तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
समुद्री आँधी अर्णवको प्रभाव नेपालभरि, कहाँ कहिलेसम्म कस्तो जोखिम
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्णव'को प्रभावस्वरूप नेपालका सबै ठाउँमा परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिहीवार बिहानैदेखि सबैतिर 'क्लाउड कभर' फैलिएको अर्थात् बादलले ढाकेको देखिएको छ भने कतैकतै वर्षा पनि भयो। शुक्रवार र शनिवार अलि बढी नै वर्षा तथा हिमपात हुने ठानिएको विभागले जनाएको हो।
"बिहीवार बेलुकाबाट नै हिमाली भूभागहरूमा हिमपातको सम्भावना रहन्छ र शनिवारसम्म नै देखिन्छ," जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।
"त्यस्तै बिहीवार बेलुकादेखि शनिवारसम्म नै देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। थोरै स्थानमा चाहिँ 'भारी वर्षा'को पनि सम्भावना देखिएको छ।"
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अबको तीन दिन हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ।
अर्णवका कारण भारतमा पनि जनधनको क्षति भएको छ। तर उक्त समुद्री आँधी नेपाल आइपुग्दा कमजोर हुँदै जाने देखिएको मौसमविद्हरू बताउँछन्।
यद्यपि नेपालमा तीव्र वेगमा हावाहुरी आउने भन्दै सतर्कता अपनाउन सर्वसाधारण मानिसहरूलाई आह्वान गरिएको छ।
अधिकारीहरूले विशेष गरी नेपालका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न अनुरोध गरेका छन्। वर्षाका कारण बाली बिग्रिन सक्ने भन्दै विज्ञहरूले अब तीन दिन धान नकाट्न सुझाव पनि दिएका छन्।
अब मौसम कस्तो होला
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीवार देशैभरि बदली हुने सम्भावना छ।
"अर्णवको 'क्लाउड कभर' लगभग देशैभरि देखिएको छ। त्यो पनि 'हाइ क्लाउड' हो। अब बिस्तारै अझै बढी प्रभाव देखिँदै जान्छ। बिहीवार बेलुकाको लागि उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यमसम्मको हिमपातको सम्भावना छ। बेलुकाको लागि मध्यमसम्मको वर्षा हुने सम्भावना छ," जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।
"त्यस्तै भोलि र पर्सिलाई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागमा उच्च सतर्कता नै चाहिन्छ। भारी हिमपातको सम्भावना रहन्छ। हिमपहिरो, हिमआँधी आउने सम्भावना रहन्छ।"
पहाड र तराईमा भने वर्षा हुने सम्भावनाका कारण पाकेको धानलाई असर गर्न सक्ने विभागले जनाएको छ।
यी भागमा मध्यमदेखि भारी वर्षा हुने नदेखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको विभागले जनाएको हो।
यसअघि यो साताको सुरुमै अर्णव चक्रवातले वर्षा गराउने पूर्वानुमान गरिएसँगै उच्च सतर्कता अपनाउन भनिएको थियो।
"उच्च हिमाली भेगमा भारी हिमपात पर्ने भएका कारण सबै सुरक्षित रहनुपर्यो। माथितिर शनिवारसम्म जानु भएन। सतर्कता सबै ठाउँमा नै अपनाउनुपर्छ," प्रवक्ता पोखरेलले भनिन्।
शनिवार बेलुकाबाट यो प्रणाली बाहिरिने देखिएको अधिकारीहरूले बताएका छन्।
यही बेला पश्चिमी वायुको पनि केही प्रभाव पर्ने तर खास ठूलो असर नपर्ने उनीहरूले बताएका हुन्।
अहिलेसम्म हेर्दा सुदूरपश्चिम प्रदेशमा असिनापानी र लुम्बिनीमा हावाहुरी देखिए पनि त्यति ठूलो स्तरमा भने नभएको विभागले जनाएको हो।
त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विभागका प्राध्यापक दीपक अर्याल शुक्रवार पानी धेरै पर्ने र हुरीबतास आउने बताउँछन्।
उनका अनुसार ४,००० मिटरभन्दा माथिको उचाइमा हिमपात हुने र उच्च हिमाली क्षेत्रमा एकदेखि डेढ फीटसम्म हिउँ पर्न सक्छ।
खास गरी वाग्मती, कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा अलि बढी सतर्कता अपनाउनुपर्ने उनले बताए।
"अहिले हुने हिमपात उच्च हिमाली क्षेत्रमा बसोबास गर्नेका लागि एकदमै खराब हो। धेरै हिउँ परेपछि पग्लिन समय लाग्छ र त्यसले अहिलेको पर्यटन सिजनलाई पनि असर गर्छ," प्राध्यापक अर्यालले भने।
"धान काट्ने मध्य बेला भएकाले असिनापानी वा हावाहुरी लाग्दा त्यसले तल्लो भेगमा पनि असर गर्छ।"
माइकिङ
प्रधानमन्त्रीको सचिवालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै सम्भावित मौसमी जोखिमबाट सर्वसाधारण मानिसलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले ठाउँठाउँमा माइकिङमार्फत् सचेतना फैलाइरहेको जनाएको छ।
"हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ," उक्त विज्ञप्तिमा उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।