कार-टी सेल थेरापीको सफल परीक्षणपछि थप के गरिँदै छ, बिरामीलाई कसरी सघाउ पुग्छ?

Published
पढ्ने समय: ४ मिनेट

नेपालमै उत्पादन गरिएको कार-टी सेल थेरापीमार्फत् एकजना ब्लड क्यान्सर(एक्यूट लिम्फोब्लास्टिक ल्युकेमिया)का बिरामीमा उपचार सफल भएपछि अब थप मानिसमा गर्ने तयारी भइरहेको यसमा संलग्न चिकित्सकहरूले बताएका छन्।

यो परीक्षण अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले स्वीकृत गरेको प्रक्रियामा आधारित भएर आफूहरूले गरेको उनीहरूले बताएका छन्।

"हामीले एकजना बिरामीमा यो प्रयोग गर्दा कुनै जटिलता देखिएन। उनमा जुन क्यान्सर फैलिएको थियो त्यो १४ दिनमा सबै निको भएको पाइयो। अब केही समय पर्खेर त्यसको फलोअप हेर्न बाँकी छ," यो परीक्षणमा सुरुदेखि नै संयोजकको भूमिका खेलेका कलेजोरोग विशेषज्ञ डाक्टर सुधांशु केसीले भने।

"अब हाम्रो योजना चाहिँ अरू दुई जनालाई सीएसआर अन्तर्गत १५ लाख रूपैयाँमा गर्ने योजना छ। यसको लागत डीडीए (औषधि व्यवस्था विभाग) ले ३० हजार डलरसम्म लिन पाउने भनेर तोकिदिएको छ। नेपालमा ४० देखि ५० लाख रूपैँयासम्म लाग्छ होला।"

नेपालमा उपचार गरिएका पहिलो व्यक्तिमा भने उपचार नि: शुल्क गरिएको उनले बताए।

ती व्यक्तिमा उपचारपछि शरीरमा पुन: फर्किन्छ कि फर्किँदैन वा कस्तो भएको छ भन्ने हेर्न कम्तीमा ६ महिनासम्म बेलाबेला 'फलोअप' गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

अहिलेको क्षमता अनुसार एक महिनामा दुईजनामा सम्म कार-टी सेल थेरापीबाट उपचार गर्न सकिने चिकित्सकहरू बताउँछन्।

तर मागहरू बढ्न थालेपछि क्षमता पनि बढाउन सकिने उनीहरूको भनाइ छ।

सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले देशमै कार-टी सेल विकसित गरी उत्पादन गरेको हो।

कार-टी सेल थेरापी उपचारमा प्रत्यक्ष संलग्न रहेका डाक्टर अन्जन श्रेष्ठले बिरामीको उपचारका लागि विभिन्न कुराहरू भर पर्ने बताए।

"हाम्रो चिकित्सकीय दृष्टिकोणबाट उपयुक्त बिरामीहरूको छनोट गर्न आवश्यक छ। तर यसको प्रयोग र उपलब्धता उत्पादन गर्ने प्रयोगशालाको क्षमता र सुविधाहरूमा पनि भर पर्छ," उनले भने।

उनले कार-टी सेल थेरापीको विकासका लागि आवश्यक उत्पादन प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए।

"हालसम्म विश्वका ७-८ वटा देशमा मात्रै कार-टी सेल उत्पादन तथा विकास गर्ने क्षमता छ र ती मध्ये हाम्रो देश पनि एउटा हो," उनले भने।

उक्त उत्पादन भएपछि निजी स्तरमा काठमाण्डू क्यान्सर सेन्टरले पनि छिट्टै अर्का बिरामीमा कार-टी सेल थेरापीमार्फत् उपचार गर्न लागिएको वरिष्ठ अन्कोलोजिस्ट अन्जनीकुमार झाले बताए।

के हो कार-टी सेल उपचार?

मानिसको रगतमा हुने ह्वाइट ब्लड सेल (डब्लूबीसी) मा टी सेल हुन्छ। चिकित्सकहरूले बिरामीको ल्युकाफेरेसिस भनिने प्रक्रियाबाट टी सेल निकालेर प्रयोगशालामा कार-टी सेललाई ठूलो सङ्ख्यामा हुर्क्याइने डाक्टर सुधांशु केसी बताउँछन्।

"त्यसमा भएको इम्पेरेटिभ्सहरू हटाइन्छ अनि फेरि त्यो सेल बिरामीको शरीरमा पठाउँछौँ। त्यो सेलमा भएको कारले क्यान्सर सेललाई मार्छ," यो परीक्षणका लागि संयोजकको भूमिका निभाएका डाक्टर केसीले भने।

"यो एकपटक गरिने उपचार हो। यसको प्रभावकारिता एकदमै राम्रो छ। यो अरू किमोथेरापीजस्ता अन्य उपचारले काम नगरेपछि गरिने उपचार हो। रक्त क्यान्सरको पनि एक प्रकारको क्यान्सरमा यो प्रयोग हुन्छ।"

हेमाटो अङ्कलोजिस्ट डाक्टर श्रेष्ठ कार-टी सेल उत्पादन र त्यसलाई बिरामीलाई दिने काम विभिन्न चरणमा हुने बताउँछन्।

