ट्रम्प दुई कोरियाबीचको सीमाक्षेत्र जाँदै, किमलाई भेट्ने योजना

डोनल्ड ट्रम्प र मुन जे-इन
Published

डोनल्ड ट्रम्पले दुई कोरियाबीचको सीमा क्षेत्रमा उत्तर कोरियाली नेता किम जङ-अनसँग भेट हुन लागेको जानकारी दिएका छ।

दक्षिण कोरियाली राजधानीमा आयोजित एक भोजका बखत उनले सिमानाको असैनिकीकृत क्षेत्रमा आफूले भेटघाटको कार्यक्रम आयोजना गर्ने प्रयास गरिरहेको बताएका थिए।

उनले त्यो भेटमा "हेलो भन्ने" अर्थात् एक-आपसमा छोटो कुरा गर्ने योजना भएपनि त्यो "त्यति सहज" नभएको बताएका थिए।

तर उनले पछि किमसँग भेट हुन लागेको पुष्टि गरेका छन्।

उत्तर कोरियाले चाहिँ ट्रम्पको प्रस्ताव "चाखलाग्दो" भनेपनि किम सीमा क्षेत्रमा आउने नआउने पुष्टि गरिसकेको छैन। ट्रम्प उत्तर कोरियाको निरस्त्रीकरणका विषयमा छलफल गर्न दक्षिण कोरियाको भ्रमणमा छन्।

जी-२० समूहको शिखर सम्मेलनमा भाग लिन ओसाका पुगेका ट्रम्पले एक ट्वीट सन्देश मार्फत किमलाई दुई कोरियाबीचको असैनिकीकृत क्षेत्रमा भेट्न आउन निम्तो दिएका थिए।

त्यो सन्देशले एक प्रकारको तरङग ल्याइदिएको थियो।

ट्रम्पको अनौठो शैली

यो बेला ट्रम्प र किमबीच भेट भए त्यो साङ्केतिक हुने छ र त्यसले ट्रम्पको अनौठो शैलीको कूटनीतिलाई फेरि सबै सामु ल्याउनेछ।

यसअघि सिङ्गापुर र भियतनाममा भएका ट्रम्प किम वार्ता उत्तर कोरियाको परमाणु महत्त्वाकांक्षालाई शान्त पार्न विफल रहेका छन्।

यस्तो बेला दुई पक्षबीच तेस्रो बैठक भएमा त्यसले तरङ्गहरू ल्याइदिने छ तर त्यसले परमाणु अस्त्र निरस्त्रीकरण वार्ताको प्रगतिमा धेरै प्रभाव भने पार्ने छैन।

ओसाकाबाट दुई दिने भ्रमणको लागि सोल पुगेका ट्रम्प केही बेरमै दुई कोरियाबीचको सीमा क्षेत्रको भ्रमणमा जान लागेका छन्।

अस्पष्ट

दुई कोरियाबीचको सीमा क्षेत्र

सोलमा एक पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले उत्तर र दक्षिण कोरियाको सिमानामा अवस्थित असैनिकीकृत क्षेत्र जाने आफ्नो योजना सुनाएका हुन्।

ट्रम्पको भनाइमा उत्तर कोरियालीहरू पनि उनलाई भेट्न लालायित छन् तर त्यसको लागि आवश्यक व्यवस्थापन उनकै शब्दमा "त्यति सहज छैन"।

उत्तर कोरियाली नेता किमले ट्रम्पले अचानक गरेको सीमा क्षेत्रमा भेट्ने प्रस्तावलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने अझै प्रष्ट भइसकेको छैन।

उत्तर कोरियाले त्यस्तो भेटघाट एक अर्थपूर्ण क्षण हुने बताएको छ। तर उसले त्यस्तो भेटका लागि उत्तर कोरियाली नेता किम दुई कोरियाबीचको सीमा क्षेत्रमा आउने नआउने प्रष्ट पारेको छैन।

अमेरिका-उत्तर कोरिया सम्बन्ध कस्तो छ?

