तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मध्यावधि निर्वाचनको नतिजाका कारण ट्रम्पको शक्ति अमेरिकाभित्र 'खुम्चिन सक्छ', तर बाँकी विश्वमा के होला
- Author, जेरमी बोअन
- Role, अन्तर्राष्ट्रिय सम्पादक
- Published
- पढ्ने समय: ५ मिनेट
डोनल्ड ट्रम्प अतिशयोक्तिपूर्ण दाबी गर्छन्। त्यही भएर अमेरिकी मतदाताको ठूलो हिस्साले उनलाई चखाएको विशाल पराजयमा राजनीतिक कर्मको झल्को देखिनु स्वाभाविक हो।
तर उनको राजनीतिक यात्रा शान्त र सहज रूपमा हुने अपेक्षा नगर्दा हुन्छ। अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण गुमाएपछि स्वदेशमा आदेश दिने, राजनीतिक चलखेल गर्ने तथा प्रचलित मान्यताहरू बिथोल्ने उनको क्षमता सीमित हुने छ।
तर देशबाहिर भने अवस्था फरक हुन सक्ने देखिन्छ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति र सेनाको कमान्डर इन चीफको हैसियतमा अमेरिकाको सैन्य शक्ति प्रयोग गर्ने बृहत् शक्तिहरू उनकै हातमा छ।
ट्रम्पका कदम र उनको बारम्बार फेरिने अडानबारे पूर्वानुमान गर्न सजिला छैन। राष्ट्रपतिका रूपमा उनले नीतिहरूमा 'यूटर्न' लिने गरेको पाइन्छ। यद्यपि कतिपय कुरा यस्ता छन् जुन स्थिर रहँदै आएका छन्।
उनी आफूले हरुवा ठानेका व्यक्तिहरूलाई तिरस्कार गर्छन्। अनि उनी आफू हरुवाका रूपमा कहिल्यै देखिन चाहँदैनन्।
मध्यावधि निर्वाचनमा भोगेको ठूलो हारबाट ध्यान अन्यत्र मोड्नका लागि ट्रम्पले विदेशमा कुनै साहसिक कदम चाल्न सक्छन्। आफूलाई निर्णायक र शक्तिशाली राष्ट्रपतिका रूपमा प्रस्तुत गर्न उनले चुनावी पराजयपछि पनि आफू कमजोर नरहेको बरु जितिरहेको देखाउने गरी केही गर्न सक्छन्।
सबै प्रमाणहरू प्रतिकूल रहे पनि ट्रम्पले मतपत्रमा आफू उम्मेदवार नभएकै कारण मात्र चुनावमा पराजित भएको बताइसकेका छन्।
इरान युद्ध
मध्यावधि चुनावअघिका केही सातासम्म अमेरिकी सैनिकहरूको परिचालन र ट्रम्पबाट निरन्तर आक्रामक अभिव्यक्ति आएसँगै अमेरिका पुनः इरानविरुद्ध लडाइँमा होमिन तयार रहेको चर्चा चुलिएको थियो।
मतदानको अघिल्लो साँझ अमेरिकाले खाडी क्षेत्रमा रहेको एउटा इरानी टापुमा सीमित स्तरको बम हमला गरेको थियो।
मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुअघि डेमोक्र्याटिक सीनेटर क्रिस मर्फी इरानविरुद्ध फेरि सुरु हुने युद्धको सम्भावित सैन्य विकल्पबारेका गोप्य ब्रीफिङमा सहभागी भएका थिए।
उनले त्यसबारे विस्तृत विवरण खुलाएनन्। तर उनले ती योजनालाई "बहुलट्ठीपन" को सङ्ज्ञा दिँदै त्यसले "विनाशकारी तनाव" निम्त्याउने चेतावनी दिएका थिए।
अमेरिकीहरूले नागरिक संरचनाहरूमाथि बम प्रहार गर्ने योजना बनाएको अनुमान गरिएको छ।
त्यस्तो कदम 'युद्ध अपराध' मानिन सक्छ। खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदारहरूका त्यस्तै निसानाहरूमा इरानले भीषण आक्रमणमार्फत् त्यस्तो जबाफ दिने सम्भावना रहन्छ। इरानको पहिलो निसाना संयुक्त अरब एमिरेट्स (यूएई) हुन सक्छ। किनभने उक्त मुलुक अमेरिकासँग जत्तिकै इजरेलसँग पनि नजिक छ।
तेहरानको सत्ताले अमेरिकामा भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको छ। होर्मुज जलमार्गमाथिको नाकाबन्दीको असर अमेरिकामा घरेलु राजनीतिक मुद्दा बनेकोमा उसले आफ्नो सन्तुष्टि लुकाएको छैन।
युद्ध र होर्मुज जलमार्गमा मालवाहक पानीजहाजमाथिका आक्रमणले गर्दा पेट्रोलदेखि डीजल र कृषि मलसम्म निरन्तर मूल्यवृद्धि भएको र त्यसले ट्रम्प र रिपब्लिकनहरूलाई क्षति पुर्याएको विषयमा तेहरान जानकार छ।
इरानको संसद्का सभामुख मुहम्मद-बगेर गालिबाफले सामाजिक सञ्जालमा चेतावनी नै दिएका छन्।
