अरू ग्रहमा सूक्ष्मजीव हुने वा पृथ्वीबाट फैलिने सम्भावना कति, के तिनले हामीलाई बिरामी पार्न सक्छन्

अन्तरिक्षयात्री र ठूलो पारिएका सूक्ष्मजीवको साङ्केतिक तस्बिर
Published
पढ्ने समय: ६ मिनेट

नासाको 'पर्सिभिअरन्स रोभर'ले मङ्गल ग्रहमा चट्टानका नमुनाहरू सङ्कलन र विश्लेषण गरिरहेको छ।

खगोलशास्त्रीहरूले पृथ्वीको जस्तै वातावरण हुन सक्ने ग्रहहरूको खोजी गर्न ब्रह्माण्डको अध्ययन गर्दै आएका छन्।

हामीले आकाशगङ्गाभित्र टाढा रहेका ग्रहहरूबाट आउन सक्ने रेडिओ सङ्केतहरू पनि सुन्ने गरेका छौँ।

यी जटिल अभियानहरूको एउटा साझा उद्देश्य छ - "पृथ्वीभन्दा बाहिर जीवको अस्तित्वमा थियो कि थिएन वा रहन सक्छ कि सक्दैन" भन्ने पत्ता लगाउनु।

मानवजाति दशकौँदेखि पृथ्वीबाहिर जीवन छ कि छैन भन्ने पत्ता लगाउने प्रयासमा छ।

कुनै दिन 'एलिअन' अर्थात् पृथ्वीबाहिरका जीवहरू फेला परे भने पनि ती चलचित्र देखाइने हरिया रङका 'एलिअन'जस्ता नहुन सक्छन्।

खगोलजीववैज्ञानिक तथा लेखक डा मिशेल मुसिलोभा भन्छिन्, "तिनीहरू सम्भवतः सूक्ष्मजीव हुन सक्छन्।"

उनले नासा र युरोपेली अन्तरिक्ष निकायजस्ता संस्थाहरूसँग मिलेर अनुसन्धान गरेकी छन्।

डरलाग्दो अवस्था

क्यामरा, पाङ्ग्रा र अन्य उपकरणजडित रोभरको फोटो
तस्बिरको क्याप्शन, सन् २०२१ मा नासाको पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहमा अवतरण गरेको थियो। नमुना सङ्कलन गरेर त्यहाँ कुनै समयमा जीवको अस्तित्व थियो कि थिएन भन्ने जाँच्नु उक्त यानको लक्ष्य थियो

अन्तरिक्षमा सूक्ष्मजीवहरू फेला परे भने के तिनले हामीलाई बिरामी पार्न सक्छन्?

अथवा हामीले अन्तरिक्षको यात्रा गर्दा के हामीले आफूसँगै पृथ्वीबाट सूक्ष्मजीवहरू लैजाँदै त हुँदैनौ?

मुसिलोभाले बीबीसीको पड्कास्ट 'क्राउडसाइन्स'सँग कुरा गर्दै भनिन्, "ब्याक्टेरियाजस्ता साधारण जीव नै अन्तरिक्षको प्रतिकूल वातावरणमा बाँच्न सक्ने सबैभन्दा बढी सम्भावना भएका जीव हुन्।"

उनका अनुसार पृथ्वीमा पाइने केही ब्याक्टेरिया अन्तरिक्षमा लामो समयसम्म जीवित रहन सक्छन् किनभने तिनमा 'स्पोर' बन्ने क्षमता हुन्छ। यो निष्क्रिय अवस्था हो। यस्तो अवस्थामा तिनले विकिरणको असर पनि सहन सक्छन्।

उनी भन्छिन्, "यी जीवहरूले आफ्नो कोषभित्र एउटा बाक्लो सुरक्षात्मक खोल तयार गर्छन्। त्यो प्रक्रियामा डीएनए निकै कसिएर बस्छ र विशेष प्रकारका प्रोटीनद्वारा सुरक्षित रहन्छ।"

