इजरेलमा सरकार बनाउन प्रयासरत गादी आइजनकोट को हुन्

    • Author, फर्नान्डो डूवार्टे
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

इजरेलका राष्ट्रपतिले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूका सबैभन्दा बलिया प्रतिद्वन्द्वी गादी आइजनकोटलाई नयाँ सरकार गठन गर्ने पहल थाल्न भनेका छन्। हालै सकिएको आमचुनावमा कुनै पनि नेताले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि इजरेलमा राजनीतिक गतिरोध उत्पन्न भएको छ।

इजरेली संसद्‌मा नेतन्याहूको समूह वा आइजनकोटको समूह कसैले पनि बहुमत ल्याउन नसकेपछि राष्ट्रपति आइज्याक हेरजोगले विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेका थिए।

साताभरि सबै राजनीतिक दलसँग परामर्श गरेपछि आइजनकोटलाई सरकार गठन गर्ने पहिलो अवसर दिने निर्णय गरेको राष्ट्रपतिले बताएका छन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार उनले आफ्नो निर्णयबारे आइजनकोट र नेतन्याहू दुवैलाई जानकारी गराइसकेका छन्।

विज्ञप्तिमा नयाँ संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको प्रतिनिधिसँगको परामर्शपछि आइजनकोटले प्रधानमन्त्री बन्न ६७ जना सांसदको समर्थन पाएका छन् भने नेतन्याहूले ४६ जनाको समर्थन प्राप्त गरेका छन्।

राष्ट्रपतिलाई सरकार गठन गर्ने सबैभन्दा सम्भावना भएको व्यक्तिलाई छनोट गर्ने व्यापक अधिकार हुन्छ। उनले सबैभन्दा बढी सिट जित्ने दलका नेतालाई नै प्रधानमन्त्रीका लागि छनोट गर्नुपर्छ भन्ने बाध्यता हुँदैन।

आइजनकोटले नयाँ सरकार गठनका लागि २८ दिनको समय पाउने छन्। आवश्यक परे उनलाई थप १४ दिनको समय पनि दिन सकिने छ।

इजरेली पूर्वसेना प्रमुख गादी आइजनकोटले अप्रत्याशित रूपमा त्यस्ता व्यक्तिलाई चुनौती दिएका छन्, जसले करिब तीन दशकदेखि इजरेलको राजनीतिमा प्रमुख भूमिका निर्वाह गर्दै आएका छन्।

राजनीतिक हिसाबले आइजनकोट नयाँ अनुहार हुन्। उनले सन् २०२२ मा न्याश्नल युनिटी पार्टीबाट संसद् सदस्य बनेपछि औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए। पछि उनले वैचारिक मतभेदका कारण देखाउँदै उक्त पार्टी छोडेका थिए।

गत वर्ष विपक्षी दलका प्रमुख नेताहरूबाट अलग भएर आफ्नै मध्यमार्गी दल याशर गठन गरेपछि आइजनकोट निर्वाचनमा नेतन्याहूका प्रमुख प्रतिद्वन्द्वीका रूपमा उदाएका छन्।

प्रधानमन्त्री नेतन्याहू पछिल्ला वर्षहरूमा भ्रष्टाचारसम्बन्धी आरोपबाट घेरिएका छन्। उनले ती आरोप अस्वीकार गर्दै आएका छन्। सन् २०२३ अक्टोबर ७ तारिखमा भएको हमलाको सामना गर्ने क्रममा उनको सरकारले गरेको व्यवस्थापनलाई लिएर पनि आलोचना हुँदै आएको छ।

यसका साथै न्यायपालिकाको संरचनामा व्यापक परिवर्तन गर्ने उद्देश्यले ल्याइएका विवादास्पद सुधारका योजनाले इजरेलमा ठूलो जनप्रदर्शन निम्त्याएका थिए।

तर नेतन्याहूविरुद्ध निर्वाचनमा प्रतिस्पर्धा गर्ने आइजनकोटको दृढताका पछाडि व्यक्तिगत पीडा पनि जोडिएको छ।

उनका पाँच सन्तानमध्ये कान्छा छोरा मास्टर सर्जेिएन्ट गल आइजनकोटको सन् २०२३ को डिसेम्बरमा उत्तरी गाजामा भएको विस्फोटमा मृत्यु भएको थियो।

उनी हमासले सन् २०२३ अक्टोबर ७ तारिखमा अपहरण गरेका दुई इजरेली बन्धकको शव फिर्ता ल्याउने अभियानमा सहभागी थिए। सोही अभियानका क्रममा भएको विस्फोटमा उनको ज्यान गएको थियो।

गादी आइजनकोटले आफ्ना छोराका सामानहरू अझैसम्म हेर्न नसकेको बताएका छन्। ती सामान केही बाकसमा राखेर तेल अभिभको उत्तरतर्फ रहेको समृद्ध समुद्री तटीय सहर हर्जलियास्थित आफ्नो घरमा राखेका छन्।

