सुराकी, सूचक र गुप्तचर प्रहरी : हङ्गेरीद्वारा कम्युनिस्ट शासनकालका दस्ताबेज सार्वजनिक

    • Author, हेनरी रिजवेल
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ५ मिनेट

हङ्गेरीले अनलाइनमा प्रकाशित गर्न लागेका सरकारी गोप्य दस्ताबेजहरूले चार दशक लामो कम्युनिस्ट शासनमा छिमेकी, सहकर्मी, साथी र आफन्तहरूलाई कसले सुराकी गरेका थिए भन्ने समेत सार्वजनिक हुने ठानिएको छ। सरकारले प्रजातान्त्रिक रूपान्तरणमा यो महत्त्वपूर्ण कदम हुने बताएको छ।

कतिपयका लागि यसले कम्युनिस्ट सत्ताको समयमा परिचालित जासुसहरू र त्यस बेला भएका पक्राउ, सोधपुछ र बेपत्ताबारे स्पष्टीकरण सोध्ने मौका दिने छ। अनि अन्य कतिपयलाई दशकौँदेखि लुकाइएका गोप्य कुराहरूको रहस्योद्‌घाटन हुने छ।

सन् १९८०को दशकको कम्युनिस्ट हङ्गेरीका विपक्षी अभियानकर्मी बालिन्ट मोजोरलाई आफूमाथि नजिकबाट निगरानी भइरहेको राम्रोसँग थाहा थियो।

आफूबारे राज्यबाट सकङ्कलन गरिएका सूचनाहरूका केही अंश हात पार्न उनी सफल भएका थिए। उनले शिक्षकहरूको भेलामा सत्ताबारे बोलेको एउटा आफ्नै अभिव्यक्ति पनि प्रहरीका एक सूचनादाताबाट हात पारेका थिए।

अब मोजोरले यसको रमाइलो पक्ष देख्न सक्छन्। "मैले त्यस बेलै सत्ता परिवर्ततनबारे कुरा गरेको रहेछु, जुन कुरा मेरो स्मृतिबाट पनि मेटिइसकेको थियो," उनले बीबीसी विश्व सेवासँग भने।

यद्यपि उनलाई ती सूचनादाता को थिए भन्ने थाहा छैन। अनि आफ्ना गतिविधिबारे निगरानीका लागि भएको क्रियाकलाप पनि थाहा थिएन। तर अब पनि यो कुरा थाहा पाउनेवाला छन्।

"त्यो संयन्त्र र त्यसले गर्ने काम कहिल्यै सार्वजनिक भएको थिएन," उनी भन्छन्। "सबै दस्ताबेजहरू हेर्न सकिने गरी राख्दा त्यो प्रणालीबारे सबैलाई स्पष्ट रूपमा बुझ्न सजिलो हुने भयो।"

दस्ताबेजहरूको पहिलो किस्ता बुधवार सार्वजनिक गरिएको छ। विवादका बीच सरकारले ४५ वर्षे कम्युनिस्ट शासनको आघातमा मल्हम लगाउन मानिसहरूलाई यसले सहयोग गर्ने दाबी गरेको छ।

यी दस्ताबेज सार्वजनिक गर्न नोभेम्बर ४ नै रोजिनुको पनि अर्थ छ। सन् १९५६ को नोभेम्बर ४ मा हङ्गेरीमा सुरु भएको प्रजातन्त्र पक्षधर विद्रोह दबाउन सोभियत ट्याङ्कहरू बुडापेस्ट र अन्य सहरहरूमा गुडाइएको थियो।

यसको ७०औँ वर्षगाँठमा पहिलो चरणका दस्ताबेजहरू सार्वजनिक गरिएको हो। त्यसपछिका वर्षहरूमा प्रजातन्त्र पक्षधर अभियानका कैयौँ नेताहरू थुनिएका र झुन्डाइएका थिए।

त्यस बेला हङ्गेरीको सत्ताले व्यापक निगरानी अभियान चलाएको थियो। आफ्नो समुदायको जासुसीका लागि सर्वसाधारणहरूलाई पनि सूचनादाता बनाइको थियो।

त्यसमध्ये ५० हजारदेखि ६० हजारको नाम अभिलेखमा रहेको हङ्गेरीको अभिलेखालयका प्रमुखले बताएका छन्।

