सगरमाथा क्षेत्रमा अवतरण गर्न लागेका दुई हेलिकप्टर ठोक्किँदा 'एक भारतीय यात्रुको मृत्यु'

तस्बिर स्रोत, Nepal Police
सगरमाथा आधारशिविरनजिकै रहेको फेरिचे गाउँमा अवतरण गर्न लागेका दुइटा हेलिकप्टरहरू ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताएका छन्।
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार तामिलनाडु घर भएका भारतीय यात्रुको घटनास्थलमै मृत्यु भएको हो।
अधिकारीहरूका अनुसार उक्त दुर्घटनामा परी तीनजना घाइते भएका छन्। तीमध्ये एकजनाको काठमाण्डूमा र दुईजनाको लुक्कामा उपचार भइरहेको बताइएको छ।
प्राधिकरणका अनुसार दुर्घटनामा परेका हेलिकप्टरहरू फिश्टेल एअर र एअर डाइनेस्टीका हुन्।
सगरमाथा पदयात्रा मार्गमा पर्ने उक्त गाउँ समुद्री सतहभन्दा ४ हजार मिटरभन्दा केही माथि पर्छ।
घाइतेहरू को हुन्
घाइतेहरूमध्ये एक जना विदेशी नागरिक र दुवै हेलिकप्टरका नेपाली पाइलट भएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।
उनका अनुसार फिश्टेल एअरको हेलिकप्टरका पाइलटलाई उपचारका लागि काठमाण्डू लगिएको छ भने अर्का पाइलट र न्यूजीलन्डका नागरिकलाई हेलिकप्टरबाट लुक्ला लगिएको छ।

तस्बिर स्रोत, Nepal Police

तस्बिर स्रोत, Nepal Police
प्राधिकरणका अनुसार बिहान ८ः१५ बजेतिर उक्त दुर्घटना भएको थियो।
"लुक्लाबाट जाँदै गरेको र आधारशिविर नजिकैको गोरक्सेपबाट फर्कँदै गरेका हेलिकप्टरहरू एकैठाउँ अवतरण गर्न खोज्दा दुर्घटना भएको देखिन्छ," भुलले भने।

कसरी भयो दुर्घटना
दुर्घटनाको स्पष्ट कारण खुलिसकेको छैन। "त्यहाँ अन्य हेलिप्याड पनि भए पनि सायद हिउँले पुरिएका कारण एउटामै अवतरण गर्न खोजे कि भन्ने जस्तो देखिएको छ," भुलले भने।
सामाजिक सञ्जालमा प्रेषित एउटा भिडिओमा दुइटा हेलिकप्टर विपरीत दिशाबाट आएका र एउटाको पङ्खा अर्को हेलिकप्टरमा ठोक्किएको देखिन्छ।
बीबीसी न्यूज नेपालीले उक्त भिडिओको आधिकारिकता पुष्टि गरेको छैन। तर स्थानीय सञ्चारमाध्यमबाट पनि उक्त भिडिओ प्रसारित भएको छ।

तस्बिर स्रोत, Nepal Police
दुर्घटना हुँदा दोस्रो हेलिकप्टरको पछाडिको भाग टुक्रिएको र अगाडिको भाग भुइँमा धसिएको देखिन्छ।
त्यसको ठिक अगाडि उभिएका केही मानिसहरू जोगिन भाग्दै गरेको पनि उक्त भिडिओमा देखिन्छ।
यतिखेर सगरमाथा क्षेत्रमा यतिखेर आमादब्लम हिमालमा आरोहण गर्ने क्रम चलिरहेको चलिरहेको छ। शरद्याम उक्त क्षेत्रमा पदयात्राका लागि समेत लोकप्रिय छ।
सगरमाथा आधारशिविरसम्म हेलिकप्टरमा पुग्दै बीचका गाउँमा छोटो समय 'ब्रेकफास्ट'का लागि रोकिने प्याकेजहरू समेत त्यस क्षेत्रमा चल्तीमा पाइन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