"मैले अझै ती बाकस खोलेको छैन। म त्यसलाई लगातार पछि सारिरहेको छु," ६६ वर्षीय आइजनकोटले एप्रिलमा इजरेली सार्वजनिक रेडिओसँग बताएका थिए।

गाजामा भएको सैन्य अभियानका क्रममा छोरा गाल र दुई जना भतिजाको मृत्यु हुनुका साथै हमासले गरेको अभूतपूर्व आक्रमण रोक्न नेतन्याहू नेतृत्वको सरकार असफल भएको उनको बुझाइले आइजनकोटको राजनीतिक महत्त्वाकाङ्क्षा बढाएको छ।

"म समयलाई पछाडि फर्काउन सक्दिनँ," उनले यसै महिनाको सुरुमा द टाइम्स अफ इजरेल पत्रिकासँग भनेका थिए। गालले चुकाएको ठूलो मूल्यको योग्य बन्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने छु।"

नेतन्याहू र उनको मन्त्रिपरिषद्लाई जबाफदेही बनाउनु आइजनकोटको पहिलो कार्यसूची हो।

अक्टोबर ७ को हमलापछि राष्ट्रिय एकताको सन्देश दिन आइजनकोट अन्य विपक्षी नेतासँगै प्रधानमन्त्री नेतन्याहूको युद्ध मामिला हेर्ने मन्त्रिपरिषद्‌मा सहभागी भएका थिए।

तर सन् २०२४ जुनमा उनले पदबाट राजीनामा दिए। हमासले आक्रमणका बेला अपहरण गरेका बन्धकहरूलाई रिहा गराउन नेतन्याहूले पर्याप्त छिटो कदम नचालेको आरोप उनले लगाएका थिए।

"उनकै कार्यकालमा महिला र बालबालिकाको अपहरण भयो। उनीहरूले ती बन्धकलाई मुक्त गराउन आवश्यक कदम जानाजानी चालेनन्," उनले द टाइम्स अफ इजरेलसँग भनेका थिए।

यद्यपि नेतन्याहूले उक्त आरोपलाई पटकपटक अस्वीकार गर्दै आएका छन्।

नेतन्याहूले युद्ध मामिलासम्बन्धी मन्त्रिपरिषद्‌मा सहभागी हुँदा आइजनकोटले गाजामा गरिएका केही मुख्य सैन्य कारबाहीको विरोध गरेको आरोप लगाएका छन्। उनका अनुसार आइजनकोटको रणनीतिले हमासलाई कमजोर बनाउन सक्ने थिएन।

"मलाई याद छ गादी आइजनकोट र अरूले हामी अझै गाजामै रहँदा के भनेका थिए। उनीहरूले केवल एउटा सम्झौता गर्नुपर्ने, बन्धकहरूलाई बाहिर निकाल्नुपर्ने र गाजा छाड्नुपर्ने बताएका थिए अर्थात् पूरै गाजा छाड्नुपर्ने उनीहरूको भनाइ थियो," द टाइम्स अफ इजरेलले नेतन्याहूले जुन महिनामा भएको पत्रकार सम्मेलनमा भनेको जनाएको छ।

नेतन्याहूका अनुसार उक्त रणनीति अपनाइएको भए युद्धका क्रममा इजरेलले हत्या गरेका हमासका शीर्ष अधिकारीहरूसहित "सबै हमास" अझै त्यहीँ रहने थियो जीवित नै रहने थियो र नियन्त्रण कायम राख्ने थियो।

तर हालैको एउटा अन्तर्वार्तामा आइजनकोटले नेतन्याहूको दाबी अस्वीकार गरेका छन्।

उनले नेतन्याहूको मन्त्रिपरिषद्‌मा भएका छलफल र प्रोटोकल सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

चुनाव हुनुभन्दा केही दिनअघि आइजनकोटले आफू निर्वाचन भएमा १८ महिनाभित्र हमासको शासन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

आइजनकोटका प्राथमिकता के हुन्?

इजरेलका एक प्रभावशाली पत्रकार नदभ इएलले आइजनकोटको व्यक्तिगत गुमाइले उनमा "लक्ष्य र मिसनको भावना" भरिएको बताएका छन्।

त्यस्तो मिसन केवल उनको पार्टीले संसद्‌मा धेरै सिट ल्याउने र अहिलेको प्रधानमन्त्रीलाई हटाउने मात्रै नभएको उनले बताए।

नेतन्याहूजस्तै आइजनकोट पनि गाजामा हमास हुन नहुने भविष्यको योजनामा सहमत रहेको बताए।

"उनका छोरा हमासले सुरु गरेको युद्धमा हमासद्वारा मारिएका हुन् भन्ने बुझ्न एकदमै महत्त्वपूर्ण छ," इएलले बीबीसीसँग भने।

