बाढीबाट प्रभावित स्थानमा कस्तो जोखिममा छन् गर्भवती महिलाहरू

नुवाकोट जिल्लाको बेत्रावतीस्थित एउटा अस्थायी आश्रयस्थलमा लुगा सुकाउँदै एक महिला
तस्बिरको क्याप्शन, हजारौँ मानिस अझै अस्थायी शिविरमा बस्दै आएका छन् (फाइल)
    • Author, मनिका विश्वकर्मा
    • Role, बीबीसी हातेमालो
  • Published
  • पढ्ने समय: ४ मिनेट

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूलीमा आएको बाढीले सो क्षेत्रमा बसोबास गर्दै आएका हजारौँ मानिसको जनजीवनमा उथलपुथल ल्याउँदा त्यहाँका गर्भवती महिलाहरू थप चुनौती बेहोर्न बाध्य भएका छन्।

घरबास उजाडिनुका साथै सडकमार्ग अवरुद्ध भएपछि नियमित चेकजाँच तथा औषधोपचार बिथोलिँदा महिलाहरू जोखिममा पर्न सक्ने चेतावनी जानकारहरूले दिएका छन्।

यस परिस्थितिमा सन्तान जन्माउने तयारी अवस्थामा रहेका गर्भवती महिलाहरुलाई खानपानदेखि सुरक्षित बसोबासका विशिष्ट आवश्यकताहरू आइपर्ने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा जागेश्वर गौतमले बताएका छन्।

कस्ता छन् जोखिम

बाढीले धेरै प्रभावित रसुवा जिल्लाका केही महिलाहरूले गर्भमा हुर्कँदै गरेका शिशुका लागि आफूलाई आवश्यक पोषणयुक्त खानेकुराको अभाव रहेको साथै विभिन्न जोखिमहरू भएको बताए।

केही समयअगाडि कुरा गर्दा उत्तरगया नगरपालिकाकी ३० वर्षकी नवीना घिमिरेले तेस्रो सन्तान जन्माउने तयारीमा थिइन्।

"अहिलेको बच्चा जन्माउने बेला डर लागिरहेको छ। खानपिनको राम्रो व्यवस्था छैन। राम्ररी जँचाउन पाएको छैन। बाटो नै छैन," उनले भनेकी थिइन्।

उनका अनुसार केही साताअघि उनलाई त्रिशूली अस्पताल पुग्न झन्डै साढे तीन घण्टा लागेको थियो। "बाढीले गर्दा बाटो बगायो। बल्लबल्ल खुलेको बाटोमा खाल्डाखुल्डी छन्। पेटमा भएको बच्चालाई नि कति गाह्रो भयो," बीबीसीसँग कुरा गर्दै उनले भनेकी थिइन्, "ओरालो, भीर भएको बाटो देख्दा मुटु नै काम्यो। अस्पतालमा पनि उभिएर लाइन बस्नुपर्छ। भिडभाड भएको झोलुङ्गेपुल तर्दै अस्पताल पुग्दा ढिला हुन्छ।"

उनका अनुसार अस्पतालमा गर्भवती महिलाको लागि छुट्टै सेवासुविधा आवश्यक छ। अनि विपद्पश्चात् पोषिलो खानेकुराको अभाव रहेको उनको अनुभव छ।

स्थानीय सरकारले गर्भवती महिलाहरूका लागि भनेर एक पटक लिटोको पिठो, घिउ, गेडागुडी बाँडेको भए पनि आफूले त्यसबारे बेलैमा जानकारी नपाएको उनको भनाइ छ।

"केही कामले बाटो पर्दा स्वास्थ्यचौकीमा बाँडिरहेको थाहा पाएँ। अनि मलाई किन जानकारी नदिएकोभन्दा मोबाइलमा पैसा नहुँदा सम्पर्क गर्न नपाएको कुरा सुनाए। सामान चाहिँ ल्याएँ।"

रसुवाको उत्तरगया-४ की माइली लामा पनि तेस्रो सन्तान जन्माउने तयारीका बेला आइपरेको विपद्ले चिन्तित थिइन्। विपद्पछि उनले दुई महिनासम्म स्वास्थ्य चेकजाँच गर्न नपाएको बताइन्।

"हेल्थपोस्टमा देखाएकी छु तर त्यहाँ बच्चाको धड्कन छ कि छैन भनेर मात्र चेकजाँच गराउँछ। एक्स-रे गर्ने उपकरण पनि राम्रो छैन। अरू अवस्था थाहा पाउन अस्पताल जानुपर्छ तर बाटो खाल्डाखुल्डी हुँदा समस्या भयो," उनले बताइन्।