"यी प्रोटीनहरूले डीएनएलाई आफ्नो स्थानमा स्थिर राख्छन् र बचाउँछन्। नत्र सामान्य अवस्थामा विकिरणले डीएनएलाई टुक्राटुक्रा पारिदिन सक्छ।"

मुसिलोभाका अनुसार ब्याक्टेरियाका 'स्पोर' अर्थात् बीजाणुहरू अन्तरिक्षमा हजारौँ वर्षसम्म बाँच्न सक्ने सम्भावना हुने मान्यता पनि छ।

तर वैज्ञानिकहरूले यस्ता जीवको परीक्षण लामो समयसम्म गरिनसकेका हुनाले यी अहिलेसम्म काल्पनिक सिद्धान्त मात्र हुन्।

अन्तरिक्षदेखि पृथ्वीसम्म

अन्तरिक्षमा हुन सक्ने सूक्ष्मजीव यताबाट गएका मानिससँग पृथ्वीमा आइपुग्यो भने के हुन्छ? वैज्ञानिकहरूले त्यसको उत्तर खोज्नुपर्ने हुन्छ।

त्यसो हुनुलाई 'ब्याक्‌वर्ड कन्ट्यामिनेशन' अर्थात् अन्तरिक्षबाट आएको प्रदूषण भनिन्छ। त्यसो भयो भने मानिसलाई हानि पुग्न पनि सक्छ। तर के तिनले हामीलाई बिरामी बनाउन सक्छन् त?

यस अघि विशेषज्ञहरूले मङ्गल ग्रहको सतहबाट ल्याइने नमुनाले पृथ्वीमा हानि पुर्‍याउने जोखिम "अत्यन्त न्यून" रहेको बताएका थिए। तर मुसिलोभाका अनुसार अन्तरिक्ष निकायहरूले सम्भावित जोखिमलाई गम्भीर रूपमा लिने गरेका छन्।

उदाहरणका लागि, अहिले स्थगित गरिएको नासा र इसाको संयुक्त कार्यक्रम 'मार्स स्याम्पल रिटर्न'मा जोखिम देखा परेमा त्यसको सामना गर्नका लागि विशेष आकस्मिक कार्य योजना समेत तयार गरिएको थियो।

उनी भन्छिन्, "त्यसरी ल्याइने नमुनाहरू सुरक्षित रूपमा भण्डारण गर्न र परीक्षण गर्न विशेष प्रयोगशाला बनाउने योजना बनाइएको थियो।"

रातो ग्रह मङ्गल
तस्बिरको क्याप्शन, वैज्ञानिकहरूले मङ्गल ग्रहबाट ल्याइएका नमुनाले पृथ्वीमा हानि पुर्‍याउने भन्ने खतरा "असाध्यै न्यून" रहेको बताएका थिए

सिल्भियो सिनिबाल्डी त्यो संयुक्त परियोजनामा प्लानेटरी प्रोटेक्शन अफिसरका रूपमा काम गरेकी वैज्ञानिक हुन्।

उनका अनुसार वैज्ञानिकहरूले मङ्गल ग्रहबाट ल्याइने नमुनालाई मात्र सम्भावित जोखिमका रूपमा हेरेका थिएनन्।

सिनिबाल्डी भन्छिन्, "हामीले अन्तरिक्षयानको बाहिरी भागमा टाँसिन सक्ने कणहरूलाई पनि ध्यानमा राखेका थियौँ।

उनले थप स्पष्ट पार्दै भनिन्, "यस्ता कणहरूलाई पृथ्वीको वायुमण्डलको नजिक समेत पुग्न नदिने हाम्रो लक्ष्य थियो।"

अर्थात् मङ्गल ग्रहबाट पृथ्वीमा कुनै अज्ञात जैविक पदार्थ वा सूक्ष्मजीव अन्जानमै पनि प्रवेश नगरून् भनेर अन्तरिक्ष निकायहरूले नमुना सङ्कलनदेखि पृथ्वीमा ल्याउने प्रक्रियासम्मका सबै चरणमा कडा सुरक्षा उपायहरू अपनाउने योजना बनाएका थिए।

