भोटेकोशीमा बाढीमा बेपत्ता २४ सय भन्दा बढीलाई 'मृतक घोषणा गर्ने प्रक्रिया अघि बढ्यो, क-कसले पठाए विवरण?

कतिपय वेपत्ताको साङ्केतिक अन्त्येष्टि गरिएका छन्।
तस्बिरको क्याप्शन, कुशको आकृति बनाएर कतिपय वेपत्ताको अन्तिम संस्कार गरिएका थिए
Published
पढ्ने समय: ४ मिनेट

सरकारले भोटेकोशी बाढीपछि बेपत्ता भएका २,४६५ व्यक्तिको विवरण विभिन्न स्थानहरूबाट हालसम्म यकिन भएर आएको भन्दै त्यसमाथि संशोधन र थपघट गर्नुपर्ने भए प्रक्रिया अघि बढाउन ७ दिनको समय दिएको छ।

गएको भदौ महिनामा आएको उक्त बाढीमा १,४६४ जनाको मृत्यु भएको थियो भने ५,२८५ जना बेपत्ता भएका अधिकारीहरूले बताएका थिए। त्यसमध्ये ११० शव पहिचान गरिएका थिए भने बाँकीको पहिचानका लागि परिवारका डिएनए सङ्कलन र परीक्षणको काम अघि बढाइएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ताले हालसम्म ३२ वटा जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बेपत्ताहरू यकिन गरी विवरणहरू पठाएको र अन्य जिल्लाहरूले पनि आफ्ना विवरणहरू पठाएपछि त्यसलाई क्रमशः अद्यावधिक गर्दै लगिने बताए।

उक्त बाढीमा ६३६ जना विदेशी नागरिकहरू बेपत्ता भएकामा पछिल्लो सरकारी सूचनामा ७ देशबाट मात्रै बेपत्ताहरूको विवरण यकिन भएर आएको उल्लेख गरिएको छ।

अधिकारीहरू के भन्छन्?

नुवाकोटको नदी किनाराका बस्ती भग्नावशेषमा परिणत भएको थियो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको सूचनामा नेपाली नागरिकका हकमा स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिसको आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा ती विवरण प्राप्त भएको जनाएको छ।

विदेशी नागरिकका हकमा सम्बन्धित देशको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगको सिफारिसका आधारमा कन्सुलर सेवा विभागमार्फत जानकारीहरू प्राप्त गरिएका थिए। ती विवरणमा बेपत्ता भनिएका व्यक्ति जीवित रहेको वा फेला परेको भए सात दिनभित्र निज वा एक घरका परिवारले दाबी पेस गर्नुपर्ने भनिएको छ।

विवरण पठाएका ३२ जिल्लामध्ये सर्वाधिक बढी बेपत्ता बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा जिल्लामा रहेका छन्। त्यहाँबाट १,५३८ जनाको नामावली प्राधिकरणमा पठाइएको छ। त्यसपछि सिन्धुपाल्चोकबाट २१९, बर्दियाबाट ७४, सप्तरीबाट ५१ र दाङबाट ३८ जनाको नाम जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पठाएको छ।

"अहिले ३४ जिल्लाबाट विवरण आएको छ। यसमा थपघट वा संशोधन गर्न सकिन्छ भनेर हामीले सात दिनको म्याद दिएर सूचना निकालेका हौँ," प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बीबीसीसँग भने।

"त्यसपछि यसलाई प्राधिकरणको कार्यकारी समितिमा लैजानुपर्ने हुन्छ। त्यसले अनुमोदन गरेपछि यो मन्त्रिपरिषद्‌मा जान्छ। र त्यसले नै अन्तिम निर्णय गर्छ।"

सरकारले कार्यविधि ल्याएर मृतक घोषणाका लागि सुरुमा बेपत्ता नामावली सङ्कलन गर्ने अनि जाँचबुझ गरेर निर्णय लिनुपर्ने व्यवस्था गरेको थियो।

