तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
किन अचानक असिना पानी पर्यो, कहिलेबाट हुन्छ मौसममा सुधार
बुधवार बिहानसम्म घाम लागिरहेको काठमाण्डू उपत्यकासहित देशका कैयौँ स्थानमा मध्याह्नपछि कतै भेल बग्ने पानी त कतै असिना पानी पर्यो।
भाइटीका लगाउन हिँडेका र लगाएर फर्कँदै गरेका कैयौँ मानिसहरू बीच बाटोमै केही समय रोकिनुपर्ने अवस्था आयो। काठमाण्डूमा ३१.२ मिलिमिटरसम्म वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार भाइटीकाको दिन काठमाण्डू उपत्यका र वरिपरिका पहाडी भूभागसहित कोशी, गण्डकी र लुम्बिनीका पहाडी र हिमाली भूभागमा वर्षा, असिना पानी र हिमपात भएको छ।
बीबीसीले बुधवार अचानक वर्षा हुनुको कारणबारे मौसमविद्हरूलाई सोधेको थियो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार नेपालमा वायुमण्डलको माथिल्लो सतहमा रहेको पश्चिमी वायु चिसो हुँदा असिना पानी र हिमपात भएको हो।
"माथिल्लो वायुमण्डलबाट आउने पश्चिमी वायुले ल्याउने जलवाष्प हाम्रो हिमाली र पहाडी भूभागमा त्यो मिसिँदा वर्षा हुन्छ," भट्टले भने। "अहिले त्यही पश्चिमी वायु यहाँ चिसो भएर वर्षा भएको हो।"
के हो पश्चिमी वायु
एशियाको पश्चिमतर्फ रहेका भूमध्य सागर, क्यास्पिअन सागर तथा नेपालको पश्चिममा रहेको अरब सागरतर्फबाट आउने हावालाई पश्चिमी वायु भन्ने गरिएको छ।
मनसुनी वायु बाहिरिएपछि नेपालको मौसममा हाबी हुने गरेको पश्चिमी वायुले समय-समयमा छिटपुट वर्षा गराउने मौसमविद्हरू बताउँछन्।
वर्षाको समयमा भिजेको नेपालको जमिन मनसुन सकिएपछि लाग्ने घामका कारण तातिँदा स्थानीय वायु पनि आर्द्रतायुक्त बन्ने गरेको छ।
नेपालमै बनेको जलवाष्पयुक्त हावालाई मौसमविद्हरूले स्थानीय प्रणाली भन्ने गरेका छन्। मौसमविद् सिर्जना गिरीका अनुसार पश्चिमी वायुको प्रभाव आंशिक मात्रै भए पनि अहिले स्थानीय प्रणालीसँग त्यो मिसिँदा नेपालमा वर्षा गराएको हो।
मौसमविद्हरूका अनुसार नेपालमा पोस्ट मनसुन अर्थात् मनसुन सकिएपछिका केही महिना पश्चिमी वायु सक्रिय भइहाल्दैन। नेपालमा डिसेम्बरबाट मात्रै पश्चिमी वायु सक्रिय हुने मौसमविद्हरू बताउँछन्।
दुई वर्षअघिको तिहारमा पनि मनसुन बाहिरिएको तीन सातामै तिहारको भाइटीकाबाट नेपालका अधिकांश पहाडी भूभागमा वर्षा भएको थियो।
त्यसबेला पश्चिम बङ्गाल क्षेत्रमा न्यूनचापीय प्रणाली पनि विकसित भएका कारण वर्षा लम्बिएको थियो।
यो पटक अन्य प्रणाली नभएका कारण वर्षा र हिमपातले निरन्तरता नपाउने मौसमविद्हरूले बताएका छन्।
कहिलेबाट सुधार हुन्छ?
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले बिहीवारबाटै मौसममा सुधार हुने पूर्वानुमान गरेका छन्।
"भोलीबाट मौसम सुधार हुँदै जाने देखिन्छ," अधिकारीले भनेका छन्।
बुधवार असिना र पानी परे पनि अबको तीन दिन मौसम सफा नै रहने विभागले जनाएको छ।
तिहारको समयमा वर्षा गराएको मौसमको प्रभाव क्षणिक मात्रै भएका कारण वर्षा गराउने प्रणाली बुधवार रातिबाटै क्रमशः कमजोर बन्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
"यो लगातारको पानी होइन। यो वरिपरिको मौसम बिस्तारै सुधार हुँदै जाने हो। लगातार पानी पर्ने प्रणाली होइन," मौसमविद् गिरी भन्छिन्।
मौसमविद् भट्टका अनुसार मौसम क्रमशः सुधार हुँदै गए पनि यस्तो मौसम प्रणाली निश्चित समयको अन्तरालमा सक्रिय हुनसक्छ। "निरन्तर पानी पर्ने प्रणाली चाहिँ यो होइन," उनले भने।
जल तथा मौसम विज्ञान विभागले बाली भित्र्याउनका लागि बिहीवारबाट पुनः मौसम अनुकूल बन्दै जाने बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।