के हामीले अन्तरिक्षलाई दूषित बनाउन सक्छौँ

अमेरिकास्थित पिट्स्बर्ग विश्वविद्यालयकी सूक्ष्मजीववैज्ञानिक तथा नासाकी भूतपूर्व अन्तरिक्षयात्री डा केट रुबिन्स भन्छिन्, "यदि सूक्ष्मजीवहरू अन्तरिक्षमा बाँच्न सक्छन् भने हामीले आफूसँगै अन्तरिक्षमा के कस्ता जीवाणुहरू लगिरहेका छौँ भन्ने विषयमा पनि सोच्नुपर्ने हुन्छ।"

रुबिन्सका अनुसार अन्तरिक्षयात्रा गर्न जाँदा पृथ्वीवासीले आफूसँग विभिन्न सूक्ष्मजीवहरू लैजान्छन्।

सूक्ष्मजीवहरूमा आफू वरिपरिको वातावरण हेरेर तदनुरूप प्रतिक्रिया दिन सक्ने क्षमता हुन्छ।

उनी भन्छिन्, "तनावको अवस्थाप्रति सूक्ष्मजीवहरू निकै संवेदनशील हुन्छन्। अन्तरिक्षयात्रा तथा सूक्ष्म गुरुत्वाकर्षणजस्ता वातावरण विभिन्न प्रकारका तनावले भरिएको हुन्छ।"

अध्ययनहरूले सूक्ष्म गुरुत्वाकर्षणको स्थितिमा केही ब्याक्टेरियामा विषाक्ततासँग सम्बन्धित जीनहरू सक्रिय हुन सक्छन् भन्ने देखाएका छन्। अर्थात् तिनमा रोग उत्पन्न गर्ने क्षमता बढ्न सक्छ।

यसलाई रुबिन्स चिन्ताजनक विषय मान्छिन्।

अन्तरिक्षको हिँडाइ पूरा गर्दै गरेका अन्तरिक्षयात्री उनको पछाडि निलो रङको पृथ्वी देखिन्छ
तस्बिरको क्याप्शन, अन्तरिक्ष उडानमा जाँदा अन्तरिक्षयात्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने पुष्टि भइसकेको छ

मुसिलोभाका अनुसार सूक्ष्मजीवहरूलाई अन्तरिक्षमा पुर्‍याउनु वैज्ञानिक अनुसन्धानका लागि पनि खतरा हुन सक्छ।

किनभने त्यसो हुनु भनेको वैज्ञानिकहरूले अध्ययन गर्न खोजिरहेको वातावरणलाई आफैँले दूषित बनाउन पुगेको हुन जान्छ।

उनी भन्छिन्, "हामीले मङ्गल ग्रहमा कुनै बेला जीवनका लागि अनुकूल अवस्था थियो कि थिएन भन्ने अध्ययन गर्न अनुसन्धान गर्न विभिन्न यानहरू पठाइरहेका छौँ।

"केही सूक्ष्मजीवहरू पृथ्वीबाट 'लिफ्ट' पाएर मङ्गल ग्रहसम्म पुग्न सफल भएको हुन सक्ने लगभग निश्चित छ। … त्यसैले यदि हामीले मङ्गल ग्रहमा जीवन फेला पार्‍यौँ भने सबैभन्दा पहिले त्यो मङ्गल ग्रहकै हो वा पृथ्वीबाट पुगेको प्रदूषण हो भन्ने सुनिश्चित गर्नुपर्ने हुन्छ।"

सिनिबाल्डीका अनुसार त्यस्ता खतरा कम गर्न अन्य ग्रहमा पृथ्वीका सूक्ष्मजीवहरू फैलिन दिनु हुँदैन।

यो प्रयासमा अन्तरिक्षयानको डिजाइनले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।

युरोपेली अन्तरिक्ष एजेन्सी इसाले सन् २०२८ मा प्रक्षेपण गर्ने योजना गरेको एक्सोमार्स रोभर 'रोज्लिन्ड फ्र्याङ्क्लिन' लाई अन्तरिक्ष दूषित पार्ने जोखिम न्यूनीकरण गर्ने गरी डिजाइन गरिएको छ।