उनले लेखेका छन्, "विवेक अथवा बढ्दो जीवनयापनको लागत - अमेरिकीहरूले 'युद्ध चाहिँदैन' भनेका छन् र हामी यो सन्देशलाई अनुमोदन गर्छौँ। यदि अमेरिकी सरकारले आफ्ना जनताको इच्छालाई धोका दिएर अन्तर्राष्ट्रिय स्वार्थ समूह र ब्ल्याक्मेल गर्नेहरूको सेवामा समर्पित भयो भने उसले हाम्रो 'होइन' दु:स्वपनसहित आउने कुरा थाहा पाउनेछ।"
गत साता सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन गर्न सङ्घर्ष गरिरहेका इजरेलका कार्यवाहक प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले तेहरानको इस्लामवादी सत्तालाई ढाल्न आफूले चाहेको दोहोर्याएका छन्।
इजरेल र संयुक्त राज्य अमेरिकाबाट प्राप्त विवरणहरूमा उनले ट्रम्पलाई पुन: युद्धमा फर्किन जोड दिइरहेको उल्लेख छ।
यसअघिको आफ्नो गठबन्धनसँग मिलेर सरकार गठन गर्न नेतन्याहूसँग सांसदहरूको पर्याप्त सङ्ख्या छैन।
तर एउटा ठूलो युद्ध पुन: सुरु भयो र त्यसले निरन्तरता पायो अनि इजरेलीहरू प्रत्यक्ष निसानामा परे भने उनीसँग राष्ट्रिय एकताको सरकार गठन गर्ने नयाँ विकल्प हुन सक्छ। आफ्नो उल्लेख्य राजनीतिक कौशलमा मद्दतले उनले त्यसमाथि प्रभुत्व कायम राख्न सक्छन्।
युक्रेन युद्ध
ट्रम्पले ध्यान दिने अर्को प्रमुख द्वन्द्व भनेको युक्रेन र रुसबीचको लडाइँ हो जुन पहिलो विश्वयुद्धभन्दा लामो समय चलिसकेको छ।
निर्वाचनअघि ट्रम्पले मस्कोमाथिको प्रतिबन्ध हटाउँदै रुसी डीजल खरिद गर्ने सम्झौता गरेका थिए।
अमेरिकी उपभोक्ताहरूले खेप्नुपरेको आर्थिक दबावलाई केही सहज बनाउन सकिन्छ भन्ने ठानेर उनले प्रतिबन्धमाथिको छुटलाई अझ लम्ब्याउन र विस्तार गर्न सक्छन्।
उनमा रुसी बलिस्टिक क्षेप्यास्त्रले निसाना बनाएका युक्रेनी सर्वसाधारण मानिसमाथि परेको खतरनाक दबावप्रति खासै चिन्ता देखिएको छैन।
हाल ती आक्रमणहरूको सङ्ख्या बढेको छ किनभने अमेरिकामा निर्माण भएका र युरोपेली साझेदारहरूको स्रोतमा किएभले प्राप्त गर्नुपर्ने प्रतिरोध प्रणाली युक्रेनलाई आवश्यक रहेको र उसले मागेको स्तरमा प्राप्त गरिरहेको छैन।
क्रेम्लिनका प्रवक्ताले रुसले निर्वाचनको परिणामले ट्रम्पको 'शान्ति स्थापनाको प्रयासलाई' असर नपार्ने अपेक्षा गरेको सुनाएका छन्।
डोनल्ड ट्रम्पले निरन्तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो केही भूभाग छाड्ने गरी रुससँग सहम गर्न बाध्य पार्ने निरन्तर प्रयास गरिरहेका छन्। त्यस्तो सम्झौता किएभका लागि आत्मसमर्पणसरह हुन सक्छ।
ट्रम्पले त्यसलाई आफूले समाधान गरेका र रोकेका युद्धहरूको आफ्नै अविश्वसनीय सूचीमा थप्न चाहेका छन्।
निर्वाचनको पराजयपछि ट्रम्पले जेलेन्स्कीलाई उनले बारम्बार अस्वीकार गरिसकेको प्रस्ताव स्वीकार गर्न अझ दबाव दिन सक्छन्।
ट्रम्पले वाशिङ्टन डीसीमा आफ्ना लागि स्मारकहरू स्थापना गर्ने कामलाई निरन्तरता दिने ठान्न सकिन्छ।
अब उनले देशभित्र र देशबाहिर चाल्ने कदमबारे गरिने भविष्यवाणी गलत साबित हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ। तर निश्चित कुरा के हो भने उनी राष्ट्रपति निवासमा आरामले बसेर आफ्नो कार्यकाल सकिने प्रतीक्षा गर्ने खालका नेता होइनन्।
राष्ट्रपतिका रूपमा आफ्नो कार्यकालभरि डोनल्ड ट्रम्पले शक्तिको सुख लिएका छन् र त्यसलाई प्रयोग गर्न दृढ देखिएका छन्। त्यो स्वभाव बदलिने सम्भावना छैन।
त्यसैले यदि उनले अब अमेरिकालाई पहिलेझैँ हल्लाउन नसके पनि संसारलाई हल्लाउन सक्ने क्षमता आफूमा अझै छ भन्ने देखाउन चाहने सम्भावना प्रबल छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।