शव व्यवस्थापन कसरी गर्ने भनेर छलफल हुँदै
भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण मृत्यु हुनेहरूको शव फेला पर्ने क्रम जारी रहेका बेला तिनको व्यवस्थापन कसरी गर्ने भनेर सम्बन्धित जिल्लासँग समन्वय भइरहेको गृह मन्त्रालयले जनाएको छ।
रसुवादेखि नवलपरासी पश्चिम शव भेटिइरहँदा ती शव व्यवस्थापन सम्बन्धित जिल्लामै गर्ने वा केन्द्रमा कसरी ल्याउने भन्ने विषयमा छलफल भइरहेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य सुवेदीले बताएकी हुन्।
“जहाँजहाँ शवहरू भेटिएको छ र व्यवस्थापन गर्नुपर्ने छ त्यहाँ कसरी व्यवस्थापन गर्ने भनेर समन्वय भइरहेको छ,” सहप्रवक्ता सुवेदीले भनिन्।
चितवनमा मात्रै अहिलेसम्म १७८ वटा शव फेलापरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
चितवनमा फेला परेका शवमध्ये ७४ पुरुष, ४१ महिला, ६ बालक, २ बालिकाको भएको छुट्टिएको छ।