अर्णवपछि मुरासु चक्रवातको चर्चा, मौसम अधिकारीहरू भन्छन्: 'नेपालमा असर गर्दैन'

तस्बिर स्रोत, Getty Images
अर्णवपछि बङ्गालको खाडीमा विकसित भइरहेको मुरासु नाम दिइएको चक्रवातले नेपालमा पनि आशङ्का उत्पन्न गरेको देखिन्छ तर मौसमविद्हरूले ढुक्क रहन आग्रह गरेका छन्।
चक्रवात अर्णवको प्रभाव सकिँदा नसकिँदा नेपालमा अर्को चक्रवात मुरासुको चर्चाले आशङ्का निम्त्याएपछि उनीहरूले आश्वस्त पारेका हुन्।
उक्त चक्रवात पनि अर्णवजस्तै बङ्गालको खाडीमा विकास भएको छ।
भारतको मौसम विज्ञान विभागले त्यसलाई लिएर चेतावनीयुक्त सतर्कता जारी गरेको छ।
त्यसैले अर्णवका कारण नेपालमा परेको असर अन्त्य हुँदा नहुँदै फेरि मौसम प्रतिकूल हुने चिन्ता बढेको देखिन्छ।
"धेरै चासो र सोधपुछ भएपछि नै हामीले पनि मुरासु चक्रवातबारे अद्यावधिक दिएका हौँ," नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।
"मानिसहरू नआत्तिउन् भनेर राखेका हौँ, त्यसले नेपालमा केही असर गर्दैन।"
'ढुक्कले धान काट्दा हुन्छ'

तस्बिर स्रोत, RSS
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार बङ्गालको खाडीको नयाँ प्रणाली नेपाल आउने सम्भावना न्यून छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, "किसानले स्थानीय मौसम हेरेर धान काट्न सक्नुहुन्छ।"
जल तथा मौसम विज्ञान विभागले पनि मुरासु विशेष मौसम बुलेटिन जारी गरेको छ। त्यसमा लेखिएको छ, "हालसम्मको विश्लेषणअनुसार उक्त मौसम प्रणालीको कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन।"
यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्क र मौसम अधिकारीहरूले अर्णव चक्रवातको प्रभावबारे चेतावनी जारी गर्दै किसानहरूलाई मङ्गलवारपछि धान नकाट्न सचेत गराएका थिए।
विभागकी प्रवक्ता पोखरेलले अलिअलि अहिले बादल आए पनि केही असर नगर्ने बताउँछन्।
"अर्णव चक्रवातको प्रभाव पनि पश्चिमबाटै गइसक्यो," उनले भनिन्, "मज्जासित धान काट्दा हुन्छ।"
निकट भविष्यमा मौसम प्रतिकूल हुन्छ?

तस्बिर स्रोत, RSS
अधिकारीहरूले अर्णवको प्रभाव सकिएपछि धान काट्न सकिने बताएका थिए, त्यसैले अब त्यो जोखिम नरहेकाले किसानहरूले धान बाली काटेर भित्र्याउन सकिने जनाएका हुन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल अर्णवको प्रभाव सकिए पनि पश्चिमी वायुको असर केही बाँकी रहेको बताउँछन्।
"अझै २–३ दिन पहाडी क्षेत्रमा कतै हल्का वर्षा हुन सक्छ, तराईमा त्यो सम्भावना न्यून छ," उनको भनाइ छ।
मौसम विज्ञान विभागले मुरासु मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
विभागकी प्रवक्ता पोखरेलका अनुसार बङ्गालको खाडी वा अरब सागरमा बन्ने मौसमी प्रणाली र चक्रवात तथा पश्चिमी वायुको प्रभाव देखिन सक्छ।
"तर तत्काल मौसम प्रतिकूल हुने कुनै पनि सङ्केत छैन," उनले बताइन्।
चक्रवात हैन डर भित्रियो?

तस्बिर स्रोत, Reuters
भारतको मौसम विज्ञान विभागले आइतवार मुरासु चक्रवातबारे जानकारी सार्वजनिक गरेको छ।
उसका अनुसार सोमवार बिहानतिर उक्त मौसमी प्रणाली तीव्र हुने प्रबल सम्भावना छ र त्यसपछि त्यो उत्तर पश्चिमतिर सर्ने छ।
सोमवार मध्यरात र मङ्गलवार बिहान भारतीय समय ४ बजे आसपासमा दक्षिणी आन्ध्र प्रदेश तट पार गर्दै नेल्लोर र नरसापुरबीचमा शक्तिशाली चक्रवात आँधीको रूपमा प्रवेश गर्ने उसको अनुमान छ।
त्यो १०० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हुने र हावाको झोक्कासँगै १२० किलोमिटर प्रति घण्टा पुग्न सक्ने भारतको मौसम विज्ञान विभागको आकलन छ।
"बङ्गालको खाडीमा कति मौसमी प्रणाली वा चक्रवात विकसित हुन्छन्, ती सबैले नेपालसम्म प्रभाव पार्दैनन्," नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।
"तर अर्णवले गर्दा यसबारे पनि हल्ला धेरै भएको हो। त्यो नेपालसम्म आइपुग्दैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















