'क्षेप्यास्त्र खसे जस्तै': फ्लोरिडामा तीव्र गतिमा आकाशबाट खसेको जेट सडकमा जोतिँदा ९ जनाको मृत्यु

विमान जमिनमा जोतिएपछि बनेको खाडल र वरिपरि आगोका लप्का
Published
पढ्ने समय: ३ मिनेट

संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा आइतवार एउटा जेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको अमेरिकाका यातायातमन्त्रीले बताएका छन्।

उक्त दुर्घटना पाम बीच काउन्टीको क्रेस्टहेभननजिकै स्थानीय समयानुसार १२ः५० ईएसटीमा भएको हो। सो स्थान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रिसोर्ट मार-ए-लागोबाट १४ किलोमिटर टाढा छ।

दुर्घटनापछि खिचिएको तस्बिरमा एउटा आवासीय क्षेत्रको सडकमा खाडल परेको, आगोका लप्काहरू अनि कङ्क्रिटका टुक्राहरू र 'लिअरजेट ६०' विमानका भग्नावशेष छरिएको देखिन्छ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएका अनुसार उक्त विमान टेक्ससको अस्टिनबाट बहामसका लागि उडेको थियो।

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित विवरणहरू र उडान विश्लेषणका अनुसार जमिनमा दुर्घटनाग्रस्त हुनुअघि उक्त विमान तीव्र गतिमा झरेको देखिएको थियो।

विमानचालकले के भने

फ्लोरिडामा विमान खसेपछि बन्द गरिएपछिको सडक

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार दुर्घटना हुनुभन्दा केही समयअघि रेकर्ड गरिएको एअर ट्राफिक कन्ट्रोलको अडिओमा विमान प्रतिमिनेट १०,००० फीटको गतिमा तल झर्दै गरेको विमानचालकले बताएको सुन्न सकिन्छ।

"हामी 'ओभरस्पीड'को स्थितिमा छौँ र प्रतिमिनेट २०,००० फीटको गतिमा तल झर्दै छौँ," त्यसपछि आपत्कालीन स्थिति घोषणा गर्दै उनी चिच्याएको सीबीएसले जनाएको छ।

"हाम्रो दुर्घटना हुँदै छ...। हामीसँग [जोगिन] समय छैन," उनले टावरलाई भने।

सामाजिक सञ्जालमा प्रेषित नगरिएको तर आधिकारिकता पुष्टि नगरिएको भिडिओमा दुर्घटना हुँदाको क्षणको दृश्य देखिन्छ।

ड्याश क्यामराबाट खिचिएको जस्तो उक्त भिडिओमा आवासीय क्षेत्रको सडकमा सवारीसाधनहरू गुडिरहेका बेला एउटा विमान जमिनमा झन्डैझन्डै ठाडो गरी जोतिएको र त्यसपछि ठूलो आगोको मुस्लो निस्किने गरी विस्फोटन भएको देखिन्छ.

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले पत्रकार सम्मेलनमा उक्त भिडिओ निकै "विचलित पार्ने खालको" भएको बताए। "यो आकाशबाट क्षेप्यास्त्र खसेको जस्तो, ठूलो विस्फोट भएको र चारैतिर भग्नावशेष छरिए जस्तै देखिन्छ।"

६०० मानिसलाई अन्यत्र सार्नुपर्‍यो

फ्लोरिडामा विमान दुर्घटना भएपछि आपत्कालीन सेवाका लागि खटेका सवारीसाधनहरू र सडकमा उभिएका एक कर्मचारी

उक्त विमानमा सवार व्यक्तिहरूको पहिचान अझै खुलिसकेको छैन।

"अहिलेको अवस्थामा जमिनमा रहेका कोही व्यक्ति पनि घाइते वा मृत भएको कुनै खबर आएको छैन," डिसान्टिसले भने।

यातायातमन्त्री सीन डफीले उक्त दुर्घटनालाई "भीषण दुर्घटना" को सङ्ज्ञा दिँदै न्याश्नल ट्रान्स्पोर्टेशन सेफ्टी बोर्डलाई आफ्नो अनुसन्धानमा सहयोग गर्न एफएएले घटनास्थलमा आफ्नो टोली पठाउन लागेको बताए।

पाम बीच काउन्टी फायर रेस्क्यूले यसलाई "सामूहिक हताहतको घटना" घोषणा गरेको छ।

पाम बीच काउन्टी शेरिफको कार्यालयका अनुसार दुर्घटनास्थल विभिन्न व्यापारव्यवसाय र खानपिन गर्ने स्थानहरू भएको ६ लेनको सडक 'मिलिटरी ट्रेल'मा भएको हो।

पत्रकार सम्मेलनमा डिसान्टिस र स्थानीय अधिकारीहरूले नजिकैको एउटा बस्तीबाट ६०० स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको बताए।

उनीहरूका अनुसार दुर्घटनाका कारण खानेपानीको आपूर्ति गर्ने पाइपलाइनसहितका पूर्वाधारहरूमा ठूलो क्षति पुगेको र उक्त सडक खुल्न कम्तीमा ३० दिन लाग्न सक्छ।

दुर्घटनाको समयमा त्यस क्षेत्रमा आँधीबेहरीको चेतावनी दिइएको थियो भने पत्रकार सम्मेलन हुँदै गर्दा पनि पनि मुसलधारे पानी परेको थियो।

अमेरिकी राष्ट्रपति आइतवार बिहानसम्म मार-ए-लागोमै थिए। तर उक्त दुर्घटना हुनुभन्दा झन्डै एक घण्टाअघि उनी नजिकैको विमानस्थलबाट 'एअर फोर्स वन'मा चढेर अन्यत्र गएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।