"पूर्वएजेन्टहरूका सबै फाइलहरू हामी स्क्यानिङ गरेर प्रकाशित गर्दै छौँ," अभिलेखालय प्रमुख गेर्गु बेन्देगुज चेह बताउँछन्।

"त्यस आधारमा ककसलाई भर्ती गरिएको थियो भन्ने मात्रै नभई कुन आधारमा भर्ती गरिएको थियो, भर्ती प्रक्रिया कसरी अघि बढ्यो, उसलाई केको आधारमा ब्ल्याकमेल गरिएको थियो र उसले कसरी काम गर्‍यो भन्ने पनि स्पष्ट हुने छ।"

पिटर सिजमी मुलर विद्रोही सङ्गीत समूहका एक सदस्य थिए। भीडमा प्रहरीका सूचकहरूले नियमित निगरानी गरिरहेका हुन्थे।

"तपाईँबारे कसैले कुरा पुर्‍याइदिन्थ्यो। प्रहरीले चौकीमा लिएर जान्थ्यो र त्यो कुरा दोहोरिरहन्थ्यो," उनी भन्छन्।

मुलरले कम्युनिस्ट प्रणालीसँगको लडाइँमा वर्षौँ बिताए। तर प्रहरीलाई सूचना दिन खटाइएका जासुसहरू पहिचान गर्न निकै कठिन हुन्थ्यो।

"यति लामो समयपछि मानिसहरूलाई सार्वजनिक रूपमा अपमानित गर्ने, लाञ्छित गर्ने र दण्डित गर्ने कुरामा म सहमत छैन। उनीहरूमध्ये कतिपयको निधन भइसकेको पनि हुन सक्छ वा उनीहरू जीवनको फरक चरणमा पुगिसकेका हुन सक्छन्," मुलर भन्छन्।

अभिलेखका कागजातहरू सार्वजनिक गर्ने कानुन सेप्टेम्बरमा पारित भएको थियो।

गत एप्रिलको चुनावमा जितेपछि प्रधानमन्त्री पिटर मोजोरले यस्ता अभिलेखहरू सार्वजनिक गर्ने र खोज्न मिल्ने बनाउने वाचा पूरा गर्ने बताएका थिए।

कम्युनिस्ट शासनको पतनपछि पोल्यान्ड र जर्मनीलगायत केही देशहरूले आफ्ना अभिलेखहरू छिटै सार्वजनिक गरेका थिए। तर सबै अभिलेखलाई डिजिटल बनाइएको छैन। अनि खोजी गर्दा पनि धेरै विस्तृत अभिलेख पाइँदैन।

हङ्गेरीले भने आफ्नो अनलाइन अभिलेखमा जोकोहीले पनि खुला र कुनै रोकतोकबिना खोजी गर्न सक्ने जनाएको छ।

जवाफदेहिताका लागि यो कदम धेरै ढिलो भएको बालिन्ट मोजोरको बुझाइ छ।

"अब मुख्य प्रश्न कसलाई जवाफदेही बनाउने वा कसलाई अझै जवाफदेही बनाउन सकिन्छ भन्ने रहेन। किनभने त्यो पुस्ताका अधिकांश मानिस अब जीवित छैनन्। बाँकी रहेका धेरै सक्रिय कामकाजी जीवनबाट बाहिरिइसकेका छन्," मोजोर भन्छन्।

कम्युनिष्ट शासनको पतनपछि सांसद र मन्त्री बनेका बालिन्ट मोजोर अहिले बुडापेस्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटी डेमोक्रेसी इन्स्टिट्यूडमा वरिष्ठ रिसर्च फेलो छन्। उनका लागि अभिलेख सार्वजनिक गर्नुको महत्त्व व्यक्तिहरूलाई मात्र जवाफदेही बनाउने विषयभन्दा फरकिलो छ।

"कुनै न कुनै हिसाबले आफ्नो विगतको सामना नगरी कुनै पनि राष्ट्र झूटका आधारमा बाँचिरहन सक्दैन," उनी भन्छन्। "अभिलेख सार्वजनिक गर्दा हङ्गेरीलाई राम्रै हुन्छ।"

हङ्गेरीले अब थाहा नभएको आफ्नो विगतबारे धेरै कुरा थाहा पाउने भएको छ।

समर्थकहरूले यो कदमलाई ऐतिहासिक मेलमिलापतर्फको यात्रामा ठूलो उपलब्धि भनेका छन्। तर कतिपयका लागि ती रहस्यको सामना गर्नु पीडादायी पनि हुन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।