अहिलेको सूचीमा तेह्रथुमदेखि डडेलधुरा र जुम्लादेखि ललितपुरसम्मबाट नामावली प्राप्त भएको उल्लेख छ। तर बाढीबाट अति प्रभावित नुवाकोटसहितका जिल्लाहरूको विवरण त्यसमा उल्लेख गरिएको छैन।

यसअघि प्राधिकरणले नुवाकोटमा ६५७ जना स्थानीय र अन्य जिल्लाबाट आएका १००० भन्दा बढी नागरिक बेपत्ता रहेको बताएको थियो।

प्रवक्ता केसीले अन्य जिल्लाहरूमा पनि विवरण सङ्कलनको कामहरू भइरहेको भन्दै नामहरू आउने क्रम जारी रहेको र त्यसलाई पनि यही प्रक्रियाबाट अघि बढाइने बताए।

सरकारले बाढीमा बेपत्ता भएकाहरूको परिवारलाई राहतका लागि यसअघि नै बाटो खोलिसकेको थियो। तर कानुनमा बेपत्ता व्यक्तिको मृत्यु दर्ताका लागि वर्षौँ पर्खनुपर्ने अवस्था रहेपछि विपद्मा बेपत्ता भएका व्यक्तिलाई प्राधिकरणको कार्यकारी समितिको सिफारिसका आधारमा नेपाल सरकारबाट मृत्युको घोषणा गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याइएको थियो।

दैवी विपद्‍मा ज्यान गुमाउने मानिसका परिवारलाई सरकारले राहत स्वरूप दुई लाख रुपैयाँ दिने कानुनी व्यवस्था छ। एउटै परिवारका एकभन्दा बढी सदस्यको मृत्यु भएको हकमा थप हरेक मृतक बराबर एक लाख रुपैयाँका दरले राहत रकम थपिँदै जान्छ।

"विसं २०८१ असार ३१ गते सरकारको निर्णय अनुसार विपद्‌मा परेका व्यक्तिहरू १० दिनसम्म फेला नपरे मृतक सरह राहत दिन चाहिँ सकिन्छ," केसी भन्छन्।

मृत्यु दर्ताबाट बिमा दाबी, ब्याङ्किङ कारोबार र सम्पत्ति हक लगायतका लागि बाटो खुल्ने अधिकारीहरू बताउँछन्।

अहिलेसम्म कुन कुन देशले पठाए बेपत्ताको नामावली

रसुवा गढीस्थित मितेरी पूल र त्यहाँका अध्यागमन संरचनालाई उक्त भीषण बाढीले बगाएको थियो

नेपाल चीन सीमा नजिकै भोटेकोशी नदीमा आएको बाढीपछि ६३६ जना विदेशी नागरिक बेपत्ता भएका अधिकारीहरूले बताउने गरेका छन्।

उनीहरूमध्ये कैयौँ चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवर जाने तीर्थयात्री र पर्यटकहरू थिए। त्यसमा ३५ देशका नागरिकहरू बेपत्ता रहेका थिए।

हालसम्म जर्मनी, अस्ट्रेलिया, इटली, दक्षिण कोरिया, रुस, मलेसिया र युक्रेन गरी ७ देशबाट १७१ जनाको विवरण आएको भन्दै प्राधिकरणले त्यसलाई सच्याउन कन्सुलर सेवा विभागमा बुझ्न सकिने जनाएको छ।

सो भीषण बाढीमा करिब २७५ जना आफ्ना नागरिक बेपत्ता रहेको भारतले बताएको थियो। अमेरिका, क्यानडा, चीनसहितका देशका नागरिकहरू पनि बाढीपछि सम्पर्कविहीन छन्।

अधिकारीहरूले बाँकी विदेशी नागरिकको हकमा तोकिएका नियोगहरूबाट प्राधिकरणमा सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशन गरिने उल्लेख गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।