अस्ट्रेलियाको डढेलोः न्यू साउथ वेल्समा बस्ने प्रज्ज्वल बराल भन्छन्, सिनेमामा बम पड्किँदा जस्तो दृश्य देखिन्छ

डढेलो
Published

ब्राजिलपछि अहिले अस्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोले संसारभरिबाट मानिसहरूको ध्यान तानिरहेको छ।

अधिकारीहरूका अनुसार सेप्टेम्बरयता डढेलोमा परेर त्यहाँ कम्तीमा २३ जनाको ज्यान गइसकेको छ।

अझै दर्जनौँ मानिस हराइरहेका छन् भने डेढ हजारको सङ्ख्यामा घरहरू डढेलोका कारण ध्वस्त भएका छन्।

दक्षिण-पूर्वी अस्ट्रेलियाका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

प्रधानमन्त्री स्कट मरिसनले देशभरि डढेलो नियन्त्रणमा सघाउनका लागि तीन हजार रिजर्भ फौज परिचालन गरिने घोषणा गरेका छन्।

रक्षामन्त्री लिन्डा रेनोल्ड्सका अनुसार अस्ट्रेलियाको इतिहासमा यस्तो गर्न लागिएको यो पहिलो पटक हो।

बीबीसी न्यूज नेपालीका गनी अन्सारीले अस्ट्रेलियामा करिब ११ वर्षदेखि बस्दै आएका नेपालको सिन्धुली जिल्लाका प्रज्ज्वल बरालसँग कुराकानी गरेका छन्।

प्रस्तुत छ अस्ट्रेलियामा जारी विध्वंसकारी डढेलोबारे प्रज्ज्वल बरालका भनाइ उनकै शब्दमाः

प्रज्ज्वल बराल

नेपालमा मेरो पुर्ख्यौली घर सिन्धुली जिल्लामा हो। म अस्ट्रेलियामा बस्न थालेको ११ वर्ष जति भयो।

म अहिले साउथ वेल्स राज्यको साउथ नरामा बस्छु। म बस्ने ठाउँ भनेको प्रशान्त महासागरको तटीय क्षेत्र हो।

मेरो अनुभवमा अस्ट्रेलियामा हरेक गर्मी याममा डढेलो लाग्नु सामान्य प्रक्रियाजस्तै हो।

तर यसपालि निकै ठूलो स्तरमा डढेलो फैलियो। एकदम भयावह नै भयो। म आफैँ बस्न थालेयता यो स्तरको प्राकृतिक प्रकोप मैले देखिएको थिइनँ।

यहीँका मेरा स्थानीय छिमेकीहरूले आफ्नाो जीवनकालमा 'यसअघि कहिल्यै नदेखिएको' डढेलो भनिरहेका छन्।

डढेलो फैलिएको डेढ महिना जति भइसक्यो। तर रोकिने कुनै सङ्केत देखिएको छैन।

पानी परेको पनि धेरै भइसक्यो। खडेरीका कारण हाम्रै 'लन' मा घाँस सुकिसकेका छन्। पहिला प्रायः हरियो हुन्थ्यो, बेलाबेला हामीले पानी हाल्थ्यौँ।

हाम्रो नेपालका गाउँघरमा देखिने सुकेको परालजस्तै घाँस भइसकेको छ। त्यो स्तरको खडेरी छ अहिले।

कहिले पानी पर्ला र यो डढेलो रोकिएला जस्तो भइरहेको छ।

मानवीय क्षति

यहाँ प्रकोप व्यवस्थापन चुस्तदुरुस्त हुने भएकोले होला मानवीय क्षति एकदमै न्यून हुने रहेछ।

हुन त न्यू साउथ वेल्समा नौजना मारिएको खबर छ। तर त्यस्तो मृत्यु आफ्नो सम्पत्ति हामी आफैँ जोगाउँछौँ भनेर मानिसहरू लागेपछि भएको भनिँदैछ।

त्यस्तै डढेलो नियन्त्रणमा लिन प्रयासरत केही अग्निनियन्त्रकहरूको रूख ढल्दा च्यापिएर ज्यान गएको हो।

भन्न खोजेको यहाँ व्यवस्थापन एकदमै चुस्त छ। बेलाबेला पूर्वसूचनामार्फत् मानिसहरूलाई सजग गराउने गरिएको छ।

उदाहरणका लागि हामी बस्ने ठाउँतिर आज विध्वंशकारी स्तरमा डढेलो लाग्ने पहिल्यै अनुमान गरिएको थियो र केही दिन पहिलादेखि नै पूर्वजानकारी गराइएको थियो।

ती प्रयास हुँदा हुँदै विध्वंस रोक्न सकिएको छैन। जनावरहरू त कति मरे, त्यसको हिसाब नै छैन।

अस्ट्रेलिया
तस्बिरको क्याप्शन, साउथ नरामा प्रज्ज्वल बरालको सुत्ने कोठाबाट देखिएको दृश्य

स्थानीय सञ्चारमाध्यममा आए अनुसार अहिलेसम्म १६० ठाउँमा डढेलो लागेको छ र त्यसमध्ये ६० जति नियन्त्रणबाहिर रहेको बताइएको छ।

