रुस-युक्रेन शान्ति वार्तामा युरोपलाई सहभागी गराउने अमेरिकी वाचाको जेलेन्स्कीद्वारा स्वागत

    • Author, ह्यारी सेक्युलिक
  • Published
  • पढ्ने समय: ३ मिनेट

युक्रेनका राष्ट्रपतिले संयुक्त राज्य अमेरिकी प्रतिनिधिहरू ज्यारड कुश्नर र स्टीभ विट्कफले रुससँगको आगामी चरणको शान्ति वार्तामा युरोपेली सङ्घलाई सहभागी गराउने प्रतिबद्धता जनाएकोमा त्यसको स्वागत गरेका छन्।

यसै हप्ता युरोपेली नेताहरूले गहिरो सुरक्षा चिन्ताहरू व्यक्त गरेका थिए। र भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घका प्रतिनिधिहरूलाई वार्तामा सहभागी गराइँदा लेनदेनका क्रममा उनीहरूले पनि आफ्नो 'धारणा' राख्न सक्ने बताए।

कुश्नर र विट्कफले बिहीवार साँझ जेलेन्स्कीसँग डब्लिनमा भेटवार्ता गरेका थिए। त्यसअघि मस्कोमा उनीहरूले रुसी राष्ट्रपति पुटिनसँग भेटेका थिए जसले युद्धबारेका रुसी दृष्टिकोण र भूगोलबारेको उसको मागमा कुनै परिवर्तन नआएको सुनाएका थिए।

यसअघि आबुधाबीमा भएको छलफल युद्ध अन्त्य गर्ने विषयमा कुनै ठोस निष्कर्षमा नपुगी अन्त्य भएको थियो।

तर बिहीवार रुस र युक्रेनबीच बन्दी साटासाटबारे अर्को सम्झौता भएको छ। सन् २०२२ मा रुसले पूर्ण स्तरको अतिक्रमण सुरु गरे यताकै यो सबैभन्दा ठूलो बन्दी साटासाट हुने छ।

कुश्नरले यसले 'हजारौँ व्यक्तिहरूलाई परिवारसँग पुनर्मिलन गराउने' बताए तर कति बन्दी आदानप्रदान गरिने छन् वा कहिलेसम्म यो प्रक्रियाले पूर्णता पाउने छ जस्ता विस्तृत जानकारीहरू सार्वजनिक गरिएका छैनन्।

युरोप वार्तामा सहभागी हुनु किन महत्त्वपूर्ण?

जेलेन्स्कीले वर्षौँदेखि शान्ति वार्तामा युरोपेली प्रतिनिधिहरूलाई पनि सहभागी गराइनुपर्ने बताउँदै आएका थिए। उनले किएभको दीर्घकालीन लक्ष्य युरोपेली सङ्घमा आबद्ध रहनु भएकाले पनि त्यस्तो निर्णय लिनु औचित्यपूर्ण रहेको जिकिर गर्दै आएका छन्।

बुधवार कुश्नरले संयुक्त राज्य अमेरिकाले 'पछिल्ला कैयौँ महिनादेखि युरोपसँग असाध्यै घनिष्ठ भएर काम गरेको उल्लेख गर्दै त्यसो गर्नु अत्यन्तै महत्त्वपूर्ण' रहेको उल्लेख गरेका थिए।

युरोपेली प्रतिनिधि 'वार्ताको टेबलमा हुनु' कतिको महत्त्वपूर्ण छ भनेर आफूले पुटिनलाई जोड दिएको पनि उनले सुनाए।

"उनी त्यसको लागि एउटा मौका दिन इच्छुक छन्," कुश्नरले भने।

युक्रेन र युरोपले अहिलेको संयुक्त राज्य अमेरिकाको युरोपेली सुरक्षा प्रतिबद्धता र क्रेम्लिनप्रति नरम बन्दै गएको नीतिलाई लिएर लामो समय यता चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ।

मस्कोले युरोपेली सङ्गलनताको विपक्षमा आफूलाई उभ्याएको छ। तर युरोपेली नेताहरूले आफूहरूको महादेशमा युद्धपछिको सन्तुलनमा आफूहरूको केन्द्रीय भूमिका रहने तर्क गरिरहेका छन्।

यसअघि बिहीवार युरोपेली सङ्घकी उपाध्यक्ष काया कालासले युरोपेली प्रतिनिधिको उपस्थितिले क्रेम्लिनले अहिले 'युरोप पनि मुख्य खेलाडी रहेको स्वीकार गरेको' देखाएको बताएकी थिइन्।

उनले शान्ति सम्झौताप्रतिको रुसी उत्साहलाई लिएर शङ्का पनि व्यक्त गरिन्।

आइरिश प्रधानमन्त्री मिहल मार्टिनले देशको राजधानीमा बिहीवार जम्मा भएका युरोपेली सङ्घका नेताहरूलाई रुसको युद्धले उक्त क्षेत्रको सुरक्षालाई आधारभूत रूपमा नयाँ स्वरूप दिएको बताएका थिए।

उनले संवाददाताहरूसँग भने, "कैयौँ सदस्य राष्ट्रहरू (इयूका सदस्यहरूले) युक्रेनमा जे भइरहेको छ त्यसले गर्दा अस्तित्वमा नै जोखिम रहेको महसुस गरी रहेका छन्। युक्रेन ढल्यो भने युरोपेली महादेशमा थप अतिक्रमण हुनसक्ने सम्भावनालाई लिएर त्यस्तो महसुस गरिएको छ।"

युक्रेनको पाँच भागमध्ये एक भाग हिस्सा रुसी सुरक्षा फौजको नियन्त्रणमा छ र सीमा वारपार अतिक्रमण आम बन्दै गएका छन्।

संयुक्त राज्य अमेरिका र युक्रेनबीचका तनाव बिहीवार विट्कफ र कुश्नरले जेलेन्स्कीलाई भेट्नुअघि सतहमा आएका थिए।

यसअघि युक्रेनी नेताले आफ्ना सैनिकहरूले स्टारलिङ्कको सैन्य ग्रेडको भूउपग्रह सेवा स्टारसिल्डमाथिको पहुँचमा 'नियोजित' अवरोधहरू खेपिरहेको बताएका थिए। त्यसो गरिँदा किएभले जेटको सामर्थ्य भएको रुसी ड्रोनहरूलाई निष्क्रिय बनाउन सङ्घर्ष गरिरहेका थिए।

इलोन मस्कको स्पेस एक्स कम्पनीको स्वामित्वमा रहेको उक्त प्रविधिले सरकार र सेनालाई युक्रेनमा इन्टरनेटमा पहुँच दिन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। र अग्र मोर्चामा पनि सञ्चार कायम गर्न सहजीकरण गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।