सन्दिग्ध चिनियाँ जासुससँग 'सम्बन्ध' रहेको विषयमा एन्भिडिआद्वारा सीईओमाथि 'छानबिन सुरु'

जेन्सन वाङ
Published
पढ्ने समय: ४ मिनेट

विशाल अमेरिकी प्रविधि कम्पनी एन्भिडिआले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन वाङको चिनियाँ जासुससँग 'सम्बन्ध' रहेको दाबीसहितका विवरणहरू सार्वजनिक भएपछि त्यसबारे स्वतन्त्र अनुसन्धान सुरु गरिएको जनाएको छ।

यद्यपि उक्त कम्पनीले एन्भिडिआका गोपनीय कुरा वा राष्ट्रिय सुरक्षामा जोखिम पुगेको ठान्नुपर्ने कुनै कारण आफ्नो सञ्चालक समितिसँग नभएको जनाएको छ। वाङले नै सीईओको रूपमा कम्पनीको नेतृत्व गर्ने उसले जनाएको छ।

सीईओ वाङले आफू पत्नीसँग "इमान्दार नभएको" कुरा अलग्गै स्वीकार गर्दै उनी र छोराछोरीसँग माफी मागेका छन्।

न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार एलिस वाङ नाम गरेकी चिनियाँ व्यवसायीको एन्भिडिआका सीईओसँग निकट सम्बन्ध रहेको र उनी बेइजिङका लागि काम गर्ने जासुस भएको अमेरिकी गुप्तचर अधिकारीहरूको बुझाइ छ।

एन्भिडिआले उदीयमान आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिहरूका लागि हार्डवेअर निर्माण गर्दै आएको छ। चालीस खर्ब अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने एन्भिडिआ विश्वकै सबैभन्दा मूल्यवान् कम्पनीहरूमध्ये एक हो।

वाङले उक्त कम्पनीको विगत ३० वर्षदेखि नेतृत्व गर्दै आएका छन्। सो अवधिमा एन्भिडिआ एआई प्रविधिमा प्रयोग हुने हार्डवेअरको एउटा प्रमुख उत्पादक बन्न पुगेको छ।

जेन्सन वाङ के भन्छन्

वाङले आफूले गरेको कामको "पूर्ण जिम्मेवारी" लिने भन्दै एन्भिडिआका कर्मचारीहरू, सञ्चालक समिति र शेअरधनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको स्वीकार गरेका छन्।

"म आफ्नी पत्नीसँग इमान्दार भइनँ। मेरा कार्यले उनलाई र हाम्रा छोराछोरीलाई चोट पुर्‍याएको छ। मैले जे गरेँ त्यसको कुनै स्पष्टीकरण छैन। मलाई निकै पछुतो छ।"

"समाचारमा उठाइएका राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताको सन्दर्भमा एन्भिडिआको सञ्चालक समितिले एउटा स्वतन्त्र अनुसन्धान सुरु गरेको छ। म यो अनुसन्धानलाई समर्थन गर्छ र पूर्ण सहयोग गर्छु," उनले आफ्नो विज्ञप्तिमा भनेका छन्।

"म आफ्नो देश र कम्पनीलाई माया गर्छु। म एन्भिडिआको संरक्षण गर्न र अमेरिकाको राष्ट्रिय सुरक्षालाई सहयोग गर्न प्रतिबद्ध छु। अमेरिकी हुनुमा म गौरवान्वित र कृतज्ञ छु।"

एन्भिडिआ के भन्छ

एन्भिडिआ कम्पनीको नाम र लोगोअगाडि  केही मानिसहरू

यो विषयमा एन्भिडिआको सञ्चालक समितिले एउटा छुट्टै विज्ञप्ति जारी गरेको छ।

संस्थापक तथा सीईओ जेन्सन वाङ "विदेशी गुप्तचर निकायको निसानामा परेको भन्ने हालैका समाचारहरूलाई दृष्टिगत गर्दै" कम्पनीले उक्त विषयमा छानबिन सुरु गर्ने त्यसमा उल्लेख छ।

सञ्चालक समितिले एन्भिडिआ र शेअरधनीहरूको हितका लागि अत्यन्त महत्त्वपूर्ण भएकाले आफूले समिति अमेरिकी राष्ट्रिय तथा आर्थिक सुरक्षालाई उच्च प्राथमिकता दिएको जनाएको छ।

"राष्ट्रिय सुरक्षा वा एन्भिडिआका गोप्य सूचनाहरूमा कुनै किसिमको आँच आएको छ भन्ने विश्वास गर्ने कुनै आधार नभए पनि सञ्चालक समितिले उपलब्ध सम्पूर्ण जानकारीहरूको छानबिन गर्ने छ।"

"जेन्सनले समीक्षा प्रक्रियालाई पूरा साथ दिने जनाएका छन् र यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।"

डोनल्ड ट्रम्प के भन्छन्

जेन्सन वाङ र डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले छानबिनको खबर सार्वजनिक भएपछि एन्भिडिआका प्रमुखसँग आफ्नो कुराकानी नभएको बताएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, "उनी राम्रो मानिस हुन् भन्ने मलाई थाहा छ, तर भित्र के भइरहेको छ भनेर कहिल्यै थाहा हुँदैन।"