इसाका अनुसार यो रोभर अत्यन्त सफा (अल्ट्राक्लीन) वातावरण मा बनाइएको थियो। ब्याक्टेरियाको सङ्ख्या न्यून बनाउन 'ड्राइहीट माइक्रोबिअल रिडक्शन', अल्ट्राभायोलेट विकिरण र गामा विकिरण लगायतका विधि प्रयोग गरिएको छ। सूक्ष्मजीवहरूलाई पूर्ण रूपमा हटाउन भने सम्भव हुँदैन।

एक्सोमार्सका इन्जिनिअर पोल मिचम भन्छन्, "पूरै रोभरको सतहमा १०,००० भन्दा कम ब्याक्टेरियल स्पोर (बीजाणु) हुनुपर्ने लक्ष्य राखिएको थियो। सामान्यतया त्यति स्पोरहरू सियोको टुप्पोको आठौँ भागजत्रो सानो क्षेत्रमा पाइन्छ।"

"हामीले त्यो निर्धारित सङ्ख्याको केवल १० प्रतिशत मात्र फेला पार्‍यौँ।"

यो किन महत्त्वपूर्ण छ

यसै वर्षको अगस्ट महिनामा नासाका वैज्ञानिकहरूले पृथ्वीमा पाइने केही सूक्ष्मजीवहरू चन्द्रमाको दक्षिणी ध्रुवमा छाया पर्ने खोँच र कुनाकाप्चामा जीवित रहन सक्ने पत्ता लगाएका थिए।

त्यसैकारण अन्तरिक्षमा सूक्ष्मजीवहरूले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने विषयलाई अझ गहिरो रूपमा बुझ्नुपर्ने आवश्यकता देखिएको वैज्ञानिकहरूले बताएका छन्।

सूक्ष्मजीवहरू अन्तरिक्षमा जीवित रहन सक्ने, वा कतिपय अवस्थामा अझ बढी आक्रामक बन्न सक्ने सम्भावना, साथै अन्तरिक्ष यात्राले मानिसको प्रतिरोध प्रणालीलाई कमजोर बनाउन सक्ने तथ्यलाई हेर्दा यस्ता जीवहरूले अन्तरिक्षयात्रीहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छन्।

यसले अन्तरिक्ष अभियानहरूको सफलतामा समेत असर गर्न सक्छ।

मानिसहरूले पृथ्वीभन्दा धेरै टाढासम्म र लामो अवधिका अन्तरिक्ष यात्रा गर्ने योजना बनाउँदै जाँदा यी चुनौतीहरू अझ टड्कारो बन्दै गएका छन्।

उदाहरणका लागि, यदि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका कुनै अन्तरिक्षयात्री बिरामी भए भने उनलाई उपचारका लागि २४ घण्टाभित्र पृथ्वीमा फर्काउन सकिन्छ। तर यदि त्यही समस्या चन्द्रमामा भयो भने पृथ्वीमा ल्याउन नै केही दिन लाग्न सक्छ।

डा केट रुबिन्स भन्छिन्, "केही हुँदैन होला जस्तो लाग्न सक्छ तर यदि कसैलाई गम्भीर सङ्क्रमण भएको छ भने त्यो वास्तवमै ठूलो समस्या बन्न सक्छ।"

उनका अनुसार अन्तरिक्ष अन्वेषणका नयाँ चरणहरूमा केवल रकेट र प्रविधि मात्र होइन, सूक्ष् जीवहरू र मानव स्वास्थ्यबीचको सम्बन्धलाई पनि गम्भीर रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता छ।

किनकि भविष्यमा चन्द्रमा, मङ्गल ग्रह वा अझ टाढाका गन्तव्यतर्फ हुने लामो यात्राहरूमा यिनै अदृश्य सूक्ष्मजीवहरू मानव अभियानका सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक बन्न सक्छन्।

बीबीसी विश्व सेवाको पड्कास्ट 'क्राउडसाइन्स'मा आधारित रिपोर्ट। डेजी स्टीफन्सको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।