पृथ्वी राजमार्गमा बारम्बार दु:ख दिन थालेको घोप्टेभीरको पहिरो, 'सुक्खा पहिरो अनपेक्षित हुने हुँदा जोखिम बढ्ता'

घोप्टेभीरको पहिरो
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

पृथ्वी राजमार्गमा कुरिनटारनजिकै पर्ने घोप्टेभीरमा सोमवार बिहान ५ बजेतिरबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक करिब आठ घण्टापछि खुलेको अधिकारीहरूले बताएका छन्।

घन्टौँ दुईतर्फी सडक अवरुद्ध हुँदा ठूलो सङ्ख्यामा तिहारका बेला यात्रा गर्ने र अन्य यात्रुहरू प्रभावित भएका थिए।

अधिकारीहरूले पहिरोको दुवैतर्फबाट छवटा उपकरण प्रयोग गर्दा समेत सो सडक खुलाउन घण्टौँ सङ्घर्ष गर्नुपरेको थियो भने व्यस्त समयमा सडक अवरुद्ध भएपछि कैयौँ किलोमिटर लामो जाम भएको थियो।

"हामीले एक्स्कभेटर र लोडर गर्दै पाँच-छवटा मशीन प्रयोग गर्‍यौँ। सडकभन्दा ५०-६० मिटर माथिबाट पहिरो बारम्बार खसिरहेको छ। कमजोर बनेको त्यो भाग नसकिएसम्म यसले दु:ख दिइरहने देखियो," नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रले भने।

"यो पाँच छ महिनायता सक्रिय बनेको पहिरो हो। सुक्खा पहिरो भएकाले कुन बेला आउँछ भन्ने अनुमान गर्न पनि नसकिने हुन्छ। यो आइरहेको छ।"

आइतवार समेत सोही पहिरोले उक्त सडक केही घण्टा अवरुद्ध बनेको थियो।

काठमाण्डूलाई तराईसँग जोड्ने क्रममा व्यापक रूपमा प्रयोग हुने एउटा मुख्य सडक सङ्घीय राजधानीबाट पोखरा र आसपासका गन्तव्यमा पुग्ने मुख्य बाटो समेत हो।

अनेकौँ पहिरो

घोप्टेभीरको पहिरो

पृथ्वी राजमार्गको खास गरी नागढुङ्गा-मुग्लिङ खण्डमा एक दर्जनभन्दा बढी ठूला सक्रिय पहिरो छन्।

खास गरी भदौ १० गतेको त्रिशूली-भोटेकोशी बाढीको मार खेपेको र त्यसयता नदीको बहाव सडकपट्टि ढल्किएसँगै सडकमाथिबाट पहिरो खस्ने र सडक भासिने जस्ता दुवै खालका समस्या देखा परिरहेको अधिकारीहरू बताउँछन्।

वर्षौँ लगाएर स्थिर पारिएको कृष्णभीरमा सडकको भाग भासिएपछि काठमाण्डू उपत्यकाको 'लाइफलाइन' नै अवरुद्ध हुने अवस्था देखिएको भन्दै सडक विभागका अधिकारीहरूले विज्ञको रातविपरीत भित्तो काटेरै बाटो खोल्ने निर्णय गरिएको यसअघि बीबीसीलाई बताएका थिए।

त्यस यताका दुई ठूला वर्षाले समेत त्यस सडकखण्ड कमजोर पारेको अधिकारीहरू बताउँछन्।

"अहिले नयाँनयाँ सक्रिय पहिरो देखा पर्दै त्यसले बारम्बार अवरोध निम्त्याइरहेका छन्," सडक विभागका प्रवक्ता शुभराज दाहाल भन्छन्।

"यस्ता सुक्खा पहिरोहरू बढी नै जोखिमयुक्त हुन्छन्। किनकि हामी सुक्खा याममा त्यसरी भूक्षय होला भन्ने ठानिरहेका हुँदैनौँ।"

