अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्धको महाभियोग प्रयास संसद्‌मा विफल

Published
पढ्ने समय: २ मिनेट

संसद्‌को अनुमति नलिई इरानविरुद्ध युद्ध सुरु गरेको आरोप लगाउँदै अमेरिकी रक्षामन्त्री पिट हेग्सेथमाथि महाभियोग लगाउने प्रयास त्यहाँको संसद्‌मा विफल भएको छ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका बहुमत सदस्यले महाभियोगसम्बन्धी प्रयासलाई समितिमा पठाउने पक्षमा मतदान गरेका छन्।

योसँगै केन्टकीका रिपब्लिकन सांसद थोमस मासीले अघि सारेको उक्त प्रयास तत्कालका लागि अन्त्य भएको छ।

छ महिनापछि पहिलो पटक पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हेग्सेथले महाभियोगको प्रयासलाई 'प्रहसन' र 'अन्तरघात' को सङ्ज्ञा दिएका छन्।

प्रभावकारी रूपमा अन्त्य

हेग्सेथलाई पदको दुरुपयोगमा दोषी ठहर गर्दै अन्ततः पदबाट हटाउने उद्देश्यले ल्याइएको उक्त प्रयास पारित हुने सम्भावना निकै कम देखिएको थियो।

किनकि त्यसका लागि राष्ट्रपति डोनल्ड ट्रम्पको विपक्षमा उभिन अन्य केही रिपब्लिकन सांसद पनि तयार हुनुपर्ने आवश्यकता थियो।

मङ्गलवार उक्त प्रयासलाई रिपब्लिकन नेतृत्वको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको न्यायिक समितिमा पठाउने प्रस्तावको विपक्षमा मतदान गर्ने मासी एक मात्र रिपब्लिकन सांसद थिए।

उक्त प्रयासको पक्षमा २११ र विपक्षमा २०४ मत परेको थियो। एघार जना डेमोक्र्याटसहित एक दर्जनभन्दा बढी सांसद मतदानमा अनुपस्थित रहे।

उक्त प्रयास समितिमा पठाउने निर्णयले महाभियोगको प्रयासलाई प्रभावकारी रूपमा अन्त्य गरिदिएको छ। किनकि आगामी ज्यानुअरीमा डेमोक्र्याटहरूले संसद्‌मा नियन्त्रण कायम गर्नुअघि वर्तमान संसद्‌को कार्यकाल अब थोरै समय मात्र बाँकी छ।

'एक देशभक्त दोषमुक्त'

राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै मतदानको परिणामको स्वागत गरेका छन्। उनले महाभियोगको प्रयास 'लज्जास्पद रूपमा विफल भएको' टिप्पणी गरेका छन्।

"फेरि एक पटक भेनेजुएला र इरानमा प्राप्त सफलता, सैन्य इतिहासकै सबैभन्दा राम्रो भर्ना सङ्ख्या र पहिले विरलै देखिएको उत्साहले एक महान् अमेरिकी देशभक्तलाई दोषमुक्त गराएको छ," हेग्सेथलाई सङ्केत गर्दै ट्रम्पले लेखेका छन्।

बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएसका अनुसार मतदानपछि मासीले आफू यो परिणामबाट 'आश्चर्यचकित नभएको' तर 'निराश भएको' बताएका छन्।

"कङ्ग्रेसका बारेमा मेरो बुझाइ के हो भने यी मानिसहरूलाई के गर्नुपर्छ भन्ने थाहा छ," उनले भने। "तर त्यसो गर्दा राजनीतिक रूपमा उनीहरूलाई फाइदा पुग्ने भए पनि उनीहरूले त्यसो गर्ने आँट गर्न सक्दैनन्।"

मासीले यसअघि आफ्नो महाभियोग प्रयास तत्काल सफल नहुन सक्ने स्वीकार गरेका थिए।

तर डेमोक्र्याटहरूले आफ्नै महाभियोग प्रक्रिया अघि बढाउनुअघि ट्रम्पलाई हेग्सेथको स्थानमा अर्को व्यक्ति नियुक्त गर्न दबाव दिन यसले मद्दत गर्न सक्ने उनको तर्क थियो।

यस वर्षको सुरुमा भएको चुनाव हारेका मासीले करिब नौ महिना अघिदेखि नै ट्रम्प र इरान युद्धको आलोचना गर्दै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।