जहाँ तिहार यसपालि 'रौनकविहीन' छ

त्रिशूली बजार
    • Author, शक्तिमाया तामाङ
    • Role, नुवाकोट
  • Published
  • पढ्ने समय: २ मिनेट

तिहारमा घरआँगन सफा गरी दीप बाल्ने, झिलमिली बत्ती र फूलले घर सजाउने चलन रहिआए पनि गत भदौको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति बेहोरेका बाढीपीडितहरूले यो वर्ष चाडपर्वप्रति कुनै उत्साह नै नभएको बताएका छन्।

गाँस, बासकै समस्यासँग जुझिरहेका उनीहरूले यसपालि चाडपर्वको उमङ्गले आफूहरूलाई छुन नसकेको दुखेसो गरेका छन्।

विनाशकारी भोटेकोशी-त्रिशूली बाढीका कारण नुवाकोटमा मात्रै १,८६० वटा घरमा पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाउँछ।

कतिपय बाढीपीडितहरू कोठा भाडामा लिएर बस्न थालेका छन् भने कतिपय अस्थायी शिविर त्रिपालमुनि बस्दै आएका छन् ।

आफन्त तथा घरबार गुमाएर अन्य ठाउँमा आश्रय लिई बस्दै आएका बाढीपीडितले आफूहरूका लागि अहिलेको चाडपर्वले कुनै उत्साह ल्याउन नसकेको साझा दुखेसो गरेका हुन्।

'कुनै उत्साह छैन'

मोहनबहादुर

नुवाकोटको विदुर नगरपालिका-१ स्थित त्रिशूली बजारमा पुस्तौँदेखि व्यवसाय गर्दै आएका मोहनबहादुर श्रेष्ठ बाढीमा व्यवसायसँगै तीन वटा घर गुमाएको बताउँछन्।

जीवनभरि कमाएको सम्पत्ति र जीविकोपार्जन गर्ने व्यावसाय गुमेर विचलित बनेको आफ्नो परिवारमा तिहारको कुनै उत्साह नै आएको उनले सुनाए।

"झन्डै ६०-७० वर्ष मेहनत गरेर कमाएको सम्पति केही क्षणमै स्वाहा भयो। हामी त अहिले शून्यमा पुगेका छौँ। सरकारले केही गरिदिएन भने हामीसँग मागेर खानुबाहेक अर्को विकल्प नै हुँदैन," गहभरि आँसु पार्दै श्रेष्ठले भने।

"चाडपर्व भनेको क्षमताअनुसार मनाउने न हो। मसँग पैसा भए पो, कुनै क्षमता भए पो मनाउनु? यसरी त कसरी हामीले चाडपर्व मनाउनु?"

वडा कार्यालयमा क्षतिको विवरण टिपाउन आएकी त्रिशूलीकी ज्ञानु अमात्यले बासको खोजीमा रहेको आफ्नो परिवारमाझ चाडपर्वको कुनै रौनक नछाएको सुनाइन्।

बाढीले सबै थोक बगाएर शून्य अवस्थामा पुर्‍याएको आफ्नो परिवारका लागि बस्ने ठाउँको यकिन गरी व्यवस्थापन गरिदिन उनले सरकारलाई आग्रह गरिन्।

आवासका लागि आग्रह

ज्ञानु अमात्य
तस्बिरको क्याप्शन, ज्ञानु अमात्य

"हाम्रो लागि न दशैँ न तिहार, यसपालि केही पनि छैन। भएभरका सबै थोक बाढीले लगिदियो। दशैँपछि अहिले तिहार पनि आइसक्यो। हाम्रो त खाने र बस्ने नै ठेगान छैन। चाडबाड कसरी पो मनाउनु?," अमात्यले भनिन्।

"सरकारलाई विन्ती छ सुरक्षित ठाँउ हेरेर सुरक्षित घर बनाइदेओस्। हामी बाढीपीडितका लागि सरकारले सुरक्षित स्थानमा घर बनाइदियो भने त्यो जस्तो राम्रो कुरा अरू केही हुँदैन," उनले अगाडि थपिन्।

श्रीमतीसहित परिवारका छ जना सदस्य गुमाएका विदुर नगरपालिका- १० आँगीटारका दीपेन्द्र रिजाल परिवार गुमाउँदाको वियोगमा रहेकाले चाडपर्व आएको र गएको पत्तो नै नहुने गरेको सुनाउँछन्।

परिवारसँगै व्यवासाय पनि गुमाउँदाको पीडा सुनाउँदै उनले भने, "यसपालि हामीलाई दशा नै दशा लागेका बेला चाडपर्वको के उत्साह हुनु? पीडाका बेला चाडपर्व भन्ने कुरो खासै महत्त्वपूर्ण लाग्दोरहेन छ। परिवारका सदस्यहरू गुमाउँदा अझै पीडामा छु। यसपालि दशैँ पनि मनाइएन।"

"अहिले तिहार पनि मनाउने कुरा भएन। मेरो परिवारमा छ जना हराइरहेका छन्। यो बेला हामीलाई चाडपर्वको के महत्व हुनु, कसरी चाड मनाउनु? बाढीले घरजग्गा बगाएर बस्ने ठाउँसम्म त छैन। दिन गए रात कसरी जाला भनेर बिताउनुपरेको छ।"

तिहारमा झिलिमिली बत्तीको रौनक, सप्तरङ्गी टीका र फूलमाला लगाई दिदीबहिनीले दाजुभाइको दीर्घायूको कामना गर्ने चलन छ। तर यो तिहार आफूहरूका लागि रौनकविहीन रहेको बाढीपीडितहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।