इजरेल चुनाव: विपक्षीद्वारा नेतन्याहुले चुनावलाई 'अवैध' बनाउन खोजेको आरोप

    • Author, टम बेनेट
  • Published
  • पढ्ने समय: ३ मिनेट

इजरेलका मुख्य विपक्षी नेता गादी आइजनकोट र अरब नेतृत्वको पार्टीका नेताहरूले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको आलोचना गरेका छन्।

निर्वाचनमा आफ्नो गठबन्धनले बहुमत गुमाएपछि नेतन्याहुले विदेशी हस्तक्षेपको आरोप लगाएका थिए।

नेतन्याहुको लिकुड पार्टीले इजरेलको अरब नेतृत्वको दलहरूले चुनाव "चोरेको" आरोप लगाएको छ।

देशको आन्तरिक सुरक्षा निकाय शिन बेटले यी दलहरूले कतार र टर्कीबाट अवैध आर्थिक सहयोग प्राप्त गरे वा गरेनन् भनेर अनुसन्धान गरिरहेको जनाएको छ।

कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई 'हास्यास्पद र खतरनाक' भन्दै खारेज गरेको छ।

उनले इजरेली नेताहरूले दोहाविरुद्ध गलत प्रचार अभियान चलाएको आरोप लगाए।

कसले कति सीट पाए?

अन्तिम परिणामले नेतन्याहुको गठबन्धन वा यहुदी विपक्षी दुवैले संसद्‌मा बहुमत प्राप्त नगरेको पुष्टि गरेको छ।

अरब मतदाताको मतदानमा वृद्धि भएपछि १२० सीट भएको सेनेटमा दुई अरबमुखी पार्टीहरू जोइन्ट लिस्ट र रा'मले १९ सीट जिते।

यसले गर्दा यी दलहरूले सरकार गठनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अवस्थामा पुगेका छन्।

नेतन्याहुको गठबन्धनले ५३ सीट जितेको छ भने उनका प्रतिद्वन्द्वी गादी आइजनकोटको गठबन्धनले ४८ सीट जितेको छ।

बिहीवार लिकुड पार्टीले अरब पार्टीलाई मतदान गर्न मतदाताहरूलाई "घुस" दिएको आरोप लगाएको थियो।

यसअघि केन्द्रीय निर्वाचन समिति (सीईसी)का प्रमुखले सुरक्षा निकाय शिन बेटलाई विदेशी हस्तक्षेपको 'गम्भीर आशङ्का'को छानबिन गर्न भनेका थिए।

दुवै अरब पार्टीले उक्त आरोपको कडा रूपमा खण्डन गरेका छन्। जोइन्ट लिस्ट गठबन्धनले त्यस्ता आरोपहरू निराधार भएको जनाएको छ।

नेतन्याहुका आलोचकहरूले यो विवादलाई अरब पार्टीहरूको वैधतामाथि प्रश्न उठाउने प्रयास भएको बताएका छन्।

यसले गर्दा आइजनकोटलाई यी पार्टीहरूसँग गठबन्धन गर्न राजनीतिक रूपमा असम्भव हुन सक्छ। अहिले उनको गठबन्धन सत्तामा पुग्ने यो एकमात्र तरिका हो।

लिकुड पार्टीको आरोप र विपक्षीको प्रतिक्रिया

इजरेली सञ्चारमाध्यमका अनुसार कतारले अरब समुदायमा मतदान बढाउने उद्देश्यले उक्त रकम खर्च गरेको दाबी केन्द्रीय निर्वाचन समिति सीईसी समक्ष गरिएको थियो।

कतारको विदेश मन्त्रालयले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। नेतन्याहु र उनको लिकुड पार्टीले उक्त आरोपलाई "राजनीतिक भूकम्प' र 'लोकतन्त्रमाथिको आक्रमण' को संज्ञा दिएका छन्।

उनले आफ्नो दक्षिणपन्थी सरकारलाई सत्ताबाट हटाउने लक्ष्य रहेको बताए।

यद्यपि शिन बेटले पछि यसको अनुसन्धानले कानुनी रूपमा मतदान गर्ने सबैलाई शङ्काको घेरामा नराखेको स्पष्ट पार्‍यो।

अन्तिम नतिजापछि तीन विकल्प

अन्तिम परिणामपछि सरकार गठनका लागि तीनवटा मात्रै विकल्प बाँकी छन्।

  • पहिलो, नेतन्याहु र आइजनकोटको सहभागितामा राष्ट्रिय एकताको सरकार
  • दोस्रो, नेतन्याहुको नेतृत्वमा रहेको दक्षिणपन्थी गठबन्धन जसमा आइजनकोटको गठबन्धनबाट अलग भएका नेताहरू पनि सामेल छन्
  • तेस्रो, आइजनकोट नेतृत्वको सरकार जसलाई अरब पार्टीहरूको समर्थन छ

आइजनकोट र उनको गठबन्धनका एक सदस्यबाहेक अन्य सबै नेताहरूले यसअघि अरब पार्टीहरूसँग सरकार गठन गर्न अस्वीकार गरेका थिए।

तर केही दिनयता दुई पक्षबीच सहमति हुनसक्ने अनुमान गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।