ट्रम्प र किम बीच फेब्रुअरी महिनामा भियतनामको हानोईमा भेट भएपछि दुईपक्षीय सम्बन्ध केही चिसिएको छ।

सिङ्गापुरमा सन् २०१८ को जुनमा भएको भेटपछि उनीहरुबीच दोस्रो पटक भेट भएको थियो। तर परमाणुनिरस्त्रीकरणका विषयमा समझदारी जुट्न मुस्किल भएपछि "खराब सहमति" बाट आफू पछि हटेको ट्रम्पले बताएका थिए।

फलस्वरूप दुई पक्षबीच कुनै सहमति हुन सकेन।

उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्धहरू हटाउनका लागि उत्तर कोरियाले आफ्नो परमाणुअस्त्र भण्डार नष्ट गर्नु पर्ने अडान ट्रम्पले बारम्बार राख्दै आएका छन्।

हानोईको शिखरवार्ता विफल भएपछि उत्तर कोरियाले कैयौँ छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गर्दै ट्रम्प प्रशासनलाई चिढ्याउँदै आएको छ।

तर कुनै बेला उत्तर कोरियालाई बम आक्रमण गरी ध्वस्त तुल्याइदिने चेतावनी दिएका ट्रम्पले केही समययता किमको बारेमा राम्रा कुरा गर्दै मेलमिलापको सम्भावना भएको सङ्केत दिँदै आएका छन्।

गत महिना उनले किमलाई एक पत्र पठाएका थिए। त्यो पत्रको किमले प्रशंसा गर्दै त्यसको बेहोरा उत्कृष्ट भएको प्रतिक्रिया दिएका थिए।

के साँच्चै ट्रम्पले किमलाई भेट्लान्?

ट्रम्पको ट्वीट अचानक आएको हुनाले उनी र किमबीच असैनिकीकृत क्षेत्रमा भेट हुने सम्भावना निकै पातलो देखिन्छ।

किमसँग यसअघि भएका ट्रम्पका भेटका योजना निकै पहिलेदेखि नै बनाइएका हुन्थे।

तर गत महिना एक दक्षिण कोरियाली अधिकारीले ट्रम्पले दुई कोरियाबीचको सीमा क्षेत्रको भ्रमणमा जाने सम्भावना रहेको खुलासा गरेका थिए। त्यतिबेलादेखि नै ट्रम्प र किमबीच भेट हुन सक्ने अनुमान हुन थालेको थियो।

तर अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले दुई नेताबीच ठ्याक्कै कहाँ भेट होला भन्ने विषयमा धेरै खुलाउन चाहिरहेका छैनन्।

तर ट्रम्पले भने किमसँग अचानक भेट हुनसक्ने सङ्केत गरेका छन्।

त्यसो नभए पनि दुई नेताबीच टेलिफोन वार्ता वा अर्को चरणको पत्र आदानप्रदान हुन सक्ने सम्भावना रहेको म्यासच्युसट्स् इन्स्टिच्युट अफ टेक्नोलजीका सुरक्षा अध्ययन विषयका प्राध्यापक विपीन नाराङ बताउँछन्।

उनी भन्छन्, " ट्रम्प र किमबीच अर्को भेट भइहाल्छ भन्ने मलाई लाग्दैन। विना कुनै तयारी त्यसो गर्नु जोखिमपूर्ण हुन सक्छ। अर्को विफल वार्ताको लागि दुवै पक्ष तयार छैनन्।"

अमेरिका-कोरिया युद्ध अभ्यास कस्ता छन्?

दक्षिण कोरियामा अमेरिकाका ३० हजार सैनिकहरू तैनाथ छन्।

ट्रम्पले पटकपटक आफू त्यो सङ्ख्यालाई घटाउने पक्षमा रहेको बताइसकेका छन्।

दक्षिण कोरिया र अमेरिकी सैनिक मिलेर वर्षैपिच्छे युद्धको अभ्यास गर्दै आएका छन्। त्यसले उत्तर कोरियालाई निकै क्रुद्ध बनाउने गरेको छ।

तर गत वर्ष सम्बन्ध सुधार भएपछि त्यस्तो युद्ध अभ्यासको क्रममा कमी आएको छ।

अरू देश के चाहन्छन्?

यो साता जी-२० समूहको शिखर बैठकको सेरोफेरोमा पनि उत्तर कोरियाको विषयले निकै प्राथमिकता पाएको छ।

उत्तर कोरियासँग सरोकार राख्ने सबै देशहरू कोरियाली प्राय:द्वीपमा परमाणुअस्त्रको जोखिम कम भएको अवस्था नै उत्तम हुने कुरामा सहमत देखिन्छन्।

तर त्यो जोखिमलाई कसरी कम गर्ने भन्ने विषयमा ती देशहरूका आआफ्नै मत छन्।