यद्यपि वाङले "हाम्रो देशका लागि अद्भुत काम" गरेको भन्दै ट्रम्पले उनको प्रशंसा गरे।

गत महिना द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको समाचारमा अमेरिकी गुप्तचर अधिकारीहरूले एन्भिडिआका प्रमुखसँग घनिष्ठ सम्बन्ध राख्ने एलिस वाङले बेइजिङका लागि जासी गरेको जानकारी गत वर्ष ट्रम्पलाई दिइएको थियो।

आइतवार पत्रकारहरूले ट्रम्पलाई त्यस बेला "गुप्तचर सूचनामा आधारित भएर कदम चालेको भए हुन्थ्यो" जस्तो लाग्छ कि भनेर सोधेको प्रश्नमा ट्रम्पले भने, "होइन, मलाई त्यस्तो लाग्दैन। मलाई उनी एक इमान्दार व्यक्ति हुन् जस्तो लाग्छ।"

सन्दिग्ध जासुस को हुन्

न्यूयोर्क टाइम्सले अमेरिकी गुप्तचर निकायहरूले एक चिनियाँ व्यवसायी महिलाको निगरानी गरिरहेको र उनले बेइजिङको तर्फबाट काम गरिरहेको निष्कर्ष निकालेको बताएको छ।

उक्त समाचारमा नाम उल्लेख नगरिएका स्रोतहरूलाई उद्धृत गरिएको छ।

ती निगरानीका क्रममा ती सन्दिग्ध जासुस र एक अमेरिकी नागरिकबीचको कुराकानी देखिएको भनिएको कुरा छ जसलाई पछि "अन्मास्किङ" भनिने प्रक्रियामार्फत् जेन्सन वाङका रूपमा पहिचान गरिएको थियो।

एलिस वाङले टिप्पणीको लागि उक्त पत्रिकाले गरेको अनुरोधको जबाफ दिएकी छैनन्।

उनी सिङ्गापुरमा आधारित एक डेटा सेन्टर कम्पनी मेगास्पीडसँग सम्बद्ध छिन्।

सो कम्पनीले गत महिना न्यूयोर्क टाइम्सलाई बताएअनुसार त्यसको वर्तमान नेतृत्वले ती आरोपलाई गम्भीरतापूर्वक लिएको छ र आन्तरिक अनुसन्धान गर्न बाह्य कानुनी सल्लाहकारहरू नियुक्त गरेको छ।

'आधारहिन भ्रम' : चीन

चीनले जेन्सन वाङलाई लक्ष्य बनाएर जासुसी अभियान चलाएको भन्ने आरोपलाई यसअघि नै अस्वीकार गरिसकेको छ।

गत महिना न्यूयोर्क टाइम्सले यस्ता दाबीसहितको समाचार प्रकाशित गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गोओ जियाकुनले "उक्त समाचार आधारहीन अनुमानमा आधारित छ र यो चीनलाई बदनाम गर्ने प्रयासबाहेक अरू केही होइन" भनेका थिए।

को हुन् जेन्सन वाङ

जेन्सन वाङ, उनकी पत्नी लोरी र एपल कम्पनीका अध्यक्ष टिम कुक
तस्बिरको क्याप्शन, गत सेप्टेम्बरमा राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङको अमेरिका भ्रमणका बेला आयोजना गरेको राजकीय भोजमा लोरी वाङ (लोरी मिल्स) आफ्ना पति जेन्सन वाङसँगै सहभागी भएकी थिइन्

वाङको जन्म ताइवानमा भएको थियो र उनी नौ वर्षको छँदा उनको परिवार अमेरिकाको पश्चिमी तटमा बसाइँ सरेको थियो।

ओरेगन स्टेट यूनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनिअरिङमा स्नातक तहको अध्ययन गरेपछि उनले स्ट्यान्फर्ड यूनिभर्सिटीबाट सोही विषयमा स्नातकोत्तर गरे।

उनले आफ्नी कलेजकी प्रेमिका र प्रयोगशालाकी साझेदार लोरी मिल्ससँग विवाह गरे। लोरी पनि इलेक्ट्रिकल इन्जिनिअर हुन्। उनीहरूका दुई सन्तान छन्।

वाङ सन् १९९३ यता उनी एन्भिडिआका सहसंस्थापकका रूपमा छन्। त्यसअघि उनी अमेरिकी चिप कम्पनी एएमडीमा काम गर्थे।

एन्भिडिआ सुरुमा खास गरी कम्प्युटर गेमहरूको ग्राफिक्स प्रोसेस गर्ने चिपका लागि चिनिएको थियो।

पछि उक्त कम्पनीले आफ्नो ध्यान एआईमा केन्द्रित गर्दै अहिले त्यसमा आफ्नो वर्चस्व कायम गरेको छ।

उनको डोनल्ड ट्रम्पसँग राम्रो सम्बन्ध भएको देखिन्छ। ह्वाइट हाउसमा आयोजित र प्रविधि उद्योगका ४२ प्रभावशाली प्रमुखहरू सहभागी एआई सम्मेलनमा ट्रम्पसँगै वाङ र इलोन मस्क देखिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।