दिल्लीको वायुप्रदूषण चिन्ताजनक बन्दै, 'हरित पटका' पड्काउन समय निर्धारण

दिल्लीको वायुप्रदूषण
Published
पढ्ने समय: ५ मिनेट

भारतको राजधानी नयाँ दिल्लीमा जाडो यामसँगै वायुप्रदूषण उच्च तहमा पुगेको छ।

वायुको गुणस्तर निकै खराब स्तरमा पुगेसँगै राजधानी सहरका दशौँ लाख मानिसहरूमा स्वास्थ्य चिन्ताहरू सुरु भएका छन्।

हावामा रहने पीएम २.५ मापन गर्ने दिल्लीको वायुको गुणस्तर मापक सूचकाङ्कले ३०० बिन्दु पार गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायुप्रदूषणलाई 'पार्टिक्यलट म्याटर' (पीएम) मा नापिन्छ र २.५ माइक्रोमिटर आकारका वा (पीएम२.५) भन्दा कम व्यासका कणहरू मानव स्वास्थ्यका निम्ति निकै खतरायुक्त हुन्छन्।

सानो आकारको कणहरू फोक्सोमार्फत् सीधै हाम्रो रक्तप्रवाहमा मिसिन सक्छन् र मुटु, मस्तिष्क तथा अन्य अङ्गमा जम्मा हुन सक्छन्।

आपत्कालीन कार्यनीति

यस्तो प्रदूषित हावा वायुमण्डलमा लामो समय रहिरहँदा मानिसमा श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ र बालबालिका तथा वृद्धवृद्धा यसको सबैभन्दा जोखिममा हुन सक्छन्।

अधिकारीहरूले धुलो, सवारीबाट हुने उत्सर्जन र प्रदूषणका अन्य स्रोतहरू रोक्ने उपायहरू अपनाउनुपर्ने कार्यनीति लागु गरेर प्रदूषण कम गर्ने प्रयास गरेका छन्।

यो आपत्कालीन कार्यनीतिअनुसार प्रदूषण बढ्दै जाँदा अपनाउनुपर्ने नियन्त्रणका उपायहरू पनि कठोर हुँदै जान्छन्।

मुम्बईमा पनि हालै अति खराब स्तरमा वायुप्रदूषण पुगेको बताइएको छ
तस्बिरको क्याप्शन, मुम्बईमा पनि हालै अति खराब स्तरमा वायुप्रदूषण पुगेको बताइएको छ

पछिल्ला प्रतिबन्धहरूले नियमित सडक सरसफाइ गर्नुपर्ने, निजी सवारी साधनको प्रयोग निरुत्साहित गर्न पार्किङ शुल्क वृद्धि गर्ने लगायतका उपाय छन्।

दिल्ली मेट्रोले सातामा २० वटा सेवा थप गरेको छ। अधिकारीहरूले ट्राफिक कम गर्नका लागि सरकारी कार्यालय खुल्ने र बन्द हुने समय हेरफेर गर्न निर्देशन दिएका छन्।

आगामी दिनमा प्रदूषणका कारण हावाको गुणस्तर थप खराब हुने पूर्वानुमानका कारण यस्तो उपाय अपनाउनुपरेको अधिकारीहरूले बताएका छन्।

केही दिनमा सुरु हुने भारतको ठूलो चाडमध्येको दीपावली आसपास हरेक वर्ष दिल्ली र उत्तरी क्षेत्रको वायु हानिकारक हुने गरेको छ।

अझै खराब हुने चिन्ता

वायुप्रदूषणको तह देखाउने ग्राफिक्स

दीपावलीमा बालिने बत्ती र पड्काइने पटकाका कारण हावामा धुलो र ग्यास थपिँदा अहिलेबाटै खराब हावाको गुणस्तर दीपावलीपछि अझै खराब हुने गरेको छ।

दिल्लीमा हरेक वर्ष दोहोरिने वायुप्रदूषण निम्त्याउन सवारीसाधनले फाल्ने धुवाँ, उद्योगहरूबाट हुने उत्सर्जन, घट्दो तापक्रम, हावाको कमजोर गति र छिमेकी राज्यहरूमा जलाइने पराल लगायत बालीका अवशेष पनि कारक बन्ने गरेका छन्।

यद्यपि यो वर्षको अक्टोबर महिना दिल्लीको हावा आठ वर्षयताकै सबैभन्दा सफा थियो। तर अहिले अचानक वायुप्रदूषण बढ्नुमा विज्ञहरूले छिमेकी पञ्जाब र हरियाना राज्यमा बालीका अवशेष जलाउने क्रममा देखिएको वृद्धि र हावाको सुस्त वहन कारण रहेको बताएका छन्।