डढेलो नियन्त्रणमा लागेकाहरूले त्यसको असर न्यूनीकरणमा मात्रै गर्न सकिने भनिरहेका छन्।

म तपाईँलाई के भन्न सक्छु भने यो स्तरको प्राकृतिक प्रकोप नेपालमा भएको भए ठूलो मानवीय क्षति हुन्थ्यो।

केही दिनअघि मात्रै भिक्टोरियाको एउटा ठाउँबाट सेनाले तीन हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो।

प्राकृतिक प्रकोपको चपेटामा परेका मानिसहरूलाई त्यसरी सेनाले उद्धार गरेर स्थानान्तरण गरेको अस्ट्रेलियाकै इतिहासमा पहिलो पटक भनेर स्थानीय सञ्चारमाध्यमले भनिरहेका छन्।

आपत्‌कालीन अवस्था

प्रकोप नियन्त्रणमा लागिरहेको रुरल फायर सर्भिस (आरएफएस) सँग मिलेर स्वयंसेवकहरूले काम गरिरहेका छन्।

आपत्‌कालीन अवस्थाले उनीहरूलाई अहिले प्रहरीलाई भन्दा माथि राखेको छ।

बाहिर निस्कनलाई त्यस्तै कुनै खालको अवरोध छैन, तर मौसम प्रतिकूल रहेको भन्दै सरकारले आवश्यक पर्दा बाहेक यात्रामा ननिस्कन आग्रह गर्ने गरेको छ।

हाम्रो नेपालमा भूकम्पका बेला मूल्य वृद्धि गरिएको र कालोबजारी गरिएको भन्ने समाचार सुनिन्थ्यो। यहाँ त्यस्तो केही छैन।

त्यो हिसाबले जनजीवन सामान्य नै छ, तर मानिसहरूमा त्रासको अवस्था छ।

अहिले म तपाईँसँग कुरा गरिरहँदा पृष्ठभूमिमा दमकलको साइरन बजेको सुन्न सक्नुहुन्छ।

आपसी सहयोग

नेपालबाट हेर्दा यहाँका मानिसहरू आत्मकेन्द्रित होलान्, एकअर्कालाई हेर्न समय हुँदैन भन्ने सोचिन्छ, तर त्यस्तो छैन।

एकअर्कालाई मानिसहरूले सहयोग गरिरहेका छन्। मेरै एक अस्ट्रेलियाली साथीले 'तिमीलाई केही सहयोग चाहिएमा भन, तिमी मकहाँ आउन सक्छौँ' भनेर मेसेज गरे।

मानिसहरूले सक्दो सहयोगका लागि एकअर्कालाई सोधिरहेका हुन्छन्। एकअर्कालाई सहयोग गर्ने भावना उच्च छ।

अस्ट्रेलिया
तस्बिरको क्याप्शन, साउथ नरामा बस्ने प्रमोद अधिकारीले शनिवार बिहान खिचेको तस्वीर

म बसेको ठाउँमा नेपालबाट आएका २० वटा परिवार छौँ। हामीले नि आवश्यक परेको खण्डमा एकअर्कामा आउन भनिरहेका छौँ।

पछिल्लो अवस्थाबारे एकअर्कालाई हामीले ग्रुप मेसेजमार्फत् जानकारी गराउने गरेका छौँ।

मेरो घरदेखि चार किलोमिटर पर डढेलो लागेको थियो जुन नियन्त्रणमा आइसक्यो। म बसेको ठाउँबाटै मानिसहरूलाई स्थानान्तरण गर्नु परेको छैन।

म बस्ने ठाउँदेखि ८० किलोमिटर टाढा पर्ने बेटम्यान्स बे भन्ने ठाउँमा यति ठूलो स्तरमा डढेलो फैलिएको छ कि साउथ नराको हाराहारीमा पुगिसेको छ।

सिनेमामा जस्तो दृश्य

मेरो घरको सुत्ने कोठाबाट हेर्दा सय मिटर पनि टाढा डढेलो छैन जस्तो लाग्छ, दिउँसै रात परेजस्तो देखिन्छ।

हामीले सिनेमामा हेर्नेजस्तो आकाश रातो र कालो देखिन्छ। सिनेमामा बम पड्किँदाको दृश्य कल्पना गर्नूस्, त्यस्तै देखिन्छ।

अस्ट्रेलिया
तस्बिरको क्याप्शन, साउथ नरामा बस्ने प्रमोद अधिकारीले शनिवार बिहान खिचेको तस्वीर

हावाले दिशा परिवर्तन गर्दा त्यही अनुसार आगो फैलिने डर हुँदोरहेछ।

हामी अझै सङ्कटकै अवस्थामा छौँ भन्दा हुन्छ। अबको दुई-तीन दिनपछि पानी पर्ने पूर्वानुमान गरिएको छ।

त्यसो भयो भने डढेलो नियन्त्रणमा आएर केही राहत हुन्छ कि भन्ने आस छ।