बाढीबाट प्रभावित गर्भवती महिलाहरूलाई आवश्यक परेमा सुत्केरी उपचारका लागि हेलिकप्टरमार्फत् त्रिशूली र काठमाण्डूका अस्पतालहरूमा पुर्‍याउने तयारी रहेको रसुवा जिल्लाको जनस्वास्थ्य कार्यालय अन्तर्गत रहेको परिवार कल्याण तथा नर्सिङ शाखाकी चुनीसरा राना बताउँछिन्।

हाल बाढी प्रभावित गर्भवती महिलाहरुको लागि नियमित चेकजाँचको कामहरू भइरहेको र उनीहरूको मानसिक तनावको लागि परामर्श दिने कामहरू मात्र भइरहेको रानाले बताइन्। पोषिलो खानपानमा भने चुनौती रहेको उनी बताउँछिन्।

रसुवाको आमाछोदिङ गाउँपालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी सृजना तामाङका अनुसार हालसम्म पनि बाटोको चुनौती बाँकी छ। बाढीले पुल र सडक भत्काउँदा कतिपयलाई तुइन चढेर जोखिमयुक्त यात्रा गर्ने बाध्यता रहेको तामाङ बताउँछिन्।

"हेलिकप्टर पनि भन्नेबित्तिकै आउँदैन। कागजपत्र मिलाएपछि नगरपालिकालाई फोन गर्नुपर्छ त्यसपछि जिल्लामा फोन गरेपछि बल्ल एक-दुई घण्टापछि आउँछ।"

उनले भनिन्, "हामीले सकेसम्म स्वास्थ्यचौकीमा सुत्केरी गराउने प्रयास गर्छौँ। नभएपछि मात्र नगरपालिकालाई हेलिकप्टरको लागि खबर गर्छौँ।"

कसरी ख्याल राख्ने

गर्भवती महिला

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा जागेश्वर गौतमका अनुसार विपद्को बेला गर्भवती महिलाहरूलाई थप जोखिम हुन सक्छ।

"विपद्को बेला खानपानको ठूलो समस्या हुन्छ। गर्भवती महिलाहरूले स्वास्थ्य चेकजाँचसँगै नियमित आइरन, क्याल्सिअम, फोलिक एसिडजस्ता औषधि सेवन गर्नुपर्छ। सरकारले दिने आवश्यक खोपहरू लगाउनुपर्छ।"

सामान्य हिँडडुल गर्नुका साथै पोषिलो खानेकुरा, झोलिलो, दाल भात, तरकारी, दही दूध, हरियो सागपात, गेडागुडी, अण्डाजस्ता सबै खानपान मिलाएर खानुपर्ने र पेटभरि खानुपर्ने गौतमले बताए।

विपद्को बेला गर्भवती महिलाहरू सकेसम्म स्वास्थ्यचौकी, अस्पतालको नजिक बस्नुपर्ने गौतम बताउँछन्। यस्तो बेला सूचना आदानप्रदान पनि महत्वपूर्ण हुने उनको भनाइ छ।

"प्रसवपीडा सुरु भएमा, पानी बगेमा, रगत बगेमा तुरुन्तै नजिकको स्वास्थ्य चौकी जानुपर्छ। यस्तो बेला व्यक्तिगत सुरक्षाको पनि ध्यान दिनुपर्छ। बच्चा जन्मिएपछि घर जाने बाटो अप्ठ्यारो, गाह्रो भएमा मिलेसम्म सुत्केरीलाई सहज हुने सवारीसाधनको प्रयोग गर्न गौतम सुझाव दिन्छन्।

"बाढीबाट प्रभावित रहेका गर्भवती महिलाहरूले एकदम अप्ठ्यारो बाटो यात्रा गर्दा गर्भपतनको जोखिम बढ्छ। समय नपुगी प्रसवपीडा सुरु हुने पनि हुन सक्छ। बाढीले गर्दा डर, त्रासमा रहेका, आफन्त गुमाएका गर्भवती महिलाहरूलाई मानसिक रूपमा बलियो बनाउनुपर्ने र उनीहरूलाई खुशी बनाउने वातावरण बनाउनुपर्छ। पोषिलो खाना नपाउँदा कुपोषण अनि जन्मिएको बच्चामा तौल नबढ्ने, पुड्कोपन, बच्चा सानो जन्मिने समस्या देखा पर्न सक्छ। त्यसैले विपद्को बेला गर्भवती महिलाहरूलाई राम्रोसँग हेरचाह गर्नुपर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।