धादिङको चालिसे छहरे र पानीधारामा पनि पछिल्ला दिनमा सुक्खा पहिरो खसेको थियो भने धारापानी, फिस्लिङ र जवाङखोला, गलौदीमा सडक भासिएको थियो।

यस्तो अवस्थामा विकल्पका रूपमा तराई जोड्नका लागि त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग एवम् काठमाण्डू-हेटौँडा जोडिने विभिन्न सहायक मार्गहरू छन्। तर कमजोर पूर्वाधारका कारण तिनलाई सजिलो र भरपर्दो ‍मानिँदैन।

अधिकारीहरूले जोखिमयुक्त ठाउँका रूपमा पहिचान भएका त्यस्ता ठाउँमा रातिका बेला चनाखो हुन र आवश्यक परे आउजाउमै रोक लगाउन सकिने अधिकार स्थानीय प्रशासनलाई दिएका छन्।

"पहिले धेरैजसो मुग्लिन-नारायणगढ सडकखण्डमा देखिने सुक्खा पहिरो हाल काठमाण्डूतर्फ जाने बाटोमा देखिन थालेको छ," आयोजनाका सूचना अधिकारी मिश्र भन्छन्।

"सुक्खा पहिरो उच्च ठाडो भागमा हुने हुँदा प्राय: हाम्रा सामान्य रूपमा प्रयोग हुने उपकरण सहयोगी भइहाल्दैनन्। यसको रोकथामका लागि पर्याप्त योजना बनाएरै काम गर्नुपर्ने हुन्छ।"

रणनीतिक सडक

भदौमा कृष्णभीरमा सडक भासिएर करिब दुई साता सडक अवरुद्ध भएपछि पुरानो पहिरोबाट ट्र्याक खोलेर यातायात सञ्चालनमा छ
तस्बिरको क्याप्शन, भदौमा कृष्णभीरमा सडक भासिएर करिब दुई साता सडक अवरुद्ध भएपछि पुरानो पहिरोबाट ट्र्याक खोलेर यातायात सञ्चालनमा छ

यस सडक नेपालको व्यापारिक र यातायातको पहुँचका दृष्टिकोणबाट एक महत्त्वपूर्ण सडक मानिन्छ।

एशियाली राजमार्गको एएच- ४२ नाम दिइएको खण्डको रूपमा रूपमा सूचीकरण गरिएको नागढुङ्गा-नौबिसे-मुग्लिङ सडकलाई सर्वसुलभ यातायात र ढुवानीका दृष्टिले रणनीतिक महत्त्वको सडक मानिन्छ।

भौगोलिक रूपले अत्यन्त कठिन तथा जोखिमयुक्त पहाडी धरातलमा अवस्थित रहे पनि यहाँको उच्च सवारी चाप थेग्ने गरी सडकको सुविधा पर्याप्त छैन।

बारम्बार सुक्खा पहिरो आउन थालेपछि सडक विभागले अब त्यसको गम्भीर मूल्याङ्कन गरेर जोखिम न्यूनीकरणको काम थाल्ने जनाएको छ।

"एउटा उपाय त्यो कमजोर भूभाग झरेरै सकिने हो। अर्को भनेको त्यसलाई स्थिरीकरण गर्न एङ्करिङजस्ता उपाय पनि हुन्छन्। तर नयाँ पहिरो भएकाले अब त्यसलाई नजिकबाट हेर्नुपर्ने भएको छ," सडक विभागका प्रवक्ता दाहाल भन्छन्।

"माथिपट्टि नै गएर कहाँ कसरी त्यो भूभाग कमजोर बनेको छ भन्ने हेरेर कदम चाल्नुपर्ने छ। त्यसको लागि केही समय त लाग्ने देखिन्छ।"

यस सडकको नागढुङ्गादेखि नौबिसे सम्मको १२.३ किलोमिटर त्रिभुवन राजपथअन्तर्गत पर्छ भने नौबिसे-मुग्लिङसम्मको ८२.४ किलोमिटर खण्ड पृथ्वी राजमार्ग अन्तर्गत पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।