के बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री हसिना स्वदेश फर्कने तयारीमा छिन्

तस्बिर स्रोत, INDRANIL MUKHERJEE/AFP via Getty Images
बाङ्ग्लादेश सरकारले हाल भारतमा बस्दै आएकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले नयाँ राहदानीका लागि गरेको आग्रह अस्वीकार गरिदिएको छ।
शेख हसिना फरार व्यक्ति भएको भन्दै दिल्लीले उनलाई सुपुर्दगी गर्नुपर्ने बाङ्ग्लादेश सरकारको तर्क छ।
भारत र बाङ्ग्लादेशबीचको सुपुर्दगी सन्धिबमोजिम आफूलाई ढाका सुम्पन शेख हसिनाले दिल्लीलाई आग्रह गर्नुपर्ने सरकारका एक मन्त्री हुमायू कबीरले बताएका हुन्।
हालै शेख हसिनाले स्वदेश फर्कनका निम्ति नयाँ राहदानीका लागि दिल्लीस्थित बाङ्ग्लादेश उच्चायोगमा आवेदन दिएकी थिइन्।
बाङ्ग्लादेशमा प्रतिबन्धित अवामी लीगका धेरै नेताहरूले पछिल्लो खबरको पुष्टि गरेका थिए। शेख हसिनाले दिएको आवेदनको बीबीसी बाङ्ग्लासँग प्रतिलिपि छ।
अवामी लीगका नेताहरूले बीबीसी बाङ्ग्लालाई बताएअनुसार शेख हसिनाले लन्डनस्थित कानुनी फर्म म्याट्रिक्स च्याम्बर्समार्फत् आवेदन दर्ता गराएकी छन्।
"हामीलाई म्याट्रिक्स च्याम्बर्स नामक संस्थाबाट एउटा ईमेल प्राप्त भएको छ। त्यो ईमेलमा बाङ्ग्लादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राहदानी उपलब्ध गराउन आवेदन दिइएको छ," दिल्लीस्थित बाङ्ग्लादेश उच्चायोगका प्रेस अधिकारी सईदुर रहमानले बीबीसी बाङ्ग्लासँग भने।
'अहिलेसम्मकै स्पष्ट कदम'

तस्बिर स्रोत, Getty Images
सन् २०२४ को अगस्ट ५ मा बाङ्ग्लादेश छाडेदेखि दुई वर्षभन्दा बढी समयदेखि शेख हसिना भारतमा बस्दै आएकी छन्।
केही महिनाअघि उनले बाङ्ग्लादेश फर्कने घोषणा गरेकी थिइन्। शेख हसिना र उनका पार्टीका नेता तथा कार्यकर्ताले उनी डिसेम्बरमा स्वदेश फर्कने बताएका छन्।
प्रतिबन्धित अवामी लीगका सङ्गठन सचिव एसएम कमालका अनुसार शेख हसिना डिसेम्बरमा स्वदेश फर्कन चाहन्छिन्।
"दुई वर्षभन्दा बढी समयअघि भएको जनविद्रोहले उनको लामो शासनको अन्त्य गरेपछि बाङ्ग्लादेश फर्कने योजना कार्यान्वयन गर्ने दिशामा यो हसिनाको अहिलेसम्मकै स्पष्ट कदम हो," समाचार संस्था रोयटर्सले सोमवार बिहानको एउटा समाचारमा लेखेको थियो।
सत्ता त्यागेर दिल्ली गएपछि बाङ्ग्लादेशको तत्कालीन अन्तरिम सरकारले सोही वर्षको अगस्टको अन्त्यतिर शेख हसिनाको कूटनीतिक र साधारण राहदानी रद्द गर्ने निर्णय गरेको थियो।
यस वर्ष शेख हसिनाले बाङ्ग्लादेश फर्कने घोषणा गरेपछि उनको राहदानीसम्बन्धी मुद्दा सतहमा आएको थियो। किनभने उनीसँग वैध राहदानी छैन।
सो सम्बन्धमा शेख हसिनाका वकिलहरूले दिल्लीस्थित बाङ्ग्लादेश उच्चायोगकी कार्यवाहक उच्चायुक्त प्रीति रहमानलाई पत्र लेखेर नयाँ राहदानी जारी गर्न अनुरोध गरेका थिए।
पत्रमा के छ?
अन्तरिम सरकार र अन्य अधिकारीहरूले शेख हसिनाको पुरानो बाङ्ग्लादेशी राहदानी र राष्ट्रिय परिचयपत्र रद्द गरेको जानकारी आफूहरूले पाएको लन्डनस्थित कानुनी फर्म म्याट्रिक्स च्याम्बर्सका वकिलहरूले पत्रमा लेखेका थिए।
"हाम्रा सेवाग्राहीको पुरानो राहदानी र राष्ट्रिय परिचयपत्र रद्द भएको समाचारलाई ध्यानमा राख्दै हामी उनलाई नयाँ जारी गर्नका लागि आवश्यक कदम चाल्न अनुरोध गर्छौँ," पत्रमा लेखिएको छ।
शेख हसिनाको बाङ्ग्लादेशी नागरिकता र अन्तर्राष्ट्रिय मानव अधिकार सम्झौता एवं सन्धिहरूअन्तर्गतको दायित्वलाई उद्धृत गर्दै उनका वकिलहरूले ती आवेदनहरूमा द्रुत निर्णयका लागि अनुरोध गरेका थिए।
गत वर्ष नोभेम्बर १९ सम्म शेख हसिनाविरुद्ध सन् २०२४ को जुलाईमा विद्यार्थी र नागरिकहरूले गरेको विरोध प्रदर्शनसँग सम्बन्धित हत्या र मानवताविरुद्धको अपराधका लागि ६६३ मुद्दा दायर गरिएको थियो। तीमध्ये ४५३ वटा हत्याका मुद्दा थिए।
अघिल्लो अन्तरिम सरकारको समयमा मानवताविरुद्धको अपराधको मुद्दामा उनलाई मृत्युदण्डको सजाय पनि सुनाइएको थियो।

