दोस्रो प्रेम सम्बन्धको आरोपपछि 'एन्भिडिआ'का प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङले दिए पदबाट राजीनामा

Published
पढ्ने समय: ३ मिनेट

चीनका लागि जासुसी गरेको आरोप लागेकी एक जना महिलासँगको प्रेम सम्बन्धका कारण विवादमा तानिएका प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङले पदबाट राजीनामा दिएका छन्।

एआई चिप बनाउने विश्वकै ठूलो कम्पनीका सबैभन्दा ठूला लगानीकर्ता समेत रहेका वाङ कम्पनीको सञ्चालक समितिबाट पनि बाहिरिने भएका छन्।

वाङको स्थानमा प्रमुख वित्त अधिकृत कोलेट क्रेसलाई अन्तरिम प्रमुख तोकिएको छ।

वाङको राजीनामापछि खुलेको अमेरिकी धितोपत्र बजारमा एन्भिडिआको शेअर मूल्य १३ प्रतिशतले घटेको छ।

आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउने वा नहटाउने विषयमा कम्पनीको सञ्चालक समितिले छलफल गरिरहेको समयमा वाङले राजीनामा दिएका हुन्। उनको विवाहेतर दोस्रो सम्बन्धको समाचार बाहिरिएपछि उनी थप दबावमा थिए।

आफ्नै कम्पनीमा कार्यरत एक जना कार्यकारीसँग पनि वाङको प्रेम सम्बन्ध रहेको समाचार 'न्यू योर्क टाइम्स'ले प्रकाशित गरेको थियो।

उक्त समाचारसँगै एन्भिडिआको शेअर मूल्य ७.५ प्रतिशतले घटेको थियो।

वाङले एक महिलासँग सम्बन्ध रहेको स्वीकार गरेका थिए। अर्को कम्पनीसँग सम्बन्धित एलिस वाङ नाम गरेकी ती महिलाले बेइजिङका लागि जासुसी गर्ने गरेको आरोप लागेको थियो।

वाङले सम्बन्ध स्वीकार गरेकी महिलाबारे एन्भिडिआ र अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्।

बेइजिङले जासुसीसम्बन्धी आरोपलाई चीनमा हुने प्रविधि बिक्रीमा पुनः प्रतिबन्ध लगाउने बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई चेतावनी दिएको छ।

बीबीसीकी बेइजिङ संवाददाता लोरा बिकरका अनुसार यो प्रकरणका कारण चिनियाँ राष्ट्रपति सि जिन्पिङको निमन्त्रणामा आगामी साता हुन लागेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चीन भ्रमण नबिथोलियोस् भन्ने विदेश मन्त्रालयले चाहेको छ।

एन्भिडिआ कस्तो कम्पनी हो

आर्टिफिशल इन्टेलिजन्श एआईको तीव्र विस्तारमा एन्भिडिआलाई सबैभन्दा महत्त्वपूर्ण कम्पनीमध्ये एक मानिन्छ।

एपलपछि एन्भिडिया विश्वको दोस्रो सबैभन्दा मूल्यवान् कम्पनी हो। एआईको विश्वव्यापी प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न चाहने अमेरिकी अधिकारीहरूका लागि एन्भिडियाले उत्पादन गर्ने चिप राष्ट्रिय सुरक्षासँग जोडिएको विषय बनेको छ।

एलिस वाङ सिङ्गापुरको मेगास्पिड नामक कम्पनीमा कार्यकारी पदमा थिइन्। उक्त कम्पनी एन्भिडियाको ग्राहकसमेत रहँदै आएको थियो।

मेगास्पिडले एन्भिडियाका चिपहरू अन्य माध्यमबाट चीन पुर्‍याउन सहयोग गरेको हुन सक्ने आशङ्का गरिएको थियो। तर एन्भिडियाले उक्त विषयमा अनुसन्धान गरिएको र आरोप निराधार रहेको पुष्टि भएको जनाएको छ।

सन्दिग्ध जासुस को हुन्

'न्यू योर्क टाइम्स'ले अमेरिकी गुप्तचर निकायहरूले एक चिनियाँ व्यवसायी महिलाको निगरानी गरिरहेको र उनले बेइजिङका तर्फबाट काम गरिरहेको निष्कर्ष निकालेको बताएको छ।

उक्त समाचारमा नाम उल्लेख नगरिएका स्रोतहरूलाई उद्धृत गरिएको छ।

निगरानीका क्रममा ती सन्दिग्ध जासुस र एक अमेरिकी नागरिकबीचको कुराकानी देखिएको भनिएको कुरा छ जसलाई पछि "अन्मास्किङ" भनिने प्रक्रियामार्फत् जेन्सन वाङका रूपमा पहिचान गरिएको थियो।

एलिस वाङले टिप्पणीको लागि उक्त पत्रिकाले गरेको अनुरोधको जबाफ दिएकी छैनन्। उनी सिङ्गापुरमा आधारित एक डेटा सेन्टर कम्पनी मेगास्पीडसँग सम्बद्ध छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।