नेपालमा बाङ्ग्लादेशी नागरिकको गिरफ्तारी किन बढ्दै छ

Published
पढ्ने समय: ४ मिनेट

नेपालमा विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न भएको अभियोगमा पक्राउ पर्ने र निकाला हुनेहरूमा चिनियाँपछि बाङ्ग्लादेशी नागरिक सबैभन्दा अगाडि रहेको विभिन्न सरकारी तथ्याङ्कहरूले देखाएका छन्।

अधिकारीहरूका अनुसार पछिल्ला दिनहरूमा बाङ्ग्लादेशका नागरिकहरूको गिरफ्तारी पनि बढेको छ। सबैभन्दा ताजा घटनामा कार्तिक १६ गते ५ जना विदेशी नागरिक काठमाण्डूमा पक्राउ परेका छन्।

उनीहरूलाई थप कारबाहीको निम्ति अध्यागमन विभागमा बुझाइएको छ। तीमध्ये ४ जना बाङ्ग्लादेशी र एक जना भारतीय नागरिक रहेको विभागले जनाएको छ।

त्यसको एक साताअघि पनि दुई जना बाङ्ग्लादेशी पक्राउ परेको प्रहरीको तथ्याङ्क छ।

"पछिल्ला दिनहरूमा निष्कासनमा पर्ने बाङ्ग्लादेशी नागरिकहरूको सङ्ख्या बढेको देखिन्छ." विभागकी प्रवक्ता गीता घिमिरे भन्छिन्, "अहिले चिनियाँपछि बाङ्ग्लादेशीहरूको सङ्ख्या धेरै छ।"

विभागका अनुसार पछिल्लो पटक गिरफ्तारहरूको बयान लिने काम भइरहेको छ भने त्यसअघि पक्राउ परेका दुई जनालाई नेपालबाट निष्कासन गर्ने प्रक्रियाको निम्ति गृहमन्त्रालयमा पठाइएको छ।

बाङ्ग्लादेशको दूतावाससँग विवरणको खोजी

अध्यागमन विभागका अनुसार पछिल्लो १० महिनामा ८६ जना बाङ्ग्लादेशीहरू निष्कासन गरिएका छन्। जबकि पछिल्लो साउनदेखि असोजसम्म ४ महिनामै निष्कासनमा पर्ने बाङ्ग्लादेशीहरूको सङ्ख्या ५१ छ।

अहिले पनि अध्यागमनको हिरासतमा १८ जना छन्। तीमध्ये १२ जना कागजात पुष्टि गर्न र थप विवरण माग गर्दै काठमाण्डूस्थित बाङ्ग्लादेशको राजदूतावासलाई आग्रह गरिएको बताइएको छ।

नेपालमा पछिल्ला केही वर्षयता गैरकानुनी काममा चिनियाँहरूको संलग्नता धेरै पाइने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ। उनीहरू सामूहिक रूपमै त्यस्ता काममा संलग्न रहेको विवरणहरू प्रकाशमा आउने गरेका छन्।

बाङ्ग्लादेशीहरूको बढ्दो गिरफ्तारीसँगै उनीहरू पनि सङ्गठित रूपमै गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशङ्कामा प्रहरीले त्यसतर्फ पनि ध्यान केन्द्रित गरेको एक जना प्रहरी नायब उपरीक्षक (डीआईजी) ले जानकारी दिए।

उनले भने, "उनीहरूको आवागमन बढेसँगै आपराधिक क्रियाकलापमा संलग्नता पनि निकै बढेको छ, उनीहरूको सङ्गठित संलग्नताले गर्दा पनि प्रहरीले उनीहरूलाई नोटिसमा राख्ने गरेको हो।"

प्रहरी प्रधान कार्यालयका ती डीआईजीले उपलब्ध गराएको बुधवारसम्मको विवरण अनुसार पछिल्लो एक वर्षमा हवाई मार्गबाट बाङ्ग्लादेशी नागरिक १,१७,६८२ जना नेपाल आवतजावत गरेको देखिन्छ।

ती मध्ये ५८,८७९ जना नेपाल भित्रिएको र ५८,८०३ फर्किएका छन्। निष्कासनमा परेकाहरूको तथ्याङ्क पनि यसमा गणना गरिएको छ।

सशस्त्र प्रहरीको सक्रियता

रोहिंज्या मुस्लिमहरू पनि बाङ्ग्लादेशबाट भारत हुँदै नेपाल भित्रिएकाले सुरक्षा सतर्कताको परिणाम स्वरूप बाङ्ग्लादेशी नागरिक निगरानीमा परेको अधिकारीहरू बताउँछन्।

सशस्त्र प्रहरीले समेत काठमाण्डूमा गरेको गिरफ्तारी त्यसकै परिणाम भएको अधिकारीहरूले जनाएका छन्।

सामान्यतया सिमाना बाहेक भित्री भूभागमा नेपाल प्रहरीले पक्राउ गर्ने गरेकोमा काठमाण्डूमा सशस्त्र प्रहरी बलले कार्तिक १६ गते ५ जना विदेशीलाई गिरफ्तार गरेको हो।