तस्बिर स्रोत, SAJJAD HUSSAIN/AFP via Getty Images
के शेख हसिनाले आउँदो डिसेम्बरमा साँच्चै बाङ्ग्लादेश फर्कने प्रयास गर्ने छिन् र बाङ्ग्लादेश सरकारले उनलाई त्यति बेला स्वदेश फर्कन अनुमति दिने छ?
बाङ्ग्लादेशको अन्तरिम सरकारपछि बीएनपी सरकारले शेख हसिनाको फिर्तीका लागि भारतलाई धेरै पटक औपचारिक पत्र लेखिसकेको छ। यसको अर्थ बाङ्ग्लादेश सरकार उनलाई फिर्ता ल्याउन चाहन्छ।
शेख हसिनाको फिर्तीसम्बन्धी बहसबीच उनको राहदानीको मुद्दा पनि विगत केही दिनदेखि चर्चाको विषय बनेको छ।
हसिनाबाटै घोषणा

तस्बिर स्रोत, INDRANIL MUKHERJEE/AFP via Getty Images
शेख हसिना डिसेम्बरमा बाङ्ग्लादेश फर्कने आफैँले घोषणा गरेकी छन्। यद्यपि मृत्युदण्ड, बिग्रँदै गएको राजनीतिक अवस्था र सुरक्षा खतराहरूबारे पनि उनले उल्लेख गरेकी छन्।
उनको घोषणाले बाङ्ग्लादेशबाट भागेका अवामी लीगका नेता र कार्यकर्ताहरूलाई केही हदसम्म हौसला प्रदान गर्ने विश्लेषकहरूले बताएका छन्।
ढाकालगायत धेरै ठाउँमा पार्टीले अचानक साना र्यालीहरू आयोजना गरेको विवरण आएका छन्।
योसँगै पक्राउ पर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको छ। बीएनपीलगायत धेरै दलका नेताहरूले यस विषयमा बयान जारी गरिरहेका छन्।
शेख हसिनालगायत अवामी लीगका वरिष्ठ नेताहरू भारत र अन्य देशमा लुकेर बसेको उनीहरूको भनाइ छ।
यद्यपि शेख हसिनाले फिर्तीको घोषणा गरेर बाङ्ग्लादेशमा रहेका आफ्ना पार्टी कार्यकर्ताहरूलाई जोखिममा पारेकी छन्।
भारतमा बस्ने अवामी लीगका एक नेताले बताएअनुसार उनीहरूकी नेत्री अहिले करिब ८० वर्षकी भइसकिन्।
यो उमेरमा उनी लामो समयसम्म सक्रिय राजनीतिमा रहन सक्ने छैनन्। त्यसैले उनी अब स्वदेशको राजनीतिमा फर्कन कुनै पनि जोखिम लिन तयार छिन्।
विदेशमा बस्ने अवामी लीगका एक प्रवक्ता मोहम्मद अली अराफातले बीबीसी बाङ्ग्लासँग भनेः "खतराका बाबजुद शेख हसिना डिसेम्बरमा बाङ्ग्लादेश फर्कनुहुने छ। हाम्री नेता आफ्नो निर्णयमा दृढ हुनुहुन्छ।"
सो उद्देश्यका लागि देशभरि पार्टी सङ्गठन सुदृढ तुल्याइएको उनले दाबी गरे। अराफातका अनुसार शेख हसिनालाई सुपुर्दगी सन्धिअन्तर्गत फिर्ता ल्याउनु बीएनपी सरकारका निम्ति निकै गाह्रो हुने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















