के हो 'धनतेरस'? सुनचाँदी किन्नैपर्ने हो?

सुनचाँदी
    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

सांस्कृतिक पात्रो अनुसार कार्तिक कृष्ण त्रयोदशीलाई धन त्रयोदशी पनि भन्ने गरिन्छ।

पछिल्ला वर्षहरूमा नेपालमा पनि यो त्रयोदशीका दिन उपभोक्ताहरूले सुनचाँदीलगायत धातु किन्ने व्यवहार चलनकै रूपमा देखिन थालेको छ। तर 'धनतेरस' पनि भनिने यसदिनमा बहुमुल्य धातु किन्नु पर्ने भनेर हिन्दू धर्मशास्त्रहरूमा कतै उल्लेख नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य माधवप्रसाद लामिछाने बताउँछन्।

नेपाली सुनचाँदी व्यवसायीहरू पनि 'धनतेरस'का दिन सुनचाँदीलगायत धातु किनेर भित्र्याउने चलन पछिल्ला वर्षहरूमा बढ्दै गएको बताउँछन्।

सुनचाँदी पसलको व्यापार अन्य दिनको तुलनामा यो दिन निकै धेरै बढ्ने गरेको उनीहरूको अनुभव छ।

सुनको असर्फी र चाँदीका सिक्का किन्नेहरूको घुइँचो पनि उत्तिकै हुन्छ।

कार्तिक कृष्ण त्रयोदशीलाई हिन्दू मान्यता अनुसार आयुर्वेद शास्त्रका प्रणेता भनिने धन्वन्तरि उत्पन्न भएको दिनका रूपमा सम्झिने गरिन्छ। तर मूल्यवान धातुहरू किनेर घरमा भित्र्याउनुपर्ने भन्ने कुरा नेपाली संस्कृतिभन्दा पनि छिमेकी भारतबाट आमसञ्चारका माध्यमहरूमा हुने प्रचारको प्रभावका रूपमा नेपालमा पनि भित्रिएको हुन सक्ने लामिछाने बताउँछन्।

एकजना मानवशास्त्री सुरेश ढकाल पनि सुनचाँदी घरमा भित्र्याउने भन्ने पछिल्ला वर्षहरूमा चर्को रूपमा देखिन थालेको प्रवृत्ति सांस्कृतिक, धार्मिक तथा आर्थिक कुनै पनि दृष्टिकोणले उचित नदेखिएको विचार व्यक्त गर्दछन्।

एकडेढ दशकयता नेपालमा पनि मानिसहरूले 'धनतेरस'का दिनमा सुनचाँदी किन्ने गरे पनि गत वर्ष मूल्य अत्यधिक बढेका कारण बिक्री कम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ।

धन्वन्तरि जयन्ती कसरी धनतेरस हुन गयो?

शास्त्रहरूमा धन्वन्तरिको उत्पत्ति (जन्म) कुन बेला भएको भनेर अध्ययन गर्दा नपाइएको तर सामान्यतया साँझमा पूजा गर्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य लामिछाने बताउँछन्, "त्रयोदशीमा धन्वन्तरि जयन्ती मनाउने त पहिलादेखि नै हाम्रो परम्परा थियो नै। पद्मपुराण [लगायतका ग्रन्थ]हरूमा धन्वन्तरिको चर्चा भएको छ। तर यो झकिझकाउ गर्ने चाहिँ बाहिरको प्रभाव परेको होला।"

"हाम्रो धार्मिक प्रचलनमा पहिलापहिला धनतेरस भनेर मनाउने चलन थिएन। भारततिर अलिकति प्रभाव भएकाले यता (नेपालमा) पनि ग्रहण गरिएको होला। तर मूलतः भगवान् धन्वन्तरिको सम्झनामा यो दिन मनाइन्छ।"

त्रयोदशी तिथिलाई नै जनजिब्रोले 'त्रयोदश' अनि 'त्रयोदश'बाट 'तेरस' भन्न थालेको लामिछाने बताउँछन्।

"धन्वन्तरि देवता र त्रयोदश तिथिबाट धनतेरस हुन पुग्यो," उनले भने।

"धन्वन्तरिले विभिन्न रत्नहरू, औषधि, द्रव्यहरू लिएर आएका हुनाले उहाँको सम्झना गर्दा त्यस्ता किसिमका द्रव्य घरमा सङ्कलन गर्ने कुरा अनुकूल नै हो। तर मानिसहरूले आफूसँग नभई नभई किन्नुपर्ने, खर्च गर्नुपर्ने चाहिँ होइन। शास्त्रमा त्यस्तो उल्लेख छैन," नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकसमेत रहेका लामिछानेले भने।

