तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साउदी अरबमा भएको ड्रोन हमलामा एक नेपाली मारिएको सरकारद्वारा पुष्टि, आफ्ना कर्मचारीलाई देश छोड्न अमेरिकाको निर्देशन
साउदी अरबको ऊर्जा मन्त्रालयले देशको पूर्वी प्रान्तमा पर्ने शेबा तेल क्षेत्रलाई बुधवार निशाना बनाएको एउटा ड्रोनलाई निस्तेज पार्दा त्यसको टुक्राटाक्री खसेको र त्यसबाट दुई जना मारिएको तथा अरू दुई जना घाइते भएको जनाएको छ।
मन्त्रालयका अनुसार घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक रहेका छन्।
ज्यान गुमाउनेमा एक नेपाली र एक फिलिपिनी नागरिक रहेको मन्त्रालयले एउटा विज्ञप्तिमार्फत् जनाएको छ। मृतकहरूको परिचय खुलाइएको छैन।
नेपालको परराष्ट्र मन्त्रालयले पनि घटनामा नेपाली नागरिक मारिएको पुष्टि गरेको छ। तर नाम खुलाइएको छैन।
घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मन्त्रालयले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
नेपालले नागरिक र महत्त्वपूर्ण पूर्वाधार लक्षित सबै आक्रमणहरूको आफूले स्पष्ट रूपमा निन्दा गर्ने उल्लेख गर्दै संवाद, वार्ता र कूटनीतिक प्रयासहरूमार्फत् विवादहरूको शान्तिपूर्ण समाधान गरिनु पर्ने आफ्नो पूर्वधारणा निरन्तर रहेको स्मरण गराएको छ।
नेपालमा शुक्रवारसम्म दशैँको सार्वजनिक बिदा दिइएको छ।
यसअघि रियाद विमानस्थलमा हूथी विद्रोहीहरूको हमलापछि साउदी अरबमा कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बीबीसीलाई बताएका थिए।
विमानस्थलमा आक्रमण
अर्कोतर्फ पूर्वी शहर दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार साँझ आक्रमण भएको साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आक्रमणको प्रकृतिबारे उसले विस्तृत रूपमा खुलाएको छैन। तर आक्रमणमा परी एक विदेशी नागरिकको ज्यान गएको र अरू आठ जना घाइते भएको बताएको छ।
"दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई बुधवार साँझ एउटा आक्रमणको निशाना बनाइएको थियो। आक्रमणमा परी एक जनाको ज्यान गएको छ र आठ जना सामान्यदेखि गम्भीर घाइते भएका छन्," ड्रोनको स्रोतबारे उल्लेख नगरी प्राधिकरणले सामाजिक सञ्जाल एक्समा लेखेको छ।
साउदी अरब नेतृत्वको गठबन्धनले तेलले सम्पन्न सो क्षेत्रमा पछिल्ला केही घण्टाभित्र पाँच वटा ड्रोनलाई निस्तेज र ध्वस्त पारेको जनाएको छ।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले रियादस्थित आफ्नो राजदूतावासका अत्यावश्यक बाहेकका कर्मचारी र तिनका परिवारलाई साउदी अरब छोड्न निर्देशन दिएको कूटनीतिक स्रोतलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ।
स्रोतका अनुसार वाशिङ्टनले दूतावास कर्मचारीका परिवारलाई संयुक्त अरब एमिरेट्स, जोर्डन, कतार र बाहरेन छोड्न पनि निर्देशन दिएको छ।
तीन जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बुधवार समाचारसंस्था रोएटर्सले जनाएअनुसार अमेरिकी विदेश मन्त्रालयले खाडी क्षेत्रमा रहेका नियोगका केही कर्मचारी तथा तिनका परिवारलाई त्यहाँबाट फर्कन निर्देशन दिने तयारी गरिरहेको छ।
अमेरिकाको चेतावनी
रियादस्थित अमेरिकी राजदूतावासले साउदी केन्द्रहरूमा हूथीहरूद्वारा सम्भावित थप आक्रमणहरूको चेतावनी समेत दिएको छ।
साउदी अरबको समर्थन रहेको यमनको सरकारी सेना र हूथी विद्रोहीबीच पछिल्लो समय लडाइँ चर्किएको छ। हूथीहरूले देशका अधिकांश क्षेत्रमाथि कब्जा गरेका छन्।
यमनको गृहयुद्धमा साउदी अरबको सेनाले सरकारी सेनालाई सघाइरहेका कारण आफूहरूले साउदी अरबलाई निशाना बनाइरहेको हूथीहरूले बताएका छन्।
चर्कँदो लडाइँबीच हूथी विद्रोहीहरूले रेड सीका महत्त्वपूर्ण रणनीतिक क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको पृष्ठभूमिमा साउदी अरबमाथि पछिल्ला हमला भएको छ।
हूथी विद्रोहीलाई यमनमाथि नियन्त्रण कायम गर्नबाट रोक्ने तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनको सरकारलाई सघाउने उद्देश्यका साथ सन् २०१५ मा साउदी अरबको नेतृत्वमा एउटा सैनिक गठबन्धन बनाइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।