्ने सम्भावना औँल्याएका छन्।
तर, हालको चुनावी अङ्ककगणितअनुसार यी पार्टीहरूलाई समेटेर मात्र गठन गरिने गठबन्धनसँग संसद्मा बहुमत पुर्याउन आवश्यक सीट सङ्ख्या नपुग्न सक्छ।
फेरि चुनाव
यदि माथि उल्लिखित कुनै पनि विकल्पमा सहमति कायम हुन सकेन भने त्यसको स्वाभाविक निकास नयाँ निर्वाचन हुनेछ।
धेरैले यसलाई नेतन्याहुको अप्रत्यक्ष जितका रूपमा व्याख्या गर्न सक्नेछन्।
नयाँ निर्वाचन नहुँदासम्म उनी कामचलाउ प्रधानमन्त्रीका रूपमा पदमा कायम रहनेछन्। र अर्को चुनावमा आफूले जित्ने सम्भावना बढ्ने पनि ठान्न सक्नेछन्।
केही विश्लेषकहरूको बुझाइमा आगामी निर्वाचनमा अरब समुदायको उच्च मतदान सहभागिता यसपटककै स्तरमा नदोहोरिन सक्छ।
विशेषगरी संसद्मा उनीहरूको कीर्तिमानी प्रतिनिधित्वले पनि राजनीतिक परिवर्तन ल्याउन नसकेमा मतदातामा निराशा बढ्न सक्छ।
अर्कोतर्फ, दोस्रोपटक निर्वाचन भएमा थप दक्षिणपन्थी मतदाताहरू पनि मतदानका लागि सक्रिय हुन सक्छन्।
नेतन्याहुले विदेशबाट मतदान गर्न इजरेल फर्किएका अनुमानित ७० हजार मतदाता अर्को निर्वाचनमा त्यसरी नै फर्केर नआउने ठान्न सक्ने सम्भावना पनि रहन्छ।
उनीहरू अधिकांश नेतन्याहुविरोधी मतदाता भएको ठानिन्छ।
यसका अतिरिक्त निर्वाचनमा आवश्यक ३.२५ प्रतिशतको न्यूनतम थ्रेसहोल्ड पार गर्न नसकेका केही दक्षिणपन्थी पार्टीहरूले अर्को निर्वाचनमा अझ कम मत पाउन सक्छन् वा प्रतिस्पर्धाबाटै बाहिरिन सक्छन्।
यस्तो अवस्थामा ती पार्टीहरूलाई जाने मत लिकुड र उसका सहयोगी दलहरूको पक्षमा केन्द्रित हुन सक्छ।
सन् २०१९ देखि २०२२ को अवधिमा नेतन्याहु र उनका राजनीतिक प्रतिद्वन्द्वीहरूबीच सहमति जुट्न नसक्दा इजरेलले पटकपटक निर्वाचनको सामना गर्नुपरेको थियो।
उक्त अवधिमा पाँचपटक चुनाव भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