आफूले अध्ययन गर्दा धन्वन्तरिको पूजाविधि यस्तो हुनुपर्ने भन्ने पनि कतै नभेटेको उनले बताए।

धनतेरसमा सुन वा चाँदी किन्नुपर्ने भनेर पछिल्ला वर्षहरूमा मानिसहरूको झुकाव देखिनु केवल विसङ्गति भएको मानवशास्त्री सुरेश ढकाल बताउँछन्।

उनी भन्छन्, "मानिसहरू सुनचाँदी किन्न लाइन लागेको देख्दा... त्यो चाहिँ भारतीय प्रभाव हो। बजारले चाडबाडको मौकामा मानिसलाई एक हिसाबले भावनात्मक रूपमा उपभोक्ता बनाएर नाफा खान खोज्छ। यो बजारको चरित्र हो।"

"धन्वन्तरि जयन्ती मनाउने भन्नेचाहिँ पहिलादेखि नै हो। तर काठमाण्डूमा धनतेरस भनेर मनाउने चलन चाहिँ केही वर्षयताको मात्रै हो," ढकालले भने।

तिहारका बेला सुन र चाँदीका सिक्का किन्ने कुरा पर्वको मूल मर्मसँग मिल्दो कुरा नभएको उनी बताउँछन्।

"धनतेरस भनेर सुन किन्ने वा सिक्का किन्ने कुरा परम्परागत रूपमा पनि उत्पादनसँग जोडिँदैन वा अहिलेको पुँजीवादी संस्कृतिका हिसाबले हेर्ने हो भने पनि पुँजीवादसँग जोडिँदैन," उनले भने।

"मेरो विचारमा यो एउटा पछौटे संस्कृति हो किनभने त्यो किन्ने र ल्याएर थुपार्ने कुरा हो। विगतमा गाईगोरू वा धानको भकारी पूजा गर्ने चलन थियो। सुनचाँदी जोड्ने भनेको सञ्चय गर्ने त हो तर उत्पादनसँग नजोडिने कुरा हो।"

सुनचाँदी व्यवसायीको अनुभव कस्तो छ?

बबरमहलस्थित टक्सार महाशाखामा सुनचाँदीका सिक्का किन्ने मानिसहरूको भिड

नेपाल राष्ट्र बैङ्कले पनि तिहारको छेकोमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने गरेको छ।

त्यो किन्न बबरमहलस्थित टक्सार महाशाखामा मानिसहरूको भिड लागेको थियो।

सर्वसाधारणले शुक्रवारसम्म प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी, लक्ष्मी र गणेशअङ्कित १० ग्रामका चाँदीका दुई थान मेडालियन खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले भारतीय टेलिभिजन कार्यक्रमको प्रभावले नेपालमा पनि मानिसहरूले धनतेरसमा सुनचाँदी किन्न थालेको आफ्नो अनुभव रहेको बताए।

खास गरी कोभिडको महामारी आउनुअघिदेखि नै धनतेरसका दिनमा मानिसहरूले सुनचाँदी किन्न थालेको उनी बताउँछन्।

पछिल्ला वर्षहरूमा सुनको मूल्य बढेसँगै दैनिक २० किलो सुन बिक्री हुने गरेको छ। तर उनका अनुसार विगतमा दैनिक ५० किलो सुन बिक्री हुने गरेको अवस्थामा तिहारका बेला मात्रै खास गरी २०० किलो सुन बिक्री हुने गरेको उनले बताए।

तर गत वर्ष सुनको मूल्य अत्यधिक वृद्धि भएका कारण तिहारका बेला ७५ किलो हाराहारी मात्रै बिक्री भएको उनले बताए।

"तर यो वर्ष सुनको बिक्री तिहारमा बढ्छ भन्ने हामीले अनुमान गरेका छौँ," उनले भने।

"धनतेरसमा किन्ने भनेर ग्राहकहरू आउन थालेको धेरै वर्ष भएको छैन। पहिलापहिला धनतेरसको दिनमा नभई लक्ष्मीपूजाका दिन मानिसहरूले सुनचाँदी किन्ने गर्थे।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।