तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जसले दोस्रो विश्वयुद्धमा मारिएका सैनिकको प्रेमकथा एक शताब्दीपछि चर्चामा ल्याए
- Author, जेन मकबिन
- Published
- पढ्ने समय: ४ मिनेट
"मेरी प्रिय, मेरालागि सबैथोक तिमी हौ..."
पहिलो विश्वयुद्धको युद्ध मैदानबाट ब्रिटिश सेनाका विली वेबरले आफ्नी श्रीमती ग्लाडिजलाई लेखेका शब्द हुन् यी।
सन् १९१७को डिसेम्बरमा विवाह गरेको यो जोडीले निकै छोटो समय मात्रै सँगै बिताउन पायो। ब्रिटिश सेनाको रोयल ग्यारिसन आर्टिलरीको गोला चलाउने अर्थात् 'गनर' दर्जामा कार्यरत विली विवाह लगत्तै आफू कार्यरत पश्चिमी किल्लामा खटिए।
सन् १९१८मा युद्धरत पक्षहरूबीच हतियार बिसाउने 'आर्मिस्टिस' सम्झौता हुनुभन्दा केही साताअघि मात्रै उनी युद्धमा मारिए।
दुई जना अपरिचित मानिसहरूले यो प्रेम कथालाई मानिसहरूको स्मृतिबाट मेटिन नदिन सक्रियता देखाएपछि उनको समुदायले त्यसको एक शताब्दीपछि विलीका चिठी पत्रहरू उनको स्मरणमा सार्वजनिक गरेको छ।
सन् १९१७को डिसेम्बरदेखि १९१८ को अक्टोबरबीचका १०० वटा चिठीको पोकोले युद्धको पृष्ठभूमिमा प्रेमको कथा देखाउँछ।
घाइते भएपछि छोटो समय घर फर्किएका विलीले १९१७को अन्त्यतिर ग्लाडिजसँग विवाह गरेका थिए। त्यस लगत्तै उनी युद्धको अग्रमोर्चामा फ्रान्स गए।
उनले आफ्नी श्रीमतीलाई चिठीभित्र सुकेका फुलहरू राखेर मायालु सन्देशहरू लेख्थे र अन्त्यमा लेख्थे "तिम्रो आफ्नै श्रीमान् र प्रियतम, विली।"
विलीले नियमित चिठीपत्र पठाए। उनका चिठीहरू भविष्यका आशा र सपनाहरूले भरिएका हुन्थे।
तर उनले चाहेको पुनर्मिलन कहिल्यै हुन सकेन।
'आर्मिस्टिस' हुनुभन्दा चार साता अगावै सन् १९१८को अक्टोबरमा २५ वर्षका यी युवा सैनिक दुर्घटनावश आफ्नै बन्दुकबाट चलेको गोली लागेर मारिए। यो जोडीका बालबच्चा थिएनन्। उनीहरूका प्रत्यक्ष हकवाला पनि कोही थिएनन्। यो प्रेमकथा सुनाउन कोही बाँकी थिएन।
यो कथा त्यहीँ टुङ्गिन सक्थ्यो तर यी चिठीपत्रहरू लेखिएको एक शताब्दीपछि चर्चामा आएपछि त्यो जोडीको स्मृतिलाई ताजा भएको छ।
सन् २०२५ मा यी प्रेम पत्रहरूको सङ्कलन अनलाइनमा लिलाम बढाबढमा बिक्रीमा राखियो।
यो लिलाम प्रक्रियाबारे नोरिचका एक जना मेकानिक एन्डी गार्नरले पनि चासो दिइरहेका थिए। उनले युद्धमा भाग लिएका मानिसहरू इतिहासबाट गुमनाम नहोऊन् भन्ने उद्देश्यले युद्धका बेलाका चिठीहरू सङ्कलन गर्ने, उतार्ने र आफैँ प्रकाशित गर्ने गर्दै आएका छन्।
विली र ग्लाडीजका चिठीहरू हेरेपछि उनले यसलाई संरक्षण गर्ने अठोट लिए।
"ती चिठीहरूले मलाई पछाडि फर्काइरहे," उनले भने। "मलाई विलीले 'एन्डी यो काममा तिमी अघि सर, तिमीले यो गर्न सक्छौ!' भनिरहेजस्तो लाग्यो।"
लिलाम बढाबढका क्रममा चिठीको मोल बढ्दै गयो। तर अन्तिम क्षणमा एन्डीले लगाएको ३५१.५१ पाउन्ड मोलले लिलाम जित्यो।
त्यसपछि उनले चिठीहरूको सँगालो पूरै पढे र यो जोडीको एक अर्काप्रतिको प्रेमले उनलाई गहिरो गरी छोयो। विलीलाई आफू छिट्टै घर फर्कनेमा पूर्ण आत्मविश्वास थियो।
"जस्तोसुकै परिस्थितिबाट गुज्रिरहेको भए पनि उनीहरूको माया चम्किरहेको थियो," एन्डी भन्छन्।
"त्यसले उनीहरूलाई बाँच्ने आशाको सञ्चार गरिरहेको हुन्थ्यो।"
आफूले चिठी किन्न खर्चिएको पैसा उठ्ने सुनिश्चित नभए पनि उनले त्यसलाई उतारेर छाप्ने निर्णय गरे।
'मायाको कथा'
चिठीपत्रहरूको सँगालो छाप्ने निर्णयमा एन्डी पुगेसँगै एउटा नसोचेको घटना भयो।
जसले ती चिठीपत्र उनलाई बेचेका थिए उनले लिलामबाट आएको पैसा आफूले राख्न नसक्ने निर्णय लिए।
किथ बजनले भोलिपल्ट बिहानै एन्डीलाई सम्पर्क गरे।
"'मैले तिमी आफ्नो पैसा फिर्ता लेउ त्यो तिम्रो लागि राम्रो हुन्छ' भनेँ," किथले सुनाए।
चिठी फिर्ता लिएपछि किथलाई त्यसको न्याय एन्डीले नै गर्न सक्थे भन्ने लाग्यो।
पछि दुवै जना मिलेर विली र ग्लाडिजको विवाह भएको नाइटनमा युद्धमा मारिएका सैनिकको संस्मरण गर्ने निर्णय गरे।
त्यसपछि उनीहरूलाई समुदायबाट उल्लेख्य सहयोग मिल्यो।
उनीहरूले चर्चमा स्मारक बनाउन १,६०० पाउन्ड सहयोग जुटाए।
चर्चले पनि त्यसमा साथ दियो।
यो सबै लिलामीमा किनिएका चिठीबाट सुरु भएको थियो।
उनीहरूको संस्मरणमा आयोजना गरिएको कार्यक्रममा उपस्थित भएकाहरूले देशको रक्षाका लागि आहुती दिएकाहरूलाई कहिलेकाहीँ बिर्सिइने जोखिम हुने बताए।
एन्डीकी श्रीमती लेक्सले आफ्ना श्रीमान्को कामबारे मानिसहरूलाई थाहा होस् भन्ने आफूले चाहेको बताइन्।
विलीले पत्र पठाएको एक शताब्दीपछि उनले र ग्लाडिजले नयाँ समुदाय भेट्टाए। उनीहरूले रगतको नाता वा पारिवारिक नाताबाट नभइ आफूलाई सम्झने मानिसहरूको परिवार भेट्टाए। जसले उनीहरूको प्रेम कथालाई बिर्सेर जान दिएनन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।