के तपाईँको मुहारको एउटा साधारण फोटोले तपाईँ कति बिरामी हुनुहुन्छ भन्ने खुलासा गर्न सक्छ?

ऐनामा अनुहार हेर्दै एक महिला
    • Author, मिसेल रोबर्ट्स
    • Role, डिजिटल स्वास्थ्य सम्पादक
  • Published
  • पढ्ने समय: ४ मिनेट

अमेरिकी अनुसन्धानकर्ताहरूले आफूलाई देखाउन आउने व्यक्ति कति बिरामी हो भन्ने एउटा फोटोकै भरमा मूल्याङ्कन गर्न आर्टिफिसिअल इन्टेलिजन्स अर्थात् एआईले मद्दत गर्न सक्ने बताएका छन्।

लाखौँ स्वस्थ व्यक्तिका अनुहार र क्यान्सरका ३५ हजार बिरामीका तस्बिरहरूबाट प्रशिक्षित यो उपकरणले आँखाको वरिपरिका विशेषताहरूलाई ध्यानपूर्वक विश्लेषण गरेर बिरामीको बाँच्ने सम्भावनाको अनुमान लगाउन सक्ने वैज्ञानिकहरू बताउँछन्।

यो प्रविधि अस्पतालहरूमा प्रयोग गर्न योग्य हुन अझै धेरै काम गर्न बाँकी छ। तर यो अनुसन्धानको उद्देश्य चिकित्सकहरूलाई आफ्ना बिरामीका लागि उपयुक्त उपचार सिफारिस गर्न मद्दत गर्नु रहेको अनुसन्धानकर्ताहरू बताउँछन्।

यो अनुसन्धानका प्रारम्भिक निष्कर्षहरू द ल्यान्सेट डिजिटल हेल्थ नामक जर्नलमा प्रकाशित भएका छन्।

आँखामा हुन्छ

अनुहारको साङ्केतिक तस्बीर

'फेस सर्भाइभल' नामक एआईले बिरामी कति समयसम्म बाँच्न सक्छन् भन्ने अनुमान लगाउन आँखामुनिको र नाकको डाँडी वरिपरिको भाग अनुहारका सबैभन्दा महत्त्वपूर्ण भाग हुन्।

यी मापदण्डहरू विभिन्न प्रकारका क्यान्सरमा लागू गर्दा पनि उपयोगी देखिएका थिए। ती क्यान्सरहरूको गम्भीरता फरक फरक थियो र केही बिरामीमा क्यान्सर हड्डी वा मस्तिष्कसम्म फैलिसकेको अवस्था पनि समेटिएको थियो।

क्यान्सर भएका अधिकांश बिरामीहरू अमेरिका र द नेदरल्यान्डसका थिए। उनीहरूमध्ये धेरैजसो ५० वा ६० वर्ष उमेर समूहका थिए। तर, केही बिरामी बालबालिका थिए भने अरू केही ९० वर्षभन्दा माथिका पनि थिए।

चिकित्सकहरूले बिरामीहरू कति अस्वस्थ छन् र उनीहरूको रोगको भविष्यमा कस्तो अवस्था हुन सक्छ भन्ने मूल्याङ्कन गर्न पहिले नै शारीरिक परीक्षण गर्नुका साथै विस्तृत जाँच र परीक्षणहरू गर्दै आएका छन्।

पेटेन्टका लागि आवेदन दिइएको यो एआई उपकरण चिकित्सकहरूलाई यो काममा सहयोग गर्न बनाइएको हो न कि उनीहरूको स्थान लिनको लागि।

बोस्टनस्थित मास जेनरल ब्रिघमका प्रमुख अनुसन्धानकर्ता डाक्टर रेमन्ड म्याकले यसबारे व्याख्या गर्दै भनेका छन्: "वृद्ध हुनेको सङ्ख्या बढ्दै जाँदा विकिरण उपचार, शल्यक्रिया वा शरीरभरि प्रभाव पार्ने औषधि उपचारजस्ता गहन उपचार सिफारिस गर्नुअघि बिरामीको शारीरिक क्षमता, र शारीरिक कमजोरीको अवस्था अनुमान गर्न चिकित्सकहरूलाई अझ राम्रा विधिहरू आवश्यक पर्छ।

