सगरमाथा चढ्न पाउने आरोहीको सङ्ख्या तोक्न आवश्यक भएको हो?

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

सगरमाथामा पछिल्ला केही वर्षदेखि निरन्तर जसो बढिरहेको आरोहीको सङ्ख्याबीच त्यसको सीमा तोकिनुपर्ने कुरा कतिपय आरोही तथा विज्ञहरूबाट उठे पनि नेपाल पर्वतारोहण सङ्घले त्यसलाई सङ्ख्याभन्दा माथि उठेर व्यवस्थापन गर्न सकिने बताएको छ।

"सङ्ख्या समस्या होइन। यो व्यवस्थापकीय पक्ष हो जसमा उच्च स्तरको कमान्ड आवश्यक पर्छ। अन्यथा सगरमाथाजस्तो हिमालमा सङ्ख्यालाई सामान्य रूपमा बुझ्नु नै गलत हुन आउँछ," नेपाल पर्वतारोहण सङ्घका महासचिव राजेन्द्र लामाले भने।

"त्यहाँ चुचुरो पुग्न अनुकूल हुने दिनहरू (समिट विन्डो) वर्षमा एक-डेढ हप्ता मात्र हुने गरी सीमित हुन्छन्। त्यस्ता दिन कम हुने हुँदा थोरै सङ्ख्यामै अनुमति दिँदा पनि चाप पर्छ।"

पर्यटन विभागका प्रवक्ताले सगरमाथा विश्वकै प्रतीक हिमाल भएकाले त्यसमा अन्य हिमालका तुलनामा चाप स्वाभाविकरूपमा उच्च रहने तर त्यसलाई संशोधनका क्रममा रहेको पर्यटन ऐन तथा नियमावलीमार्फत् व्यवस्थापन गर्न खोजिएको बताउँछन्।

प्रवक्ता सुरज घिमिरे भन्छन्: "मुख्य समस्या दुई-तीनवटा मात्र वीन्डो हुनुले हुने हो। प्रस्तावित विधेयकमा विभिन्न उपायमा छलफल भइरहेको छ। यसमा सलामी दस्तुर नै पनि अन्य हिमालभन्दा धेरै राखिएको छ। त्यही पनि आकर्षण उच्च छ र सङ्ख्या बढ्दो छ।"

सन् २०२६ को बसन्त याममा सर्वोच्च शिखर चढ्नका लागि अहिलेसम्मकै धेरै ४९५ आरोहीले आरोहण अनुमति पाएकामा उनीहरूका आरोहण सहयोगीसमेत जोडेर १ हजारभन्दा धेरै जना सर्वोच्च शिखर पुगेका थिए।

'सङ्ख्या निर्धारण गर्नू'

सर्वोच्च अदालतले दुई वर्षअघि दिएको एउटा आदेशमा हिमाल चढ्न पाउने आरोहीहरूको सङ्ख्यालाई सीमित बनाउन भने पनि हालसम्म त्यसबारे कुनै कानुनी व्यवस्था भएको पाइँदैन।

त्यसबेला सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मातला माथेमाको संयुक्त इजलासले सरकारका नाममा हिमालहरू सफा राख्ने कुरालाई केन्द्रमा राखेर विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूका नाममा उत्प्रेषणयुक्त परमादेश दिएको थियो।

जसमा 'अब हुने पर्वतारोहणको क्रममा पर्वतको सामर्थ्यको सम्मान गर्न' भनिएको छ।

"उसको सीमाको मान्यता दिँदै सामर्थ्यले भ्याउने सङ्ख्या र समय निर्धारण गरेर मात्र पर्वतारोहणको अनुमति दिनू, दिलाउनू," आदेशमा भनिएको छ।

तर त्यसयताका पछिल्ला दुई वर्षमै 'रेकर्ड' करिब ५०० नजिकको सङ्ख्यामा आरोहण अनुमति दिइएका छन्।

यस वर्षको मे महिनाको तेस्रो साता एकैदिन रेकर्ड सङ्ख्यामै २७० भन्दा धेरै मानिसहरू चुचुरो पुगेका थिए।

तर पर्वतारोहण सङ्घका महासचिव राजेन्द्र लामा सरकारले नियमन गर्नलाई अन्य अनेकौँ तरिका अपनाउन सक्ने भन्दा सङ्ख्या तोक्ने काम गरिए त्यसले राम्रो सन्देश नदिने बताउँछन्।

"स्वस्थ र तन्दुरुस्त आरोहीहरूको जाँच गर्ने, अन्य अग्ला हिमाल चढेको हुनुपर्नेजस्ता नियम राखेर कार्यान्वयन गर्दा आरोहण त्यसै व्यवस्थित भइहाल्छ," लामा भन्छन्।

"आठ हजार मिटर अग्ला संसारका जुनसुकै हिमाल वा नेपालका सात हजारभन्दा अग्ला हिमाल वा नेपालका कम्तीमा दुई वटा ट्रेकिङ पीक चढेको अनुभव भएकोलाई चढ्न दिने नियम बनाइयो भने अन्य हिमाल पनि फस्टाउँछन् सगरमाथा पनि व्यवस्थित हुन्छ।"

भार

सामान्यत: सगरमाथा चढ्ने आरोहीको सङ्ख्यामा उनीहरूलाई सघाउने कम्तीमा एकजना शेर्पा हुँदा त्यो ठ्याक्कै दोबर हुने गर्छ।

यद्यपि पछिल्लो समय सौखिन आरोहीहरू बढिरहेको भन्दै उनीहरू एक जनाले नै दुई-तीन जना शेर्पा लिन थालेका आरोहण सञ्चालकहरू बताउँछन्।

त्यसमाथि चौथौ शिविरसम्म खाना पकाउने र अन्य सामग्री ओसारपसार गर्ने शेर्पा पनि हुने हुँदा हिमालमा उच्च चाप पर्ने गर्छ।

तर पर्वतारोहीको बढ्दो सङ्ख्यालाई नियमन गर्नुपर्ने अन्यथा कालान्तरमा सगरमाथामा विभिन्न समस्या उत्पन्न हुने चेतावनी कतिपय विज्ञहरूले दिएका छन्।

वर्षमा केही दिन मात्र सगरमाथा चढ्ने अनुकूल समय मानिन्छ। त्यस्तो समय औसतमा एक हप्ताभन्दा पनि कम हुने गरेको छ।

त्यही छोटो समयभित्र सबै आरोही चुचुरोमा पुग्नुपर्ने हुँदा त्यो निकै चुनौतीपूर्ण हुने गर्छ।

सामान्य अवस्थामा हाम्रो शरीरसँग अनुकूल नहुने उचाइमा अक्सिजनको कमीले गर्दा धेरै समय बस्न सकिँदैन।

चिसो हावा, अस्थिर हिउँका चट्टान र कमजोर शरीरिक अवस्थासहित शिखरमा पुग्नुपर्ने बाध्यता हुन्छ।

त्यो समयमा कम अनुभव र तालिम भएका, शारीरिक रूपमा दुर्बल वा उचाइसँग पर्याप्त अनुकूलन नभएका आरोहीहरू भइदिए पनि अन्य आरोहीले पनि समस्या खेप्नुपर्ने हुन्छ।

किनकि सगरमाथा चढ्ने निश्चित बाटो छ। जहाँ पहिल्यै शेर्पाहरूले बाँध्ने डोरीलाई समात्दै आरोहीहरू माथिसम्म जान्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।