फ्रान्समा प्रदर्शन फेरि 'उग्र', ७० हजार प्रहरी परिचालन

    • Author, यरोस्लाफ लुकिफ
  • Published
  • पढ्ने समय: ३ मिनेट

फ्रान्समा भएको पछिल्लो विरोध प्रदर्शनमा लाखौँको सङ्ख्यामा मानिसहरूले भाग लिएपछि शनिवार अबेरसम्म केही ठाउँमा झडपहरू भएका छन्।

प्रहरीले करिब १००० जनालाई गिरफ्तार गरेको फ्रान्सका आन्तरिक मामिलामन्त्री लराँ नुनेजले शनिवार अबेर जानकारी दिएका छन्।

फ्रान्समा विद्यालयका समस्या र बढ्दो महँगीविरुद्ध प्रदर्शन भइरहेको छ।

अघिल्लो दिनको प्रदर्शन मूल रूपमा शान्तिपूर्ण देखिए पनि शनिवार प्रहरीले प्यारिसलगायत धेरै सहरहरूमा प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ।

मार्सेलीमा प्रहरीका ब्यारिकेडहरू जलाइएका छन्। बोर्डोमा पसलका क्षति पुगेको छ।

तर अधिकारीहरू अहिलेसम्म गत सप्ताहान्तमा देखिएको जस्तो दङ्गा र लुटपाट हुनबाट जोगाउन सफल देखिएका छन्।

शनिवार देखिएको "अराजकताको स्तर" अघिल्लो हिंसात्मक प्रदर्शनको तुलनामा कम छ।

जुलुसमाथि प्रतिबन्ध

एक साताअघिको हिंसात्मक गतिविधिलाई फ्रान्सको आधुनिक इतिहासमा विशृङ्खलताका सबैभन्दा खराब परिदृश्यहरूको रूपमा लिइएको छ।

आन्तरिक मन्त्रालयले शनिवार अनुमानित ४ लाख १० हजार मानिसहरू विरोध प्रदर्शन सहभागी रहेको बताएको छ। तर यूनिअनहरूले यो त्यो सङ्ख्या लगभग ८ लाख रहेको दाबी गरेका छन्।

विरोध प्रदर्शन रोक्न करिब ७० हजार प्रहरी तैनाथ गरिएका छन् भने कैयौँ सहरहरूमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति एमानुएल म्याक्रोँले मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गर्ने प्रदर्शनलाई मात्र अनुमति दिइने घोषणा गत हप्ताको सुरुमा गरेका थिए।

विरोध प्रदर्शन गर्ने आफ्नो अधिकारमाथि प्रहार भइरहेको तर्क गर्नेहरूले केही जुलुसहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको निन्दा गरिएका छन्।

'अतिवादी वामपन्थीबाट उच्च तहको हिंसा'

प्यारिसमा शान्तिपूर्ण मार्चको अन्त्यतिर पुग्दा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भएको थियो। उक्त प्रहरी कारबाहीमा एउटा विशेष एकाइ संलग्न थियो, जसले सामान्यतया सङ्गठित अपराध र प्रतिआतङ्कवाद मामिलाहरू हेर्ने गर्छ।

केही प्रदर्शनकारीहरूले अस्थायी ब्यारिकेड खडा गरिरहेको र सुरक्षाकर्मीहरूमाथि विभिन्न वस्तुहरू प्रहार गरिरहेको अनि एउटा कार शोरुमका झ्यालहरू तोडफोड गरिरहेका मास्कधारी युवाको समूहमाथि प्रहरीले लाठी प्रहार गरेको देखिन्थ्यो।

फ्रान्सका आन्तरिक मामिलामन्त्री लराँ नुनेजले "हजारौँ कट्टरपन्थी कार्यकर्ताहरू विरोध र्‍यालीको पछाडि रहेको, जसमा लगभग ५०० जनालाई दङ्गाकारीको रूपमा पहिचान गरिएको" बताएको समाचार संस्था एएफपीले जनाएको छ।

