यात्रुबसमा जीपीएस प्रणालीको सुविधा र सूचना बोर्डले 'यात्रा सहज'

यात्रुबस
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी नेपाली सेवा
  • Published

यात्रु ओसारपसार गर्ने सार्वजनिक सवारीसाधनमा विकृति भएको र गु‍णस्तरीय सेवा नपाइएको गुनासो सर्वसाधारणले गर्ने गरेका छन्।

तर देशको सङ्घीय राजधानी तथा एक नम्बर प्रदेशका धेरै यात्रुबसले हिजोआझ नयाँ किसिमका सेवा दिन थालेको भनेर प्रशंसा हुन थालेको छ।

नयाँ यात्रुबसमा जडान गरिएका नयाँ प्रविधिले यात्रा सहज भएको धेरै सर्वसाधारणको भनाइ छ।

त्यस्तो सुविधा दिने बसहरू लामो तथा छोटो दुरीमा चलिरहेका छन्।

श्रव्यदृश्य बोर्ड

केही दिनअघि झापाको काँकरभिट्टाबाट विराटनगरका लागि हिँडेको एउटा यात्रुबसले झापाको सुरुङ्गा पुगेपछि त्यहाँ ओर्लिने यात्रुलाई सजग गरायो।

प्रायः यात्रुले देख्ने ठाउँमा राखिएको उक्त बोर्डमा झापा सुरुङ्गा भनेर लेखिएको देखिन्थ्यो भने आवाज आउँदै थियो, "सुरुङ्गामा तपाईंलाई स्वागत छ….।"

त्यसपछि अर्को रोक्ने स्थान माईधार आइपुग्दा पनि बोर्डले सङ्केत दियो।

सार्वजनिक महत्त्वका सूचना पनि उक्त बोर्डमार्फत् बजाउने गरिन्छ।

झापाको बिर्तामोडबाट मोरङको उर्लाबारीसम्म यात्रामा रहेकी यात्रु लक्ष्मी रिजालले उक्त बोर्डमार्फत् गरिने सूचनाले यात्रुलाई स्थानबारे सजग गराउने बताइन्।

उनले भनिन्, "यो त राम्रो हो। धरान तथा विराटनगर जाने यात्रुका लागि पनि कुन ठाउँ आइपुगियो भन्ने जानकारी हुन्छ।"

यात्रुबस

बोर्डले यात्रुको ध्यान तान्यो

बसहरूमा दिइएका अन्य सुविधाभन्दा त्यही श्रव्यदृश्य सूचना दिने बोर्डले प्रायः यात्रुको ध्यान तान्ने गरेको छ।

सोमवार मोरङको उर्लाबारीबाट झापाको काँकरभिट्टासम्म त्यस्तै सुविधा भएको बसमा यात्रा गरिरहेकी गीता प्याकुरेलले भनिन्, "आजको यात्रामा सूचनाको बोर्ड सुन्दै आएँ, आनन्द आयो।"

विशेषगरी नयाँ स्थानमा यात्रा गरिरहेका मानिसका लागि यो सेवा अत्यन्तै फाइदाजनक ठान्छिन् काँकरभिट्टाकी मेनुका कार्की।

उनले भनिन्, "अग्रिम सूचना पाएपछि यात्रुलाई ओर्लिन सजिलो हुन्छ।"

जीपीएसबाट सञ्चालित

नयाँ बसहरूमा सूचनाप्रविधिको सुविधा 'ग्लोबल पोजिशनिङ सिस्टम' जीपीएसका उपकरण जडान गरिएको छ।

अहिलेसम्म काठमाण्डूका कम्तीमा आठ सय र प्रदेश नं १ का झन्डै तीन सय बसमा यो प्रणाली हालिएको विज्ञहरूले बताएका छन्।

उक्त प्रणालीका उत्पादक लक्ष्मण रिमालका अनुसार उनको कम्पनीले मात्र काठमाण्डू उपत्यकामा झन्डै छ सय बसमा जीपीएसयुक्त उपकरण जडान गरिसकेको छ।

उनले भने, "कुन बस कतिबेला आउँदैछ भन्ने यात्रुले आफ्नो मोबाइल फोनमा भएको एप्लिकेशनबाट थाहा पाउँछन्। बसमा चढिसकेपछि कुन ठाउँमा ओर्लिने भन्ने कुरा थाह पाएपछि यात्रुलाई अझ सहज भइहाल्यो।"

कतिपय कम्पनीहरूले उक्त प्रणाली जडान गरेबापत यात्रुबस कम्पनीहरूलाई लागत खर्च तिर्न लगाउँदैनन्। त्यसको साटो उनीहरूले बसमा विज्ञापनका बोर्डहरू राख्ने गरेका छन्।

यात्रुबस

सीसीटीभी र भाडादर बोर्ड

सार्वजनिक सवारीसाधनमा चोरीका घटना बढ्दै जाँदा अहिले नयाँ बसमा सीसीटीभी क्यामरा जडान गर्न थालिएको छ।

यसबाट पाकेट मार्ने धेरैलाई पक्रेर कारबाही गरिएको ट्राफिक प्रहरीका अधिकारीहरू बताउँछन्।

सीसीटीभी दृश्यका आधारमा पाकेटमाराहरू कारबाहीमा पर्ने गरेका उनीहरू बताउँछन्।

यात्रु र गाडीका कर्मचारीबीच भाडाका विषयमा बारम्बार हुने गरेको किचलो पनि भाडादर सबै यात्रु देख्नेगरी राखिदिएका कारण कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले बताए।

उनले भने, "यातायातका संस्थाहरू कम्पनीमा जान थालेपछि नयाँ गाडी किन्ने, ती गाडीमा नयाँ प्रविधि जडान गर्ने प्रतिस्पर्धा नै चलेको छ।"

तर बाटो साँघुरो भएकाले अत्यधिक गतिमा गुड्ने त्यस्ता सवारी साधनहरूको गति नियन्त्रण गरिनुपर्नेमा धेरै मानिसले जोड दिने गरेका छन्।