"पहिलो चरणमा बिरामीको रगतबाट टी लिम्फोसाइट्स सङ्कलन गरी प्रयोगशाला पठाइन्छ। त्सलाई आनुवंशिक रूपमा परिमार्जन गरिन्छ र वृद्धि गरिन्छ र अस्पताल पठाइन्छ," उनले भने।

"अन्तिममा टी-लिम्फोसाइट्सलाई कार-टी सेल भनिन्छ। त्यसपछि त्यसलाई बिरामीको शरीरमा पठाइन्छ। त्यसले क्यान्सरका सेलहरू पहिचान गरी नष्ट गर्न मद्दत गर्छ।"

ब्लड क्यान्सरका लागि अन्य देशहरूमा पनि धेरैमा 'स्ट्यान्डर्ड उपचार' भए पनि अन्य किसिमका क्यान्सर उपचारमा भने यसको प्रयोग भइरहेको उनले बताए।

यो परीक्षणमा सहभागी हेमाटोलोजिस्ट डाक्टर अन्जन श्रेष्ठ यो उपचार स्वयं बिरामी र समग्र चिकित्सा क्षेत्रकै लागि ठूलो उपलब्धि भएको बताउँछन्।

"पहिला केमोथेरापी, इम्युनोथेरापी अभ्यासमा थियो। अब सेलुलर थेरापी भनेको यसले रगतको क्यान्सरको उपचारका लागि अझै राम्रो परिणाम दिन सक्छ। हाम्रो सन्दर्भमा यसलाई निको नभएका वा पुन: बल्झिएका बी-सेल एक्यूट लिम्फोब्लास्टिक ल्यूकेमिया र बी-सेल लिम्फोमाका बिरामीहरूमा प्रयोग गर्न सकिन्छ।

यसले गर्दा यी रोगको उपचारका लागि अब बिरामीहरुले अन्य देशहरूमा जानुपर्ने अवस्था नरहेको उनले बताए।

धेरैमा उपचार गर्न सकिने प्रक्रिया के हुन्छ?

कार-टी सेलको परीक्षणका लागि सन् २०२२ मा काम सुरु भएको चिकित्सकहरू बताउँछन्।

सम्भाव्यता बुझ्न एउटा सम्मेलन गरेपछि औषधि व्यवस्था विभागले परीक्षणका लागि अनुमति दिएको थियो। त्यसपछि 'फ्यासिलिटी' बनाएर विभागका पदाधिकारीले हेरेपछि हुन्छ भन्ने अनुमति पाइएको अधिकारीहरू बताउँछन्।

"त्यसपछि हामीले प्रयोगशाला बनायौँ। अनि सफल परीक्षण भएर जेआईसीटी भन्ने जर्नलमा पनि प्रकाशित गर्‍यौँ र सबै पेपरहरू डीडीएमा बुझाएपछि उहाँहरूले अहिलेका लागि प्रोभिजनल हो," डाक्टर केसीले भने।

"अब तपाईँहरूले परीक्षण गरिसकेपछि बिरामीको सबै विवरण दिएर त्यसबाट हामी कन्भिन्स भएपछि प्रोडक्टको अनुमति दिन्छौँ भन्नुभएको छ।"

नेपाल आफैँ 'सेल्फ सफिसिएन्ट' भएर अरूको सहयोग नचाहिने भएपछि र नेपालकै क्लिनिसियनले राम्ररी व्यवस्थापन गर्नसक्ने भएपछि विभिन्न ट्रायल (परीक्षण) का लागि निवेदन दिने र एनएचआरसीले स्वीकृति दिएपछि सुरु गर्न सकिने डाक्टर केसी बताउँछन्।

बिरामीको 'सेल' झिकेर त्यसलाई बढाउन (ग्रोथ) १० देखि १४ दिन लाग्ने र त्यसपछि बिरामीको शरीरमा हालेपछि करिब १४ दिन हेर्नुपर्ने भएका कारण उपचारका लागि करिब १ महिना लाग्ने उनी बताउँछन्।

असोज दोस्रो साता पहिलो सफल परीक्षण भएका बिरामी उपचारपछि डिस्चार्ज भएर गइसकेको उपचारमा संलग्न डाक्टर श्रेष्ठले बताए।

"हामीले परीक्षण गरेको बिरामीको परिणाम कस्तो आयो, अर्कोको कस्तो आउँछ भनेर हामीले डीडीएलाई बुझाउनुपर्छ," उनले भने।

काठमाण्डू क्यान्सर सेन्टरले आफूले अर्को बिरामीमा परीक्षण गर्न लागेको जनाएको छ।

उक्त अस्पतालका अध्यक्ष डाक्टर अन्जनीकुमार झाले यस्तो परीक्षण गर्न लागिएको विषयमा औषधि व्यवस्था विभाग डीडीएलाई जानकारी गराइसकेको बताए।

"अहिलेसम्म अनुसन्धानले केमोथेरापीले काम नगरेको निश्चित लिम्फोमा र ल्यूकेमियामा यसको उपचार देखाएको छ। माइलोमाको लागि अध्ययन सुरु भएको छ। "

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।