आइजनकोटको चुनावी अभियानका वाचामध्ये एउटा अक्टोबर ७ को हमलामाथि अनुसन्धान गर्नु हो, जसमा इजरेली सरकारको सम्भावित विफलतालाई पनि हेरिनेछ।

देशका थुप्रै सञ्चारमाध्यमहरूले नेतन्याहूलाई संयुक्त अरब एमिरेट्स र इजिप्टका अधिकारीहरूले गाजाबाट हुने सम्भावित हमलाबारे चेतावनी दिएको बताए।

प्रधानमन्त्रीले भने त्यसो आरोप अस्वीकार गर्दै त्यस्तो दाबी गर्ने इजरेली पत्रिकाहरूलाई मुद्दा हाल्ने बताएका थिए।

आफ्नो १०बुँदे कार्यक्रममा आइजनकोटले देश छोडेर जाने उच्च सिप तथा दक्षता भएका इजरेली नागरिकहरूको सङ्ख्या नियन्त्रण गर्न र नयाँ आप्रवासीहरूको आगमनलाई प्रोत्साहन दिन आपत्कालीन कार्यक्रम सुरु गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उनले अति रूढिवादी यहुदी समुदाय र अरब इजरेलीहरूलाई दिइँदै आएको अनिवार्य सैन्य सेवाबाट छुट दिने व्यवस्थाको अन्त्य गर्न पनि चाहेका छन्।

सामान्य पृष्ठभूमि

इजरेलको राजनीतिक शक्तिका मुख्य केन्द्रहरू जेरुसलेम र तेल अभिभबाट निकै टाढा रहेका दुई सहर टाइबिरियसमा जन्मिएका र एलातमा हुर्किएका आइजनकोट सन् १९५० को दशकमा इजरेलमा बसाइँ सरेका सीमित आर्थिक स्रोत भएका मोरोक्कोका आप्रवासीका छोरा हुन्।

मध्यपूर्व र उत्तर अफ्रिकी देशहरूबाट आएका यहुदी समुदायलाई मिज्राही भनिन्छ। अहिलेसम्म कुनै पनि मिज्राही समुदायका व्यक्ति इजरेलका प्रधानमन्त्री बनेका छैनन्। यद्यपि यो समुदायका राजनीतिज्ञहरूले विगतमा प्रधानमन्त्री बन्ने प्रयास गरेका छन्।

"मेरा आमाबुवा मोरक्कोबाट बसाइँ सरेर आउनुभएको हो। म उहाँहरू र आफ्नो पुर्ख्यौली पृष्ठभूमिप्रति गर्व गर्छु। तर सबैभन्दा पहिले हामीले आफू इजरेली भएकोमा गर्व गर्न सकेको भए मलाई खुसी लाग्ने थियो," आइजनकोटले यो वर्ष सुरुतिर एउटा टिभी अन्तर्वार्तामा भनेका थिए।‍

सैन्य जीवन

आइजनकोटले आफू १८ वर्ष हुँदा सेनामा भर्ती भएका थिए र ४० वर्ष सेवा गरे। सन् २०१५ देखि २०१९ सम्म इजरेलको सेनाका प्रमुख बने।

आइजनकोटलाई प्राय: नेतन्याहूको विपरीत स्वभावका व्यक्तिका रूपमा व्याख्या गरिन्छ। उनी सञ्चारमाध्यमको आकर्षण र चर्चाको केन्द्रमा रहन चाहँदैनन् र प्रभावशाली राजनीतिक वक्ताका रूपमा पनि चिनिँदैनन्।

बिग्रिएको सम्बन्ध सुधार्न मद्दत पुर्‍याउला?

आइजनकोटको जीतले के इजरेल र अन्तर्राष्ट्रिय समुदायबीच बिग्रिएको सम्बन्ध सुधार्न मद्दत पुर्‍याउला?

इजरेली अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ प्राध्यापक योशी मेकेलबेर्गले बीबीसीसँग बोल्दै त्यो सम्भावना रहेको बताए।

तर उनले यसलाई लिएर रातारात परिवर्तन हुने आशा नगर्न चेतावनी पनि दिएका छन्। साथै नेतन्याहूलाई हटाउँदैमा इजरेलको तर्फबाट अन्तर्राष्ट्रिय समुदायप्रति सद्भाव देखिने सुनिश्चित नहुने उनको भनाइ छ।

प्राध्यापक मेकेलबेर्गले भने, "मलाई लाग्दैन कि आइजनकोटसहित कुनै पनि विपक्षी दलले नेतन्याहूको स्पष्ट विकल्प प्रस्तुत गरेका छन्।"

"यदि आइजनकोटले जिते उनले वेस्ट बैङ्कमा रहेको यहुदी बस्तीहरूका सम्बन्धमा निर्णायक कदम चाल्नुपर्ने छ र गाजाको अवस्था सुधार गर्नुपर्ने छ," प्राध्यापक मेकेलबेर्गले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।