अर्णव समुद्री आँधीले अघिल्लो साता हावालाई सफा राख्न सहयोग पुर्‍याएको थियो। त्यसपछि मौसम स्थिर रह्यो अनि उत्तर पश्चिमी वायुले खेतहरूबाट निस्किएको धुवाँ दिल्लीमा जम्मा गर्‍यो।

प्रदूषणलाई एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्कमा मापन गरिन्छ। एक्यूआईको मान शून्य हुँदा वायुको स्वच्छ रहेको बुझ्नुपर्छ भने ५० भन्दा माथि हुँदा त्यो अस्वस्थ हुँदै गएको बुझ्नुपर्छ।

पटका पड्काउने समय

पटका पड्काउँदै बालक

भारतको प्रदूषण निगरानी गर्ने संस्थाले ३०१ देखि ४०० सम्मको प्रदूषणलाई निकै अस्वस्थकर र ४०० भन्दा धेरैलाई जनस्वास्थ्यमा तत्काल खतरा हुने तह मान्ने गरेको छ।

बुधवार बिहान दिल्लीको एक्यूआई ३७७ थियो।

यो सूचकाङ्कले आठ प्रमुख प्रदूषकहरू मापन गर्छ, जसमा पीएम २.५ पनि समावेश छ। यस्ता साना कणहरू मानिसका रौँभन्दा करिब ३० गुणा साना हुन्छन् र फोक्सोको गहिराइसम्म पुग्न सक्छन्।

केही दिनमा सुरु हुने दीपावलीमा पड्काइने पटकाका कारण दिल्लीको वायुप्रदूषण अझै बढ्ने ठानिएको छ।

अदालतले कम प्रदूषण गर्ने पटका प्रयोग गर्न आदेश दिए पनि गत वर्ष दीपावलीको भोलिपल्ट दिल्लीको वायु निकै विषाक्त बनेको थियो।

प्रशासनले कैयौँ वर्षदेखि पटकाको उत्पादन बिक्री र प्रयोगमा प्रतिबन्ध लगाए पनि यो व्यवहारमा लागु गर्न चुनौती हुने गरेको छ।

सोमवार भारतको सर्वोच्च अदालतले दिल्ली र छिमेकी क्षेत्रमा हरित पटकाको उत्पादन बिक्री र प्रयोग निश्चित समयका लागि खुला गरेको छ।

अदालतले दीपावलीको दुई दिन बिहान एक घण्टा र बेलुकी ८ देखि १० बजेसम्म मात्रै यस्तो पटका पड्काउन अनुमति दिएको छ।

मुम्बइमा पनि चिन्ता

वायुप्रदूषणको असर देखाउने ग्राफिक्स

अदालतले अस्पताल, स्याहार केन्द्र, विद्यालय र अन्य तोकिएका शान्त रहनुपर्ने क्षेत्रको ३०० मिटरभित्र पटका पड्काउन पनि प्रतिबन्ध लगाएको छ।

हरित पटाकामा परम्परागत आतसबाजीको तुलनामा कम प्रदूषण हुने गरी परिमार्जित रासायनिक मिश्रण प्रयोग गरिन्छ। तर यसको निगरानी सहज छैन।

आफ्नो आदेशमा सर्वोच्च अदालतले पूर्ण प्रतिबन्ध लागू भएका बेला समेत परम्परागत पटका बिक्री भइरहेका स्वीकार गरेको छ। अदालतले बिक्रीका लागि तोकिएका क्षेत्रमा प्रहरी गस्ती गर्न, हरित पटका रहे नरेको जाँच गर्न र अवैध पटाका जफत गर्न निर्देशन दिएको छ।

वायुप्रदूषण चिन्ताजनक हुने अवस्थामा दिल्लीका अधिकारीहरूले हाइब्रिड शिक्षण, घरबाटै काम गर्ने व्यवस्था र निश्चित सवारीसाधनमाथि प्रतिबन्ध लगाउने जस्ता उपाय पनि लागू गरेका छन्।

यो समस्या राजधानीमा मात्रै सीमित छैन। भारतको वित्तीय केन्द्र मुम्बईमा पनि पछिल्लो एक महिनादेखि प्रदूषणको स्तर उच्च रहेको छ। समुद्री हावाको लाभ हुँदाहुँदै पनि त्यहाँ प्रदूषण कम भएको छैन।

अक्टोबर २४ मा मुम्बईको एक्यूआई ३२२ पुगेको थियो। हावाको धीमा गति, निर्माणस्थलको धुलो, फोहोर जलाउने गतिविधि, पटाकाबाट निस्कने उत्सर्जन अनि वरपरका क्षेत्रबाट आएका प्रदूषक तत्त्व यसको कारण मानिएका थिए।

पछिल्ला दिनहरूमा भने मुम्बइको वायु गुणस्तरमा सुधार आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।