औपचारिक रूपमा उसले गिरफ्तारहरूको राष्ट्रियता खुलाएको थिएन।

"विशेष सूचनाका आधारमा आफ्नो सङ्गठनको गुप्तचर निकाय र नं. १८ गण मुख्यालयबाट खटिएको संयुक्त टोलीले काठमाण्डूका विभिन्न स्थानमा गैरकानुनी रूपमा लुकिछिपी बस्दै आएका ५ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको" उसले जनाएको छ।

सशस्त्र प्रहरी बलका एक अधिकारीका अनुसार एक जना आफ्नै देशको नागरिकलाई बन्धक बनाएको अभियोगमा मुद्दा खेपिरहेका एक बाङ्ग्लादेशी पनि पक्राउ परेका छन्।

उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको बताइएको छ।

त्यस्तै गिरफ्तार एक जनाको कोठाबाट बाङ्ग्लादेशी नागरिकका १४ वटा राहदानी र आर्थिक कारोबार उल्लेख रहेका डायरी पनि बरामद गरिएको ती अधिकारीले बताए। तर पछि चौधरी थरका ती व्यक्तिसँग भारतीय राहदानी फेला परेको बताइएको छ।

कस्ता कस्ता गैरकानुनी काम?

बाङ्ग्लादेशी नागरिकहरू मूलतः पर्यटक भिसामा नेपाल आएर गैरकानुनी क्रियाकलापमा संलग्न हुने गरेको अधिकारीहरू बताउँछन्।

सशस्त्र प्रहरीले एक महिनाअघि पनि १० जना बाङ्ग्लादेशीहरूलाई पक्राउ गरेको थियो। अवैध रूपमा नेपाल प्रवेश गरेर पस्मिना उद्योगमा काम गरिरहेका बेला पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसअघि "सन्दिग्ध गतिविधिमा संलग्न" रहेको आशङ्कामा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भदौ अन्तिम साता १० जनालाई पक्राउ गरेको थियो। उनीहरू काठमाण्डूका ठमेलस्थित विभिन्न होटलहरूमा गैरकानुनी रूपमा बसिरहेको अभियोगमा पक्राउ गरिएको हो।

त्यस्तै जेठमा १५ र असारमा २४ जना बाङ्ग्लादेशी पक्राउ परेका थिए। सन्दिग्ध गतिविधिमा संलग्न र गैरकानुनी रूपमा काम गरिरहेको अभियोगमा उनीहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै बाङ्ग्लादेशीहरू नागरिकमाथि निगरानी बढाएको प्रहरीले एक महिनाअघि ललितपुरबाट तीन जना बाङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेको थियो।

ललितपुर प्रहरीले बीबीसीलाई दिएको जानकारी अनुसार नियमित जाँचका क्रममा उनीहरू पक्राउ भएको र अनुमतिभन्दा बढी विदेशी मुद्रा भेटिएपछि उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको थियो।

पछि उनीहरू काठमाण्डूको एउटा अस्पतालमा उपचारमा आएको देखिएको एक अधिकारीले जानकारी दिए।

"विभिन्न राहदानी र व्यक्तिहरूबीचको सम्बन्ध स्थापित गर्ने काम भयो," ती अधिकारीले भने, "पछि अस्पतालले पनि उपचारमा आएको कुरा पुष्टि गरेको थियो।"

के कारबाही हुन्छ?

अधिकारीहरूका अनुसार सामान्यतया बाङ्ग्लादेशीहरू तीन प्रकारका गैरकानुनी काममा संलग्न देखिन्छन्।

"कोही अनुमतिबिना स्थल मार्गबाट प्रवेश गरेर काम गरिरहेका छन्, कोही भिसाको समय सकिएपछि गैरकानुनी रूपमा बसिरहेका छन् र अन्य भिसामा आएर काम गरिरहेकाहरू पनि पाइएका छन्," एक अधिकारीले भने, "उनीहरूको सङ्ख्या धेरै छ र अर्का थरी कानुनी वा गैरकानुनी रूपमा आएर भए पनि आपराधिक क्रियाकलापमा संलग्न पाइएका छन्।"

एक प्रहरी अधिकारीका अनुसार अनलाइन ठगी लगायतमा संलग्न भएकाहरूलाई प्रहरीले नै कानुनी कारबाहीको दायरा ल्याउँछ र कतिपय त्यस्ताहरूको बारेमा अनुसन्धान भइरहेको छ भने कतिपयविरुद्ध मुद्दा पनि दायर गरिएको छ।

अध्यागमन विभागकी प्रवक्ता गीता घिमिरेका अनुसार सुरक्षा निकायबाट हस्तान्तरण गरिएका बाङ्ग्लादेशीहरूलाई निश्चित अवधिसम्म नेपाल प्रवेश गर्न नपाउने गरी कालोसूचीमा राखेर निष्कासन गर्ने गरिन्छ।

"भिसाको म्याद सकिएर बसिरहेकाहरूको पहिचान भएमा भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लिन्छौँ," उनले भनिन्, "त्यसपछि केही वर्ष प्रवेशमा रोक लगाउने गरी कालोसूचीमा राखेर निष्कासन गर्छौँ।"

तर रकम तिर्न नसक्ने कतिपय विदेशीहरू जेल चलान पनि हुने गरेको जानकारहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।