"हाम्रो उद्देश्य अनुहारको फोटोका आधारमा गरिने स्वास्थ्य मूल्याङ्कनलाई अझ बढी परिमाणात्मक, उस्तै खालको र व्यापक रूपमा प्रयोग गर्न सकिने बनाउनु हो, ताकि यसले चिकित्सकको निर्णयलाई प्रतिस्थापन गर्नुको सट्टा बिरामीको व्यक्तिगत अवस्था अनुसार उपचारसम्बन्धी निर्णय लिन सहयोग पुर्‍याओस्।"

ताजगीपूर्ण अनुहार

म्याक र उनका सहकर्मीहरूले व्यक्तिको जन्म मिति अनुसारको उमेरभन्दा फरक, उसको जैविक उमेर अर्थात् ऊ वास्तवमा कति बुढो देखिन्छ भन्ने अनुमान गर्ने एउटा एआई उपकरण पनि मूल्याङ्कन गरिरहेका छन्।

'फेसएज' नामक उक्त उपकरणको नाकमुनि र मुखको वरिपरि पर्ने छालाका भागहरू न्याशोलेबियल फोल्ड्स जसलाई नाकदेखि मुखको कुनासम्म देखिने रेखा भनिन्छ र म्यारियोनेट लाइन्स भनिने मुखको कुनाबाट चिउँडोतर्फ जाने रेखाका साथै क्रो फिट भनिने निधारका चाउरीहरू आँखाको बाहिरी कुनामा देखिने रेखाहरू, कनपट र गालाहरूले मानिस कति छिटो बुढो भइरहेको छ भन्ने राम्रो सङ्केत दिनसक्ने देखाएको छ।

केही जीवनशैलीसम्बन्धी बानीहरूले बुढ्यौलीको प्रक्रियालाई तीव्र बनाउन सक्छन्। यसमा अत्यधिक मदिरा सेवन, लागुऔषधको प्रयोग र धूम्रपान समावेश छन्।

म्याकका अनुसार मानिसको अनुहारको मुद्रा, प्रकाश, अनुहारका भावभङ्गी र मेकअप फरक फरक भए पनि वास्तविक जीवनमा खिचिएका सामान्य तस्बिरहरूमा यो उपकरणको नतिजा "आश्चर्यजनक रूपमा एकरूप" थियो।

"परीक्षण गरिएका अधिकांश प्लास्टिक सर्जरी प्रक्रियापछि पनि यसको नतिजा स्थिर नै रह्यो। तर नाकको आकार परिवर्तन गर्ने शल्यक्रिया (राइनोप्लास्टी) पछि भने थोरै परिवर्तन देखियो," उनले भने।

यद्यपि, अनुसन्धानकर्ताहरूले यी उपकरणहरूले कतिको राम्रोसँग काम गर्छन् भन्ने निर्धारण गर्न अझ धेरै तथ्याङ्क र अनुहारका तस्बिरहरू आवश्यक पर्ने कुरामा जोड दिएका छन्। खासगरी विभिन्न जातीय समुदायका मानिसहरूका तस्बिरहरू आवश्यक छन्। यी उपकरणहरू अझै विकासकै चरणमा छन्।

अनुसन्धान टोलीले सर्वसाधारणलाई पनि यस अध्ययनमा सहभागी हुन भनिरहेको छ। सहभागीहरूले आफ्नो अनुहारको तस्बिर अनुसन्धान टोलीलाई अपलोड गरेर आफ्नो जैविक उमेरको व्यक्तिगत अनुमान प्राप्त गर्न सक्छन्।

यूकेको युनिभर्सिटी अफ सरेमा भिडिओ प्रशोधन तथा मशिन लर्निङका विशेषज्ञ प्राध्यापक मिरोस्ल बोबरका अनुसार समयसँगै बुढ्यौली वा जीवनशैलीमा आएको परिवर्तनलाई यो उपकरणले सही रूपमा निगरानी गर्नसक्छ भन्ने दाबी गर्नु "अपरिपक्व" हुन्छ।

"यो अवधारणाको सम्भावना देखाउने एउटा आशाजनक प्रारम्भिक अध्ययन हो, तर यो अझै चिकित्सकीय प्रयोगका लागि तयार भएको छैन," उनले भने।

"यो उपकरणलाई चिकित्सकहरूको आफ्नै मूल्याङ्कनसँग तुलना गरेर परीक्षण गर्न आवश्यक छ। साथै विभिन्न अस्पताल र बिरामी समूहहरूमा पनि यसको परीक्षण हुनुपर्छ।"

उनले थप चेतावनी दिँदै भने: "कुनै नतिजाको पूर्वानुमान गर्नु र त्यो नतिजा किन आयो भनेर व्याख्या गर्नु एउटै कुरा होइन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।