तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्पेनको आमहडतालका क्रममा बार्सिलोनामा प्रहरी र नकाबधारीहरूबीच झडप
आवास समस्या र बढ्दो महँगीको विरोधमा स्पेनमा प्रमुख ट्रेड युनियनहरूले १४ वर्षयता पहिलो पटक आह्वान गरेको आमहडतालमा दशौँ हजार सहभागी भएका छन् र सो क्रममा बार्सिलोनामा नकाबधारी व्यक्तिका समूहहरू र प्रहरीबीच झडप भएका छन्।
राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार मानिसहरू विरोध प्रदर्शनमा सहभागी भए भने बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसहरू भेला भएका थिए।
घटनास्थलका दृश्यहरूमा अनुहार छोपेका व्यक्तिहरूले फोहोरका डब्बामा आगो लगाइरहेको र पसलका झ्यालहरू फुटाल्दै गरेको देखिन्छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको देखिएको छ।
यसले स्पेनभरि यातायात र अन्य सार्वजनिक सेवाहरूमा गम्भीर असर पारेको थियो। स्पेनका जनता नोभेम्बर २९ तारिखमा हुने संसदीय निर्वाचनमा मतदान गर्ने तयारीमा छन्।
प्रमुख ट्रेड युनियन यूजीटीका प्रमुख पेपे अल्भारेजले आमहडताल सफल भएको र त्यसमा "ठूलो सङ्ख्यामा" मानिसहरू सहभागी भएको बताएका छन्।
'उल्लेख्य जनसहभागिता'
सीसी ओओ युनियनका उनाई सोर्डोले आमहडतालमा "उल्लेख्य रूपमा" जनसहभागिता भएको टिप्पणी गरेका छन्।
बुधवार साँझ बार्सिलोनाको केन्द्रीय भागमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीहरूले हेल्मेट लगाएका थिए भने दङ्गा नियन्त्रणका लागि प्रयोग गरिने सुरक्षा कवचहरू बोकेका थिए।
सडकको बीचमा रहेका फोहोरका डब्बाहरूमा आगो लगाइँदा आगोका लप्काहरू हावामा माथिसम्म उठेका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार मानिसहरूको एउटा समूहले प्रहरीतर्फ पटका प्रहार गरेको थियो र लेगो स्टोरलगायत विभिन्न पसलहरूमा लुटपाट मच्चाएको थियो। प्रदर्शनकारीहरू एपल स्टोरभित्र पस्ने प्रयास गरिरहेको पनि देखिएको थियो।
बीबीसीले कुरा गरेको बार्सिलोनाको विरोध प्रदर्शनमा सहभागी एक महिलाले उक्त आन्दोलनलाई "धेरै हदसम्म शान्तिपूर्ण र उत्साहपूर्ण" भनिन्।
उनले आफू आवासको बढ्दो मूल्यविरुद्ध विरोध जनाउन आएको बताउँदै प्रदर्शनमा बालबालिका र वृद्धवृद्धाको पनि उल्लेख्य उपस्थिति रहेको बताइन्।
साँझको समयमा उनी लास राम्ब्लास क्षेत्रमा थिइन्, जहाँ उनले सडकहरूमा आगो बलिरहेको देखिन्। उनले भनिन्, "जताततै आगो बलिरहेको थियो, र त्यो निकै भीषण थियो।"
दर्जनौँ व्यक्ति पक्राउ
दिनभरि म्याड्रिड र बार्सिलोना तथा तिनका आसपासका क्षेत्रमा व्यापक अस्तव्यस्तता देखियो भने धेरै मुख्य सडकहरूमा सवारी आवागमन ठप्प रह्यो।
गृह मन्त्रालयले विभिन्न घटनाहरूको सम्बन्धमा दर्जनौँ व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ। स्पेनका सञ्चारमाध्यमका अनुसार घरजग्गा कारोबार गर्ने एजेन्सीहरूका कार्यालयहरूलाई पनि आक्रमणको निशानामा पारिएको छ।
"हामीले पूरै शहर ठप्प पारेका छौँ," म्याड्रिडका एक प्रदर्शनकारीले समाचारसंस्था रोएटर्ससँग भने। आमहडताललाई व्यापक समर्थन प्राप्त भइरहेको पनि उनले दाबी गरे। "पानी परिरहेको भए पनि सबै जना बाहिर निस्किएका छन्, मानिसहरू सडकमा छन्।"
अर्की प्रदर्शनकारी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिन्गोले आफू आन्दोलनमा सहभागी हुनुका कारणबारे भनिन्, "आवासको अवस्था निकै दयनीय छ। ज्यालाको तुलनामा जीवनयापनको खर्च अहिले धान्नै नसकिने गरी बढेको छ।"
यो आमहडताल आवास समस्या र बढ्दो जीवनयापनको खर्चसम्बन्धी व्यापक विरोध प्रदर्शनहरूको एउटा हिस्सा हो।
यसको शुरूआत ८७ वर्षीया मारिकार्मेन अबास्काललाई उनी सात दशकदेखि बस्दै आएको म्याड्रिडस्थित एउटा अपार्टमेन्टबाट निकालिएको र त्यसको केही हप्तापछि उनको मृत्यु भएको घटनापछि भएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।