तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वभरि माइक्रोसफ्टका सेवाहरू नचलेको विषयमा हामीलाई के थाहा छ
विश्वकै ठूलामध्येको प्रविधि कम्पनी माइक्रोसफ्टका केही सेवाहरू विश्वभरि अवरुद्ध भएका छन्। माइक्रोसफ्टले आफ्नो सेवामा देखिएको अवरोध साइबर सुरक्षासँग सम्बन्धित नरहेको जनाएको छ।
यद्यपि सेवा पुनः सुरु गर्ने हालसम्मका प्रयास विफल भएका छन्। माइक्रोसफ्टका इमेल र कृत्रिम बुद्धिमता 'एआई' सम्बन्धी सेवाहरू पूर्ण रूपमा निष्क्रिय भएका छन्।
'कनेक्टिभिटी'सम्बन्धी समस्याका कारण माइक्रोसफ्टका '३६५' सेवा, टीम्स, आउटलूक र यसको एआई च्याटबट कोपाइलट प्रभावित भएका छन्।
यसका फरकफरक प्रयोगकर्ताहरूले केही हदसम्म सेवा चलेको बताए पनि धेरैले इमेल पठाउन र पाउन नसकेको, क्लाउडमा रहेका फाइलहरू खोल्न नसकेको र क्यालेन्डर एपमा राखिएका विवरणहरू हेर्न नसकेको बताएका छन्।
केहीले टीम्स सामान्य अवस्था जसरी नै चलिरहेको बताएका छन्।
कुन स्तरको असर देखियो
यस्ता सेवामा आएको अवरोध निगरानी गर्ने वेबसाइट 'डाउन डिटेक्टर'का अनुसार बिहीवार साँझ ७४ देशका १,४०,००० प्रयोगकर्ताहरू प्रभावित भएका थिए।
माइक्रोसफ्टको वेबसाइटका अनुसार विश्वभरि ४३ करोड मानिसहरूले माइक्रोसफ्ट ३६५ एपहरू प्रयोग गर्छन्।
विश्वभरि कैयौँ कम्पनीहरूले पनि यसको सेवा प्रयोग गर्ने भएका कारण यसको प्रभाव अन्य सेवाहरूमा समेत पर्ने ठानिएको छ।
माइक्रोसफ्टको सेवा अवरुद्ध भएका कारण आफ्नो सेवामा समेत समस्या आएको प्रविधि कम्पनी ओपन एआई र एन्थ्रोपिकले जनाएका छन्। परिणामस्वरूप ओपन एआईका केही 'टूल'हरूले राम्रोसँग काम गरेका छैनन्।
च्याटजीपीटीको निर्माता ओपन एआईले माइक्रोसफ्टका सेवाहरूसँग आफ्नो कनेक्शनमा आएको समस्याबारे अनुसन्धान गरिरहेको जनाएको छ।
सिङ्गापुर सरकार र अस्ट्रेलियाको जासुसी निकायसहितका केही सरकारी निकायहरूले पनि आफ्नो काममा असर परेको जनाएका छन्।
समस्या के हो?
माइक्रोसफ्टले साइबर आक्रमण नभएको स्पष्ट गर्दै आफ्ना पूर्वाधारमा बढेको चापका कारण अहिलेको समस्या आएको बताएको छ।
यसको अर्थ उसका सर्भरहरूमा सामान्य अवस्थाभन्दा धेरै ठूलो चाप परेको हुन सक्छ।
माइक्रोसफ्टका कैयौँ सर्भरहरू एकै पटक चल्न छोडेका कारण बाँकी भएका सर्भरमा प्रयोगकर्ताहरूको चाप बढ्दा ठूलो स्तरको समस्या आएको माइक्रोसफ्टले जनाएको छ।
समस्या समाधानमा निकै कम मात्रै सफलता हात लागेको माइक्रोसफ्टले शुक्रवार जनाएको छ।
विज्ञहरूले के भने?
अस्ट्रेलियाका साइबर सुरक्षा विज्ञ ट्रोए हन्टले अहिलेको अवरोधको परिणाम व्यापक हुन सक्ने बीबीसीसँग बताएका छन्।
उनले माइक्रोसफ्ट इन्टरनेटको ठूलो मेरुदण्ड रहेको र यो घटनाले हाम्रा इमेलहरू अहिले पनि कति संवेदनशील छन् भन्ने देखाएको बताए।
न्यूजील्यान्डको प्रविधि परामर्श कम्पनी गरिला टेक्नोलजीका पल स्पेनले इमेल र अन्य सेवाहरू नचल्दा कम्पनीहरूले आफ्नो व्यापार गुमाएको बताए। यस्तो घटनाले प्रयोगकर्तालाई बेखुस बनाएको उनी बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।