अतिवादी वामपन्थीबाट प्रहरीले उच्च तहको हिंसाको सामना गर्नुपरेको उनको भनाइ छ। तर अधिकारीहरूमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाइएको छ।

'निषेधित क्षेत्रमा भेला'

दक्षिणी बन्दरगाह सहर मार्सिलीमा फोहोरका भाँडाहरूमा आगो लगाइएको छ।

फ्रान्सको दोस्रो ठूलो सहरमा सुरक्षा निकायको एउटा गाडी आगो लगाइएको ब्यारिकेड हुँदै गइरहेको देखियो।

बोर्डो सहरमा कालो कपडा र अनुहार ढाकेका केही प्रदर्शनकारीहरू सडकमा अवरोध खडा गर्न एउटा भवनबाट बोर्डहरू झिकिरहेका देखिए।

आन्तरिक मामिलामन्त्री नुनेजका अनुसार दुईजना गम्भीर रूपमा घाइते भएका छन्।

लियोङमा स्थानीय अधिकारीहरूद्वारा निषेधित क्षेत्र घोषणा गरिएको स्थानमा भेला भएको भनिएको भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासका सेलहरू प्रहार गरेको थियो।

फ्रान्सको तेस्रो ठूलो सहरका एक प्रदर्शनकारीले भने, "हामी करिब १५० जना थियौँ, जसमा अधिकांश जसो माध्यमिक विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरू थियौँ। त्यस लगत्तै, अश्रुग्यास प्रहार गरियो, सडकमा केही पनि देख्न नसकिने भयो।"

'अब धेरै भयो, अति भइसक्यो'

प्यारिसको शान्तिपूर्ण प्रदर्शनमा सहभागी जेली नाम बताउने प्रदर्शनकारीले बीबीसीसँग कुरा गर्दै "मानिसहरू 'वास्तवमै निराश' भएर र एमानुएल म्याक्रोँ सत्तामा आएदेखि 'धेरै पीडा' भोगिरहेकाले सडकमा उत्रिएको" बताइन्।

"उनीहरू हामीलाई चुप लगाउँछन्, हाम्रो पैसा लिन्छन्, हामीमाथि धेरै कर थोपर्छन्, अनि हामी केही पनि बोल्न सक्दैनौँ," ती २६ बर्सिया प्रदर्शनकारीको भनाइ छ, "आज हामी सडकमा उत्रिएका छौँ किनभने अब धेरै लामो समय भयो, अति भइसक्यो।"

मास्क लगाएका दुई किशोरले आफ्नो नाम खुलाउन चाहेनन्। तर आफ्नो पुस्ता निराश अवस्थामा पुगेको र सरकारले असहाय बनाइदिएको आफूहरूलाई लागिरहेको उनीहरूको भनाइ छ।

"लुटपाट पक्कै राम्रो कुरा होइन," तीमध्ये एक जनाले गत शनिवार भएको हिंसाका सन्दर्भमा भने, "तर, गरिबी र प्रहरीले गरिरहेको हिंसाका कारण यस्तो भइरहेको छ।"

उनी आफ्ना मागहरूको सम्बोधन हुनासाथ विरोध प्रदर्शनहरू अन्त्य हुने बताउँछन्। "हामी साँच्चै फ्रान्समा परिवर्तन चाहन्छौँ," उनको भनाइ छ।

विद्यार्थीहरूको प्रदर्शन हप्तौँसम्म चलेपछि बढेको निराशाबीच एक साताअघिको प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिसहरू सहभागी भएका थिए। त्यसपछि भएको हुलदङ्गामा २,५०० भन्दा बढी गिरफ्तार भएका थिए।

पछिल्ला दिनहरूमा द्रुत अदालती सुनुवाइपछि तोडफोड, आगजनी र लुटपाटको आरोपमा सयौँ मानिसहरूलाई जेल चलान गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।